माधव नेपालको चित्त बुझाएका देउवाले पौडेलको चित्त दुखाए

माधव नेपालको चित्त बुझाएका देउवाले पौडेलको चित्त दुखाए

काँग्रेसको भागमा प्रधानमन्त्रीसहित ८ मन्त्रालय राखेका देउवाले आफ्नो पक्षका लागि चार मन्त्रालय राखेर पौडेल र अर्का नेता कृष्ण सिटौलाका लागि भने तीन मन्त्री मात्र दिए। गुटभित्रको उपगुटलाई भाग लगाउँदा पौडेलको भागमा एक मन्त्री मात्र परेको छ।

पौडेल गुटबाट मन्त्री हुन चाहनेहरूको सङ्ख्या आधा दर्जन बराबर छ। आसन्न महाधिवेशनमा पाए सभापतिको उम्मेदवार हुने तयारीमा रहेका पौडेलका सामु यही एक कोटा नै सकस बनेको देखियो।

बुधवारको छलफलमा पौडेलले आफ्नो भागमा ४ मन्त्रालय पाउनु पर्ने माग गरेका थिए। तर, देउवाले पौडेललाई २ मन्त्रालय दिन्न भनेपछि पौडेल रिसाएर छलफलमै गएका छैनन्। 

गठबन्धनमा मिलाउँदा त्यो सम्भवै थिएन। उनले पाएनन्। मागे जति मन्त्रालय नपाउने भएपछि उनी बिहीबार छलफल गर्नै गएनन्।

आफ्नो समूहबाट एक जना पठाउनुको साटो बरु मन्त्री नै सिफारिस नगर्ने मुडमा देखिए उनी।

उकेरासँग पौडेलले मन्त्रीको सङ्ख्याबारे केही बोलेनन्। उनले भने ' प्रजातन्त्रमा देउवाको कुनै योगदानै छैन। जे मन लाग्यो त्यही गरेको छ। प्रजातन्त्र ल्याउनेलाई अवमूल्यन गर्नेसँग किन छलफल गर्न जानु।'

भाग पुर्याउनै सकस

पौडेल समूहबाट मन्त्री बन्न चाहनेहरूमा डा. मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी छन्। यीमध्येबाट मन्त्री बनाउँदा रिजाल पौडेल समूहभित्रको अर्को शंशाक समूहबाट निर्विकल्प झैँ देखिएका छन्।

प्रकाशमान सिंहले कुनै पनि हालतमा राजन केसी मन्त्री हुनुपर्छ भनेर पौडेललाई दबाब दिइरहेको स्रोतले बतायो। पौडेल वडुको पक्षमा छन्। तर तेजुलाललाई छाड्न सक्ने अवस्थामा पनि छैनन्।

' दुई जनासम्म भएको भए अलि सहज हुन सक्थ्यो,' पौडेल निकट एक नेताले भने' समूहका लागि आएको जम्मा २ वटा कोटामा पनि शशाङ्क र सिंहले दाबी गरेपछि उहाँ दबाबमा पर्नुभयो।'

पौडेल सिटौलालाई एक मन्त्रालय दिने निर्णयमा पनि खुसी छैनन्। पार्टी सभापति आफैँ गुटहरू च्यापेर आफूलाई अप्ठ्यारोमा पार्न लागेको उनको बुझाई छ। मन्त्रीको सङ्ख्यासँगै मन्त्रालयमा पनि पौडेलको चित्त बुझेको छैन। महिला बालबालिका, युवा मन्त्रालय र रक्षा मन्त्रालयमध्ये एक मन्त्रालय पौडेलले पाउने हुन्।

उता सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरी मन्त्रीका आकाङ्क्षी छन्। प्रधान यस अगाडि नै मन्त्री भएकाले यसपालि चौधरीलाई पठाउने तयारीमा छन् सिटौला। शशाङ्कले पनि प्रारम्भदेखि नै रिजालको नाम लिइराखेको बैठकमा सहभागी स्रोतले बतायो।

देउवालाई पनि आफ्नै समूहमा मिलाउन सकस छ। गठबन्धन दलको असहमति हुँदाहुँदै पनि स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको रूपमा उमेश श्रेष्ठलाई पठाए। भागबन्डामा स्वास्थ्य आफैँले राखे पनि नेपालले नमानेपछि स्वास्थ्य छाड्नुपर्यो।

उता कानुन मन्त्री रहेका ज्ञानेन्द्र बहादुर कार्कीलाई सञ्चार मन्त्री बनाउने तयारीमा छन्। तर शशाङ्कबाट मिनेन्द्र मन्त्री बनेमा उनले सञ्चार आफूलाई चाहिने दाबी गरिरहेका छन्। यसले उनलाई आफ्नै गुटमा पनि मन मिलाउन समस्या देखिन्छ। उनी पुष्पा भुसाललाई मन्त्री बनाउने पक्षमा छन्। तर मिलाउन सकेका छैनन्।

२१ असोज, २०७८, २२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।