बल्ल टुङ्गियो भागबन्डा : स्वास्थ्यसहित ४ मन्त्रालय र २ मुख्यमन्त्री लिएर माधव सरकारमा जाने

बल्ल टुङ्गियो भागबन्डा : स्वास्थ्यसहित ४ मन्त्रालय र २ मुख्यमन्त्री लिएर माधव सरकारमा जाने

बुधवार समाजवादीको भागमा कानुन मन्त्रालय परेको थियो। सत्ता गठबन्धनको दलको बिहीबारको बैठकको सहमति कायम रहे अब एकीकृत समाजवादीले स्वास्थ्य मन्त्रालयसँगै सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने भएको छ। मन्त्रालय टुङ्गिए पनि मन्त्रीको नाम भने टुङ्गिएको छैन।

शुक्रवार ११ बजे मन्त्रीपरिषद् विस्तार गर्ने सहमति भएको छ। सो समयभित्रमा पार्टीबाट सरकारमा जानेहरूको नाम र मन्त्रालयको जिम्मेवारी टुङ्गो लगाउने जिम्मा सचिवालयलाई दिएको एकीकृत समाजवादीका नेता विरोध खतिवडाले उकेरालाई बताए।

‘मन्त्रालयको सङ्ख्या बढ्ने सहमति भएन,’खतिवडाले उकेरासँग भने,‘कानुन भनिएकोमा स्वास्थ्य मन्त्रालय हाम्रो भागमा परेको छ।’

समाजवादीको भागमा स्वास्थ्य परेपछि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको पद गुम्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई साउन १० मा स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए। उनी नियुक्त भएदेखि नै मन्त्रालयले गर्ने नियुक्ति लगायतका निर्णय विवादमा पर्दै आएको छ।

बिहीबार मात्रै डा गोविन्द केसीले प्रधानमन्त्री पत्नी आरजुले स्वास्थ्य राज्यमन्त्री मार्फत चिकित्सा शिक्षा आयोगलाई तहसनहस बनाउन लागेको आरोप लगाएका थिए।

समाजवादी कसरी भयो सहमत ?  

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाएपछि अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

नेपाल बालुवाटार आउने जानकारीपछि नै प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई पनि बोलाएका थिए।

देउवा, प्रचण्ड, नेपाल र यादवबिचको छलफलमा नेपालले मन्त्रालय भागबन्डामा पार्टीभित्रको असन्तुष्टि मात्रै सुनाएनन्, उनले मन्त्रालयको सङ्ख्या नबढ्ने हो भने प्रदेश १ र बागमती प्रदेशको मुख्य मन्त्रीमा दाबी गरे। छलफलमा नेपालले मन्त्रालयको सङ्ख्या नबढ्ने हो भने पनि समाजवादीलाई कामचलाउ मन्त्रालय मात्र परेकाले एउटा आकर्षक मन्त्रालय दिनुपर्ने माग राखेपछि काँग्रेसले आफ्नो भागमा पारेको स्वास्थ्य दिने र २ वटा प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति गरे।

सहमतिपछि नेपाल पुन पार्टीको बैठकमा फर्किएर बालुवाटारमा भएको सहमति सुनाएका थिए। कानुनको साटो स्वास्थ्य र २ वटा प्रदेशको मुख्यमन्त्री पाउने भएपछि नेताहरू सरकारमा जान सहमत भएका थिए।

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य छिन्। बागमती प्रदेशमा असोज २४ गते प्रदेश सभाको बैठक आव्हान भएको छ। मुख्यमन्त्रीमा नियुक्त नेकपा एमालेकी शाक्यले २४ गते नै विश्वासको मत लिने प्रस्ताव बैठकमा पेस गर्ने तयारी गरेकी छन्। समाजवादीले राजेन्द्र पाण्डेलाई बागमतीको मुख्यमन्त्री बनाउने तयारी गरेको छ।

यस्तै प्रदेश १ का मुख्य मन्त्री भीम आचार्यले असोज २२ गते प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। प्रदेश १ को प्रदेश सभा बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ। यता समाजवादीले राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेको छ। 

कसको भागमा कुन मन्त्रालय ?

बिहीबार भएको सहमति अनुसार अब काँग्रेसले प्रधानमन्त्रीसहित रक्षा, गृह,परराष्ट्र, सञ्चार तथा सूचना प्रविधि, कानुन, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाएको छ।

काङ्ग्रेसबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवा, गृहमन्त्रीमा बालकृष्ण खाँड, परराष्ट्रमा डा. नारायण खड्का, कानुनमा ज्ञानेन्द्र बहादुर कार्की नियुक्त भएका छन्। अब महिला बालबालिका, सञ्चार र युवा मन्त्री नियुक्त गर्न बाँकी छ। तीन मन्त्रीमध्ये २ वटा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र एउटा मन्त्रालय कृष्णप्रसाद सिटौलाले पाउँदै छन्।

माओवादी केन्द्रले अर्थ र ऊर्जासहित शिक्षा, खानेपानी, भूमि व्यवस्था तथा गरिबी निवारण र विज्ञान तथा प्रविधि मन्त्रालय पाएको छ। प्रधानमन्त्री नियुक्त भएकै दिन असार २९ गते माओवादीबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा मन्त्रीमा नियुक्त भइसकेका छन्। माओवादीले बुधवारै आफ्नो भागमा परेको मन्त्रालयमा देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र मोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। माओवादीले नाम तय गरे पनि मन्त्रालय तोकेको छैन।

अब जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय पाउने सहमति भएको छ। जसपाले सरकारमा पठाउनेहरूको नाम भने तय गर्न सकेको छैन।

२१ असोज, २०७८, २१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।