निर्जीवन बिमा कम्पनीको नाफा ४ अर्ब ६५ करोड, सबैभन्दा धेरै नेकोको

निर्जीवन बिमा कम्पनीको नाफा ४ अर्ब ६५ करोड, सबैभन्दा धेरै नेकोको

काठमाडौं : निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्ष ४ अर्ब ६५ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १८ निर्जीवन बिमा कम्पनीहरूको गत आर्थिक वर्षको चौथो त्रैमास सम्मको वित्तीय विवरण अनुसार बिमा कम्पनीहरूले उक्त रकम नाफा गरेको सार्वजनिक भएको हो।

निर्जीवन बिमा कम्पनीहरूले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै नाफा नेको इन्स्योरेन्सले कमाएको छ। उक्त बिमा कम्पनीले गत आर्थिक वर्ष ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको विवरणमा उल्लेख छ।

खुद नाफा धेरै कमाउने कम्पनीमा दोस्रो स्थानमा  शिखर इन्स्योरेन्स कम्पनी परेको छ। उक्त कम्पनीले गत आर्थिक वर्ष ४७ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको थियो।

 केही समय अगाडिबाट कारोबार सुरु गरेको बिमा कम्पनी अजोड इन्स्योरेन्सले ९ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको. छ। यस्तै जनरल इन्स्योरेन्सले ९ करोड रुपैयाँ नाफा कमाएको छ भने सानिमा जनरल इन्स्योरेन्सले ८ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको उल्लेख गरेको छ।

बिमा शुल्कमा पनि नेको अगाडि

नेप्सेमा सूचीकृत निर्जीवन बिमा कम्पनीहरूले गत आर्थिक वर्ष ११ अर्ब ७६ करोड १९ लाख रुपैयाँ खुद बिमा शुल्क सङ्कलन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

उक्त विवरण अनुसार सबैभन्दा धेरै नाफा कमाउनेमा नेको इन्स्योरेन्स परेको छ। उक्त कम्पनी खुद बिमा शुल्क सङ्कलन समेतमा अरू सबै कम्पनी भन्दा अगाडि छ।

 गत आर्थिक वर्षको अन्त्यमा नेकोले १ अर्ब ६३ करोड २८ लाख रुपैयाँ खुद बिमा शुल्क सङ्कलन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

नेको पछि खुद बिमा शुल्क सङ्कलन गर्नेमा दोस्रो स्थानमा शिखर इन्स्यारेन्स छ। शिखरले १ अर्ब २३ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क सङ्कलन गरेको छ।

 गत आर्थिक वर्षको अन्त्य सम्म लुम्बिनी जनरल इन्स्योरेन्सले ५९ करोड ९३ लाख रुपैयाँ कमाएको छ भने आइएमई जनरल इन्स्योरेन्सले ५८ करोड ७९ लाख रुपैयाँ  र प्रुडेन्सियल इन्स्योरेन्सले ५८ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ। सानिमा जनरल इन्स्योरेन्सले भने सबै भन्दा कम १६ करोड ३४ लाख रुपैयाँ खुद बिमा शुल्क सङ्कलन गरेको छ।

 

१४ भदौ, २०७८, ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।