कञ्चनपुर र धनगढीका अधिकांश बस्ती डुबानमा, स्थानीय भन्छन्- अझै के-के भोग्नुपर्ने हो थाहा छैन

कञ्चनपुर र धनगढीका अधिकांश बस्ती डुबानमा,  स्थानीय भन्छन्- अझै के-के भोग्नुपर्ने हो थाहा छैन
तस्बिरः होम योगि/कंचनपुर

धनगढी: तीन दिनदेखिको अविरल वर्षाले कञ्चनपुरका अधिकांंश बस्ती डुवानमा परेका छन्। महाकाली नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

‘भीमदत्त नगरपालिको ब्रह्मदेव बजारदेखि पिपरियासम्म र दोधारा–चाँदनी नगरपालिकाको कुतियाकबर, शान्ति टोल, निशानी टोल लगायत बस्ती बाढीको कारण डुबानमा परेका छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भने, ‘पानी अझै रोकिएको छैन, हामीले प्रभावित क्षेत्रमा उद्धार गरिरहेका छौँ।’

महाकाली नदीमा मङ्गलबार बिहान ७ बजेसम्म पानीको बहाव ४ लाख ६१ हजार ७ सय ७८ क्युसेक पुगेको छ।

यता कैलालीको धनगढी उप–महानगरपालिकाका अधिकांश बस्ती पनि जलमग्न भएका छन्। धनगढी-३ को विशालनगर, मिलनचोक, मुख्य बजारको पार्कमोड, एलएनचोक लगायतका क्षेत्रका घर र पसलमा पानी पसेको छ।

‘धनगढीका दर्जनौँ घरमा पानी पसेको छ,बजार क्षेत्र पनि जलमग्न भएको छ', जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने,‘निरन्तरको वर्षा रोकिएन भने धनगढीमा पनि डुबान हुनसक्छ, हामीले सक्दो सतर्कता अपनाइरहेका छौँ।’

कालोपत्रे सडक बगाउन थाल्यो 
६ लेन कालोपत्रे सडक पनि महाकाली नदीले कटान गर्न थालेको छ। ‘महाकाली पुल आयोजना भित्रको उक्त रोड बाढीले कटान गर्न थालेको छ, महाकाली नदीमा पानीको बहाव कम नभए कालोपत्रे सडक पूरै बग्न सक्छ', स्थानीय प्रभात बोगटीले भने, ’निरन्तर पानी परिरहेको छ, अझै के के भोग्नुपर्ने हो थाह छैन।’

बैजनाथ मन्दिर नजिक महाकाली नदीले पुलको पहुँच मार्ग पक्की सडक कटान गर्न थालेको भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष लालबहादुर शाहीले बताए।

‘पहुँच मार्ग कटान भएपछि नदी पुरै गाउँ पस्ने खतरा बढेको छ। ‘महाकाली नदीको बहावले सय मिटर पक्की सडक बगाइसकेको छ, पानी नरोकिए, महाकाली नदी पुरै गाउँ पस्न सक्छ, तर हामीले सक्दो प्रयास गरिरहेका छौँ',वडाध्यक्ष शाहीले भने।

२ कात्तिक, २०७८, १०:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।