शेयर शिक्षा : आइपिओमा लगानी गर्दा के कुरामा ध्यान दिने ?

शेयर शिक्षा : आइपिओमा लगानी गर्दा के कुरामा ध्यान दिने ?

काठमाडौँ : नेपालमा पछिल्लो समय शेयर बजार प्रति धेरै मानिसको आकर्षण बढेको छ। कोरोना महामारीका कारण मानिस घरमा नै बस्न बाध्य भए।

यसरी घरमा नै बस्दा धेरै मानिस शेयर बजारमा प्रवेश भएका छन्। पछिल्लो समय डिम्याट खाता चालिस लाखको हाराहारीमा पुगेको छ। यस्तै अनलाइनबाट कारोबार गर्नेको संख्या सात लाख हाराहारीमा पुगेको छ।

पछिल्लो समय अनलाइन मार्फत नै शेयर बजारमा प्रवेश गर्न सकिने र शेयर किनबेच गर्न सकिने भएका कारण मानिसमा यस प्रति चासो बढेको हो।

पछिल्लो समय नेपालमा मात्रै हैन विश्वमा नै शेयर बजार उकासिएको छ। प्राथमिक बजार र दोस्रो बजार गरी शेयर बजारमा २ वटा बजार हुन्छ। कुनै कम्पनीद्वारा सर्वसाधारणका लागि जारी साधारण सेयर (आइपिओ) किन्न आवेदन दिनु प्राथमिक बजारमा प्रवेश गर्नु हो।

कम्पनीले पहिलो पटक निष्कासन गरेको सेयरलाई प्राथमिक सेयर बजार भनिन्छ। कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्नुपर्छ।

सूचीकृत भएको बढीमा सात दिनभित्र ती सेयरको कारोबार हुन्छ। यसलाई दोस्रो बजार भनिन्छ। दोस्रो बजारमा धितोपत्र ब्रोकर कम्पनीमार्फत सेयर खरिदबिक्री हुने गरेको छ। दोस्रो बजारको तुलनामा प्राथमिक बजार धेरै सुरक्षित मानिन्छ।

सामान्यतया १ कित्ता सेयरको मूल्य १०० हुन्छ। नेपालमा अहिले न्यूनतम १० कित्ताको लागि आवेदन दिन पाइने व्यवस्था छ।

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार सेयरवालाहरूलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गर्ने गरी जारी गरिएको धितोपत्रलाई पनि साधारण सेयर भनिन्छ।

लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरू

१.सार्वजनिक निष्कासन (Public Issue) भएको समयमा धितोपत्र खरिद गर्दा:

निष्कासनकर्ता कम्पनीको विवरण पत्र अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, वित्तीय स्थिति (नेटवर्थ, नाफा नोक्सान स्थिति आदि), व्यवस्थापन पक्ष, जोखिम पक्ष जस्ता महत्त्वपूर्ण कुराहरूको विश्लेषण गरेर मात्र लगानी सम्बन्धी निर्णय गर्नुपर्ने हुन्छ।

विवरण पत्र लगायत निष्कासनकर्ता कम्पनीसँग सम्बन्धित अन्य अद्यावधिक विवरणहरूका लागि निष्कासनकर्ता कम्पनी, निष्कासन तथा बिक्री प्रबन्धक र तोकिएका दरखास्त सङ्कलन केन्द्रहरूमा सम्पर्क राख्नु पर्ने हुन्छ।

धितोपत्र खरिदका लागि दरखास्त दिएपछि धितोपत्रको बाँडफाँट, फिर्ता भुक्तानी, प्रमाणपत्र प्राप्ति तथा सूचीकरण सम्बन्धमा सजग रहनु पर्दछ।

धितोपत्रको निष्कासन मूल्यले सूचीकरण पश्चात् धितोपत्र विनिमय बजार (stock exchange) मा कायम हुन जाने मूल्यलाई नजनाउने हुँदा धितोपत्रको बजार मूल्य परिवर्तनको जोखिम प्रति सजग रहनु आवश्यक हुन्छ।

२.धितोपत्र विनिमय बजारमा सूचीकरण भएका धितोपत्रहरु खरिद र बिक्री गर्दा:

