राजश्व बढाउँदै निजी क्षेत्रलाई सहज वातावरण बनाउने अर्थमन्त्रीको प्रतिबद्धता

राजश्व बढाउँदै निजी क्षेत्रलाई सहज वातावरण बनाउने अर्थमन्त्रीको प्रतिबद्धता

अर्थ मन्त्रालयद्वारा सार्वजनिक श्वेत पत्रमा उल्लेख भएबमोजिम उत्पादनशील अर्थतन्त्रमा रूपान्तरण गर्न विभिन्न ३४ वटा क्षेत्रमा नीतिगत सुधारको सुझाव दिन बुधवार मन्त्रालय गएको नेपाल उद्योग परिसङ्घ (सीएनआई) को टोलीसँग भेट्दै मन्त्री शर्माले मुलुकको राजश्व बढ्ने र निजी क्षेत्रलाई सहज वातावरण बन्न आफूले सहयोग गर्ने बताएका हुन्।

भेटका क्रममा टोलीले परिसङ्घले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानले सरकारले चाहे अनुरूप अर्थतन्त्रको रूपान्तरणमा सहयोग पुग्ने जानकारी गराएको थियो। मन्त्री शर्माले सिएनआईले अघि बढाएको ‘मेड इन नेपाल स्वदेशी अभियान’ को प्रशंसा गर्दै उत्पादनमूलक उद्योग स्थापना र संचालनको लागि सहज हुने गरी नीति अवलम्बन गर्ने वचन दिए। ‘के गर्दा राजश्व वृद्धि हुन्छ र निजी क्षेत्रलाई सहज हुन्छ त्यो काम गर्न म तयार छु।’ उनले भने ‘युवा जनशक्तिको बाहुल्यता रहेकाले श्रम शक्तिको हिसाबले अहिलेको समय उपयुक्त समय हो।’

मन्त्रीसँगको भेटमा मेड इन नेपाल स्वदेशी अभियान सरकारको अर्थनीतिलाई सहयोग गर्ने दाबी गर्दै टोलीले ३४ क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका थिए। त्यसको लागि अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कानुन मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल उद्योग परिसङ्घका प्रतिनिधि सम्मिलित समिति गठन गर्नुपर्ने टोलीले सुझाव दिएका थिए।

अर्थतन्त्रलाई चलायमान बनाउँदै स्वरोजगार बन्ने वातावरण सिर्जना गर्न  नयाँ एवं विद्यमान साना तथा मझौला उद्योगलाई परियोजना धितोमा पाँच करोडसम्म ऋण उपलब्ध गराउन, च्यालेन्ज फण्डको व्यवस्था गर्न टोलीले मन्त्रीसँग आग्रह गरेको थियो।

टोलीले स्वदेशमै उत्पादन हुने वस्तुको आयात निरुत्साहन गर्नुपर्ने र स्वदेशमा उत्पादन हुने वस्तुले पालना गर्नुपर्ने गुणस्तरका प्रावधान आयात हुने सम्पूर्ण वस्तुमा अनिवार्य लागू गरिनु पर्ने लगायतका सुझाव दिएको थियो।

टोलीमा अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाणा चौधरी, कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल सम्मिलित थिए।

 

२ भदौ, २०७८, १७:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।