दशैंको मुखमै सुनसान छ बसपार्क: न व्यवसायीलाई आम्दानी न मजदूरलाई पारिश्रमिक

दशैंको मुखमै सुनसान छ बसपार्क: न व्यवसायीलाई आम्दानी न मजदूरलाई पारिश्रमिक

धनगढीः बहुसङ्ख्यक नेपालीको महान चाड दशैंको विधिवत सुरुआत हुन एक दिन मात्र बाँकी छ। तर दशैंको चहलपहल भने यस वर्ष धनगढीमा अझै देखिएको छैन। 
 

सुदूरपश्चिम प्रदेशको राजधानी त्यसमाथि थुप्रै गन्तव्यसम्म पुर्याउने बस लाग्ने ठाउँ, धनगढी बसपार्क सुनसान छ। बसपार्क क्षेत्रमा यात्रुको चाप छैन, त्यसैले यस वर्ष अग्रिम टिकट पनि खुलाइएको छैन। 

‘नियमित यात्रु पाउन पनि गाह्रो छ, फाट्टफुट्ट यात्रुहरू आइरहेका छन्’, खप्तड मालिका यातायातको काउन्टरमा रहेका तेजेन्द्र थापाले भने, ‘यात्रुको चाप नहुँदा हामी पनि फुर्सदिला बनेका छौँ, यस वर्ष कोरोना महामारीका कारण दशैं आउँदा पनि बसपार्कमा चहल–पहल छैन।’

विगतका वर्षमा यति बेला बसपार्कमा अग्रिम टिकट बुकिङ गर्न यात्रुहरूको लामो लाइन लाग्थ्यो भने यस वर्ष बस व्यवसायीहरूलाई नियमित यात्रु पाउन हम्मे–हम्मे छ।

‘काठमाडौंबाट धनगढीको लागि असोज ११ गते नै अग्रिम टिकट बुकिङ खुले पनि अझै धनगढी बसपार्कमा यात्रुहरूको चाप छैन, यात्रुहरू काठमाडौंबाट नै यहाँ पुगेका छैनन्,’ सुदूरपश्चिम यातायातका कार्यालय प्रमुख देवीलाल जोशीले भने, ‘यात्रुहरू नै नभएका कारण यस वर्ष अग्रिम टिकट खुल्ने या नखुल्ने भन्ने अन्यौल छ।’

धनगढी बसपार्क प्रदेशको मुख्य आवत जावत गर्ने स्थान हो। यहाँबाट प्रदेशका ७ पहाडी जिल्लासँगै बुटवल, पोखरा, काठमाडौंलगायतका शहरहरूमा बस छुट्ने गर्दछन्। रोजगारीका लागि भारतमा रहेकाहरू त्रिनगर नाका हुँदै धनगढी बसपार्क पुग्छन् भने देशका विभिन्न शहरमा रहेका सुदूरपश्चिमेलीहरू पनि धनगढी बसपार्कमा जम्मा हुँदै आआफ्नो गन्तव्य लाग्ने गर्छन्। 

तर यस वर्ष बसपार्कको दृश्य उराठ लाग्दो छ। 

‘महामारीका कारण यस वर्ष लामो समयदेखि विद्यालयहरू पनि बन्द छन्, धनगढीमा पहाडी जिल्लाका अधिकांश विद्यार्थीहरू पढ्ने गर्छन्, अहिले धेरै विद्यार्थी घरमै छन्, धनगढीमा रहेकाहरूले पनि कोरोना महामारीका कारण यात्रा गर्न गाह्रो मानिरहेका छन्,’ सुदूरपश्चिम यातायातका प्रमुख जोशीले भने, ‘भारतमा मजदूरी गर्नेहरू पनि नाकाबाट सोझै घर गइरहेका छन्, त्यसैले पनि बसपार्कमा चहल–पहल देखिएको छैन।’

यस्तै थुप्रै सुदूरपश्चिमेलीहरू यस वर्ष काठमाडौंबाटै नफर्किएकाले बसपार्कमा शून्यता छाएको उनले बताए।

रित्तो जान्छन् बस, व्यवसायी भन्छन्– दशैं कसरी मनाउने ?
धनगढी बसपार्कमा रहेका बसहरू यात्रु नपाएर रित्तो फर्किन्छन्। 

‘दशैं मुखमा पुगिसक्यो यात्रु छैनन्, बसका कर्मचारीलाई कसरी तलब दिने? बैङ्कको किस्ता कसरी तिर्ने? अनि हामीले दशैं कसरी मनाउने?’, बस व्यवसायी तिलक मगरले भने, ‘व्यवसायबाटै पलायन हुने अवस्थामा पुगिसक्यौं, हामी सङ्कटमा छौं।’

महिना बित्न नपाउँदै बैंकले किस्ता तिर्न फोन गरे पनि कमाइ नहुँदा समस्यामा परेको उनको गुनासो थियो। यस्तै दशैंमा कर्मचारीलाई तलब दिन नसकिने पीर पनि उनले व्यक्त गरे।

‘कारोबार भएको छैन, दशैं आइसक्यो बसका कर्मचारीहरूलाई पारिश्रमिक पनि दिनु छ, हामी निकै अप्ठ्यारोमा छौँ’, उनले भने। 
यात्रु नपाउँदा यातायात क्षेत्रका साहुसँगै मजदूर पनि समस्यामा परेका छन्। मजदूरहरूले समयमै पारिश्रमिक पाएका छैनन्। 

‘९÷१० जना यात्रु बोकेर काठमाडौंसम्म जानुपर्छ, गाडी मर्मत र पेट्राेल खर्च उठाउनै ठिक्क हुन्छ, हामीले आफ्नो पारिश्रमिक निकाल्न पनि सकिरहेका छैनौँ’, यातायात मजदूर निर्मल मिश्रले भने।

यातायात क्षेत्र खुले पनि यात्रु नभएपछि उनलाई दशैं कसरी मनाउने भन्ने ठूलो चिन्ता छ।
 

२० असोज, २०७८, ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।