धितोपत्र बोर्डबाट प्रमाणपत्र प्राप्त गरेका र धितोपत्र विनिमय बजारको सदस्यता लिएका धितोपत्र दलाल मार्फत मात्र धितोपत्र खरिद बिक्री गर्नु पर्छ।

कम्पनीको आवधिक तथा वार्षिक प्रतिवेदनको अध्ययन गरी कम्पनीको कार्य सम्पादन स्थिति, आर्थिक स्थिति, व्यवस्थापन पक्ष तथा लगानीकर्तालाई प्रदान गरिएको प्रतिफल जस्ता महत्त्वपूर्ण कुराहरू हेरेर मात्र लगानी सम्बन्धी निर्णय गर्न उचित मानिन्छ।

पत्र पत्रिका तथा अन्य सञ्चार माध्यमबाट प्रवाहित गरिने धितोपत्रको दैनिक बजार मूल्य तथा कारोबारका सम्बन्धमा समेत जानकारी राख्न सकिन्छ।

कम्पनीसँग सम्बन्धित धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचनाहरू धितोपत्र विनिमय बजारको सूचना पाटीमा तत्कालै राखिने व्यवस्था भएको हुँदा त्यस्ता सूचनासम्बन्धी जानकारीका लागि इजाजत प्राप्त धितोपत्र दलालसँग समेत सम्पर्क राख्ने गर्नु पर्छ।

धितोपत्र खरिद बिक्री गर्नुअघि ग्राहक खाता राख्न दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफूले दिएको खरिद बिक्री आदेशको प्रमाण लिन तथा खरिद बिक्री गरेको धितोपत्रको शेयरको हकमा कारोबार भएको दिनपछि ३ कार्य दिनभित्र र बण्ड वा डिवेञ्चरको हकमा कारोबार भएकै दिन कारोबार राफसाफ गरिसक्नुपर्ने व्यवस्था रहे अनुसार रकम र प्रमाणपत्र बुझ्न र बुझाउन सजग रहनु पर्छ।

धितोपत्र खरिद बिक्री गर्नुअघि ग्राहक खाता राख्न दलाललाई आवश्यक विवरण उपलब्ध गराउन, आफूले दिएको खरिद बिक्री आदेशको खरिद गरिएको धितोपत्र आफ्नो नाममा नामसारी नगरी तुरुन्त बिक्री गर्नका लागि धितोपत्र विनिमय बजारमा अभिलेख गराई खाली हस्तान्तरण (Blank Transfer) मा राख्नु भएको छ भने त्यस्तो धितोपत्र कम्पनीको दर्ता किताब बन्द हुनु अघि वा आर्थिक वर्ष समाप्त हुनु अघि आफ्नो नाममा नामसारी गरी प्रमाणपत्र लिएर कम्पनीले घोषणा गर्न सक्ने लाभांश प्राप्त गर्ने अवसर गुमाउनु हुँदैन।

३. ध्यान दिनुपर्ने अन्य कुराहरुः

धितोपत्रमा गरिने लगानीको जोखिम तपाई स्वयंले बेहोर्नुपर्ने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी सम्बन्धी निर्णय गर्नु पर्छ।

आफूले शेयर खरिद गरेको कम्पनीको गतिविधिहरूबारे निरन्तर जानकारी राख्न र कम्पनीको साधारण सभामा सहभागी हुन बिर्सनु हुँदैन।

धितोपत्रमा लगानी गर्दा आफ्नो नागरिकता प्रमाणपत्र वा नेपाल सरकारबाट जारी गरिएको आधिकारिक परिचय प्रस्तुत गरी भविष्यमा परिचय सम्बन्धी विवाद आउन नदिन सजग रहन सक्नु पर्छ।

धितोपत्रमा लगानी सम्बन्धी तपाइका जिज्ञासा, शङ्का वा गुनासाहरू भए धितोपत्र व्यवसायी, धितोपत्र विनिमय बजार तथा धितोपत्र बोर्डमा सम्पर्क राख्न सकिन्छ।

–नेप्सेको सहयोगमा

७ भदौ, २०७८, १४:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।