तत्काल सेयर धितो राखेर कर्जा लिने नीति परिवर्तन हुँदैन : राष्ट्र बैंक 

तत्काल सेयर धितो राखेर कर्जा लिने नीति परिवर्तन हुँदैन : राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो राखेर ऋण लिन पाउने सीमा तोकेपछि लगानीकर्ताहरू आन्दोलित भएका छन्। लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन्। 

आज उनीहरूले मोटरसाइकल र्याली गर्दै अधिकारीको राजीनामा माग गरेका हुन्। उनीहरूको माग ४ करोड र १२ करोडको सीमा सम्बन्धी व्यवस्था तत्काल खारेज गर्नु पर्ने रहेको छ।  

पुँजी बजार २०७७ असार मसान्तमा १ हजार ३६२.४ अङ्कमा रहेको नेप्से सूचक २०७८ असार मसान्तमा २ हजार ८८३.४ अङ्कमा पुगेको थियो। बैंक तथा वित्तीय संस्थाहरूबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिमा छ। 

४ र १२ करोडको सीमा हतारमा परिवर्तन नगर्नुस्– पूर्व अर्थ सचिव

लगानीकर्ताहरू आन्दोलनमा रहे पनि पूर्व अर्थ सचिव शान्तराज सुवेदी ४ र १२ करोडको सीमा हतारमा परिवर्तन गर्न नहुने बताउँछन्। उनले सामाजिक सञ्जाल ट्विटरमा सेयर धितो राखेर पाइने कर्जा हतारमा परिवर्तन नगर्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिएका छन्।  

‘एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र एक व्यक्तिले १२ करोड रुपैयाँ सम्म मात्र शेयर धितोमा ऋण लिन पाउने नियमको कारण सेयर बजार ओरालो लागेको भए आत्तिनु पर्दैन। यो निश्चित व्यक्ति÷समूहले आफ्नो स्वार्थमा चालेको चाल हुनसक्छ। बजार घटबढ हुनु सामान्य हो। नेपाल राष्ट्र बैंकले आम नागरिकको हित हेर्नुपर्छ’ उनले लेखेका छन्, ‘सेयर धितो राखेर ऋण लिन पाउने यो सीमा निकै बढी हो। सेयरको दोस्रो बजार माग र आपूर्तिले निर्धारण गर्ने हो। वित्तीय परिसूचकहरू कमजोर रहेका जलविद्युत आयोजनाहरूको सेयर अचाक्ली बढेको थियो, जसको करेक्सन आवश्यक छ। त्यसैले आत्तिनु आवश्यक छैन।’

अर्थमन्त्रीको आदेश : पुँजी बजारको समस्या समाधान गर्नु

अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हालेकै दिन आफ्नो कार्यकालमा पुँजी बजारलाई नकारात्मक प्रभाव पर्ने कुनै कदम नचाल्ने जनाएका थिए। 

तर पछिल्लो समय मौद्रिक नीतिको कारण भन्दै लगानीकर्ताहरू आन्दोलनमा उत्रिए पछि अर्थ मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। 

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेको मन्त्रालयले जनाएको छ।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका छन्। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आदेश नै दिएका छन्। जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्रालयले जनाएको छ। 

अर्थमन्त्रीको फोन पछि बजारमा उछाल

हिजो आइतबार सेयर बजारमा वर्ष कै ठुलो गिरावट आएको थियो। कारोबारको दोस्रो घण्टामा नै नेप्से परिसूचक १४७.३१ अङ्कले गिरावट आए पछि बजार ४० मिनेटको लागि स्थगित नै भएको थियो। 

यो नेपालको सेयर बजारमा एकै दिन भएको सबै भन्दा ठुलो गिरावट हो। नेपालको सेयर बजारमा यस अघि २०७७ मंसिर २१ गते एकै दिन १२३ अङ्कको गिरावट आएको थियो भने २०७७ पुस ५ गते बजारमा ९७ अङ्क सम्मको गिरावट आएको थियो।

हिजो आइतबार कारोबार बन्द हुने बेला सम्म नेप्सेमा १०८.२६ अङ्कको गिरावट आएको थियो। तर सोमबार बजारमा उछाल आयो। सोमबार नेप्से १६१.९४ अङ्कले बढेर २९ सय ८९.७८ अङ्कमा पुगेको छ।

कुन अवस्थामा सेयर धितो राखेर कर्जाको सीमा लागु हुँदैन?

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाविरुद्ध लगानीकर्ताहरू आन्दोलनमा उत्रिएपछि किसिमको कर्जाका विषयमा थप प्रस्ट पारेको छ।

आज बारम्बार सोधिने प्रश्न (एफएक्यू) को उत्तर दिँदै राष्ट्र बैंकले उद्योग व्यवसायीका लागि अन्य धितोसँगै सेयरसमेत धितो राख्न चाहेमा सेयर धितो राखी कर्जा लिन पाइने उल्लेख गरेको छ। 

बारम्बार सोधिने प्रश्नको जवाफ दिँदै राष्ट्र बैंकले भनेको छ,‘अन्य संस्थाको शेयर किन्ने प्रयोजन देखि बाहेकका व्यावसायिक प्रयोजनको लागि शेयर धितो राखी प्रवाह भएको कर्जामा मार्जिन प्रकृतिको कर्जामा जस्तो एकल ग्राहक कर्जा सीमाको रूपमा रहेको एउटा इजाजतपत्रप्राप्त संस्थाबाट अधिकतम ४ करोड र सबै इजाजत पत्र संस्थाबाट अधिकतम १२ करोडको सीमा लागू हुँदैन।’

राष्ट्र बैंक भन्छ– तत्काल नीति परिवर्तन हुँदैन

नेपाल राष्ट्र बैंकले साउन २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्यो। त्यसको कार्यान्वयनका लागि भदौ ८ गते एकीकृत निर्देशन जारी गर्यो। नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति ३ महिना नपुगी परिवर्तन  नहुने नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले बताए। 

‘नेपाल राष्ट्र बैंकले आफ्नो मौद्रिक नीति ३ महिनाको समीक्षा गरेर मात्रै परिवर्तन हुन्छ’ उनले भने ‘विगतको परम्परा अनुसार एक पटक मौद्रिक नीति जारी भएर त्यसको कार्यान्वयनको निर्देशन भए पछि त्रैमासिक समीक्षा नहुँदासम्म नीति परिमार्जन हुँदैन।’

२१ भदौ, २०७८, २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।