काँग्रेसमा यसरी चयन हुँदैछन् सभापति छान्ने ४ हजार महाधिवेशन प्रतिनिधि

काँग्रेसमा यसरी चयन हुँदैछन् सभापति छान्ने ४ हजार महाधिवेशन प्रतिनिधि

शुक्रवार क्रियाशील सदस्यता नामावली टुङ्गो लागेका ५६ जिल्ला मध्ये ३५ जिल्लाको वडामा अधिवेशन सुरु भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। 

वडा वडामा खटिएका निर्वाचन अधिकृतहरूले भदौ २३ गतेसम्म वडा अधिवेशन सक्काउने निर्वाचन समितिलाई जानकारी गराएको समितिका संयोजक महादेव यादवले जानकारी दिए। 

शनिवार झापा र मुस्ताङमा वडा अधिवेशन गराउन निर्वाचन अधिकृतले स्वीकृति लिएका छन्। ‘१९, २०, २१, २२ र २३ गते वडा अधिवेशन गर्न स्वीकृत लिइसक्नु भएको छ,’संयोजक यादवले उकेरासँग भने,‘ क्रियाशील सदस्यता टुङ्गो लागेका ५६ जिल्लाका सबै वडामा शुक्रवार एकै दिन अधिवेशन हुन सकेन।’

उनले निर्वाचन समितिमा अहिलेसम्म ३५ जिल्लाका वडामा मात्र अधिवेशन सुरु भएको जानकारी आएको बताए। 

कति छानिन्छन् प्रतिनिधि ?

६ हजार ७ सय ४३ वडाको अधिवेशनबाट १ लाख १४ हजार ५ सय २५ क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। ७७ वटै जिल्लाका वडाबाट चयन हुने क्षेत्रीय प्रतिनिधिमध्येबाटै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्। 

काँग्रेसको विधान अनुसार गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडा क्षेत्रभित्रका काँग्रेसका क्रियाशील सदस्य वडा अधिवेशनका सदस्य हुनेछन्। गाउँपालिकाको वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट निर्वाचित गरेका सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई जना हुनेछन्। 

क्रियाशील सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको सदस्य मात्र गाउँपालिकाको वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न सक्ने काँग्रेसको विधानमा व्यवस्था छ। 

सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित वडा कार्यसमितिबाट एक जना कोषाध्यक्ष चयन गर्ने व्यवस्था छ। 

काँग्रेसको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष चयन गर्दा पनि यही व्यवस्था विधानमा राखिएको छ। काँग्रेसको विधानमा कम्तीमा तीन महिला सहित नौ जना प्रत्यक्ष निर्वाचित सदस्य वडा कार्य समितिमा हुनेछन्। 

गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिको निर्वाचन हुनेछ। काँग्रेसको विधानमा एक सय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तीमा तीन जना महिला सहित नौ जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नेछ। 

एक सय पचास भन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमा भित्र रही प्रति एक सय थप क्रियाशील सदस्यमा दुई महिला सहित ६ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था काँग्रेस विधानमा छ। वडा सभापति प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनको पदेन प्रतिनिधि हुने व्यवस्था छ। 

यस्तै काँग्रेसको गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण क्रियाशील सदस्यमध्येबाट कार्यसमिति गठन गर्नेछ। गाउँपालिकाको अधिवेशनले अपाङ्गता भएका क्रियाशील सदस्यमध्येबाट एक जना महिला सहित दुई जना प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रतिनिधिको निर्वाचन गर्ने विधानमा व्यवस्था छ। 

वडाबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिमा गाउँ, नगर, उपमहानगर र महानगरपालिकाबाट थप २ जना प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिको निर्वाचन हुनेछ। 

क्रियाशील सदस्यले आफ्नो पालिकाको वडा कार्यसमिति र पालिका कार्यसमिति चयनका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने विधानमा व्यवस्था गरिएको छ। 

यो प्रक्रियाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि प्रदेश सभा क्षेत्रीय अधिवेशनको सदस्य हुनेछन्। प्रदेश सभा निर्वाचन क्षेत्रभित्रका गाउँ, नगर, उपमहानगर र महानगरपालिका कार्यसमितिका सभापति र वडा कार्यसमितिका सभापति पनि सदस्य हुनेछन्। 

यस्तै क्षेत्रभित्रका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी र सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार एक अवधिका लागि क्षेत्रीय अधिवेशनका प्रतिनिधि हुनेछन्। 

प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेशसभा क्षेत्रको जनसङ्ख्याको बनोट अनुसार तोकिए बमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ। 

प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई जना निर्वाचित हुनेछन्। 

क्षेत्रीय प्रतिनिधिले प्रदेश सभा क्षेत्रीय अधिवेशनसम्म मात्रै मतदान गर्न पाउँछन्। प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधिहरू प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय अधिवेशनका सदस्य हुनेछन्। 

उनीहरू क्षेत्रीय प्रतिनिधिमध्येबाट चुनिएर पुग्नुपर्ने छ। प्रदेश सभा क्षेत्रभित्र रहेका पार्टी केन्द्रीय कार्यसमितिका वर्तमान एवं पूर्व पदाधिकारी तथा सदस्यहरू, जिल्ला सभापति, क्षेत्रीय सभापति, सङ्घीय सांसदका सदस्य र उम्मेदवार, प्रदेश सभाका सदस्य र उम्मेदवार प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका सदस्य हुनेछन्। 

केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन 

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा चार महिलासहित १४ जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति खस–आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधि सभा क्षेत्रको जनसङ्ख्याको बनोट अनुसार तोकिए बमोजिम निर्वाचित गर्नेछ। 

केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनका लागि क्रियाशील सदस्यता प्राप्त गरेको चार वर्ष पुगेको हुनुपर्ने काँग्रेसको विधानमा व्यवस्था छ। प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनेछ। 

यस्तै प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट दुई महिला सहित सात जना प्रत्यक्ष चार जना थप गरी ११ जना महासमिति सदस्य निर्वाचित गर्नेछ। 

यस्तै जिल्लाभित्रको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका सदस्यहरूले जिल्ला कार्यसमिति चयन गर्नेछन्। जिल्ला सभापति पदको निर्वाचनमा विजयी हुन खसेको मतको पचास प्रतिशत भन्दा बढी मत ल्याउनु पर्नेछ। 

जिल्ला अधिवेशन पछि केन्द्रीय महाधिवेशन गठन हुनेछ। देशका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट जिल्ला सभापति सहित २५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। 

काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनमा ४ हजार १२५ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। निवर्तमान केन्द्रीय सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सह महामन्त्री र केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधि हुनेछन्। भातृ सङ्घ एवं शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि छानिने छन्।

‘नेपाली काँग्रेसको केन्द्रीय समितिमा अहिले १०३ जना छन्। सबै गरेर ४२ सय भन्दा धेरै केन्द्रीय महाधिवेशन प्रतिनिधिले केन्द्रीय कार्यसमिति चयन गर्नेछन्,’निर्वाचन समितिका संयोजक यादवले भने।

१८ भदौ, २०७८, १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।