निर्जीवन बीमा कम्पनीले कमाए ४ अर्ब ६५ करोड, कुन कम्पनीको प्रति सेयर कमाई कति ?

निर्जीवन बीमा कम्पनीले कमाए ४ अर्ब ६५ करोड, कुन कम्पनीको प्रति सेयर कमाई कति ?

निर्जीवन बीमा गर्नेहरूको सङ्ख्या पनि बढेको छ। बीमा गर्नेहरू बढेसँगै कुल गृहस्थ उत्पादनको प्रतिशत पनि बढेको छ। बीमा समितिका अनुसार गत वर्ष निर्जीवन बीमाको योगदान ३.२५ प्रतिशत थियो । यो वर्ष बढेर ३.५८ प्रतिशत पुगेको छ।

नेपालमा अहिले १९ जीवन बीमा कम्पनी, २० निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बिमा कम्पनी छन्। २० मध्ये १८ वटा निर्जीवन बीमा कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छन्। 

ती मध्ये १७ वटा निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

नाफा मात्रै ४ अर्ब ६५ करोड
१७ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्सको छ। उसले ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

नेको पछि शिखर इन्स्योरेन्स कम्पनीले ४७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। शिखर पछि बढी नाफा कमाउनेमा सगरमाथा इन्स्योरेन्स, प्रिमियर, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्युरेन्स, सिद्धार्थ, प्रभु, एनएलजी र प्रुडेन्सियल अब्बल देखिएका छन्। 

यो अवधिमा सगरमाथा इन्स्योरेन्सले ४५ करोड, प्रिमियर इन्स्योरेन्सले ३७ करोड, राष्ट्रिय बीमा कम्पनीको ३६ करोड, नेपाल इन्स्योरेन्सले ३४ करोड ८७ लाख, सिद्धार्थ इन्स्योरेन्सले ३० करोड २३ लाख, प्रभु इन्स्योरेन्सले २६ करोड ६६ लाख र एनएलजी इन्स्योरेन्सले २५ करोड २२ लाख रुपैयाँ नाफा कमाएका छन्। 

यस्तै आइएमइ जनरल इन्स्योरेन्सले २३ करोड, एभरेष्ट इन्स्योरेन्सले २० करोड ३८ लाख, प्रुडेन्सियल इन्स्योरेन्सले १७ करोड ६९ लाख, लुम्बिनी जनरलले १७ करोड २४ लाख र हिमालयन जनरल इन्स्योरेन्सले १५ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। सबै भन्दा कम युनाइटेड इन्स्योरेन्सले पनि ७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ।

अजोड इन्स्योरेन्सले ९ करोड ५३ लाख, जनरल इन्स्योरेन्सले ९ करोड र सानिमा जनरल इन्स्योरेन्सले ८ करोड ६२ लाख रुपैयाँ नाफा कमाएका छन्।

कुन बीमा कम्पनीको इपिएस कति
बीमा कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमा कम्पनीमा सबै भन्दा धेरै प्रतिशेयर आम्दानी राष्ट्रिय बीमा कम्पनीको छ। 

राष्ट्रिय बीमा कम्पनीको प्रतिशेयर आम्दानी १३५ रुपैयाँ १३ पैसा रहेको छ। यस्तै सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ६३ पैसा प्रतिशेयर आम्दानी रहेको छ। 

सबैभन्दा कम प्रतिशेयर आम्दानी युनाईटेड इन्स्योरेन्सको छ। युनाईटेडको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३१ पैसा छ। 

शिखर इन्स्योरेन्सको २७ रुपैयाँ, नेको इन्स्योरेन्सको ४१ रुपैयाँ, प्रिमियर इन्स्योरेन्सको ३४ रुपैयाँ ७७ पैसा, आइएमइ जेनेरलको २० रुपैयाँ २७ पैसा कमाइ रहेको छ। यस्तै एनएलजी इन्स्योरेन्सको २० रुपैयाँ ९१ पैसा, सिद्धार्थ इन्स्योरेन्सको २६ रुपैयाँ ९९ पैसा प्रति शेयर कमाइ रहेको छ। 

यस्तै नेपाल इन्स्योरेन्सको २८ रुपैयाँ, प्रभु इन्स्योरेन्सको २२ रुपैयाँ, लुम्बिनी जेनेरल इन्स्योरेन्सको १४ रुपैयाँ १३ पैसा, अजोड इन्स्योरेन्सको ९ रुपैयाँ ५२ पैसा प्रतिशेयर कमाइ रहेको छ भने एभरेष्ट इन्स्योरेन्सको १७ रुपैयाँ २२ पैसा र सानीमा इन्स्योरेन्सको ८ रुपैयाँ ६२ पैसा प्रतिशेयर कमाइ रहेको छ।  

इपिएस के हो? 
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कुल सेयर सङ्ख्याले भाग गर्दा प्रतिसेयर आम्दानी (अर्निङ पर सेयर, इपिएस) प्राप्त हुन्छ। यो सेयरको मूल्य मापन गर्ने एक महत्त्वपूर्ण आधार हो। प्रतिसेयर आम्दानी उच्च भएकोलाई असल मानिन्छ भने कम भएकालाई कमसल।

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल सेयर सङ्ख्याले भाग गर्दा प्रति सेयर आम्दानी निकाल्न सकिन्छ।

प्रतिसेयर आम्दानीले सेयरवालाहरू तथा कम्पनीभन्दा बाहिरका व्यक्तिहरूका लागि नाफाको महत्त्वपूर्ण मापक प्रदान गर्दछ। प्रतिसेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिसेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ।

१८ भदौ, २०७८, १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।