कतार भिसा सेन्टरको ‘सिन्डिकेट’ का कारण श्रमिकको माग गुम्ने डर 

कतार भिसा सेन्टरको ‘सिन्डिकेट’ का कारण श्रमिकको माग गुम्ने डर 

कतारमा कामदार पठाउनकै लागि भनेर नेपालमा स्थापना भएको कतार भिसा सेन्टर (क्युभिसी)का कारण नेपालबाट कतार श्रमिक पठाउन समस्या भएको वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङ बताउँछन्। 

उनका अनुसार कतार भिसा सेन्टरले आवश्यकभन्दा कम अनलाइन अपोइन्टमेन्ट लिने भएकोले श्रमिक मारमा परेका हुन्। ‘अहिले क्युभिसीमार्फत दैनिक ४ सयले मात्रै अपोइन्टमेन्ट पाउने गरेका छन् तर कतार जानको लागि अहिले कम्तीमा पनि ७ सयले अपोइन्टमेन्ट पाउनुपर्छ,’ तामाङ भन्छन्, ‘यसरी सीमित संख्यामा अपोइन्टमेन्ट लिने व्यवस्थाका कारण सीमित मात्रामा मात्रै नेपाली श्रमिक रोजगारीको लागि कतार जान पाएका छन्।’

सन् २०२२ मा हुन लागेको विश्वकपको लागि धेरैभन्दा धेरै कामदार खोज्दैछ कतारले। विश्वकपको लागि ठूलाठूला प्रोजेक्ट सञ्चालन हुँदै गरेका कारण छोटै समयमा ती काम सम्पन्न गर्न धेरै कामदार चाहिएको हो। त्यही कारण बिहान भिसा दिएर बेलुकी कामदार लैजानुपर्ने अवस्था रहेको तामाङ बताउँछन्। 

तर, अपोइन्टमेन्ट लगायतको समस्याका कारण कतार जान चाहने श्रमिकले  अनलाइन फाराम भरेको दुई महिना नाघिसकेपछि मात्र आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्ट हातमा पर्छ। 

यसरी समयमा नै रिपोर्ट नपाएका कारण विदेश जान चाहने श्रमिक समयमा नै जान पाएका छैनन् भने रोजगारदाताले समेत समयमा कामदार पाएका छैनन्। 

रोजगारदाताले समयमा नै कामदार नपाएका कारण नेपालबाट संख्या नै घटाउने वा डिमान्ड नै बन्द गर्ने सम्भावना समेत भएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ बताउँछन्। 

‘आएको डिमान्ड अनुसार कामदार पठाउन क्युभिसीले सीमित व्यक्तिको मात्रै स्वास्थ्य परीक्षण गर्ने, क्युभिसी नजिकका मान्छेको मात्रै स्वास्थ्य परीक्षण गर्ने वा आर्थिक चलखेल गरेर अपोइन्टमेन्ट लिने गरेको पाइएको छ,’ महासचिव श्रेष्ठ भन्छन्, ‘क्युभिसीले आफ्नो पूर्ण क्षमतामा काम गर्ने हो भने वर्षभरि ५०–६० हजार जना कामदार मात्र कतार पठाउन सक्छ। तर नेपालबाट वर्षमा डेढ लाखभन्दा धेरै कामदार कतारमा रोजगारीको लागि जाने गरेका छन्। बाँकी कामदार त क्युभिसीको कारण यसै जान नपाउने भएन र भन्या?’

नेपालमा एउटा मात्रै क्युभिसी भएको र काम गर्ने क्षमता सीमित भएका कारण कतार जान चाहने कामदार मारमा परेका छन्। अनलाइनबाट अपोइन्टमेन्ट लिनको लागि दैनिक केही घण्टा मात्रै अनलाइन खुल्ने भएकोले कामदार झनै मारमा परेको श्रेष्ठको भनाइ छ। 

अन्य देशमा रोजगारीमा जान चाहने कामदारले सरकारले तोकेको जुनसुकै मेडिकलबाट स्वास्थ्य परीक्षण गर्न पाउने व्यवस्था रहेको छ। तर कतार जानका लागि भने क्युभिसीमा मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यकारी नियम रहेको छ।

के हो कतार भिसा सेन्टर? 

नेपालमा कतार भिसा सेन्टर ०७६ जेठ १५ गतेबाट सञ्चालनमा आएको हो। कतार भिसा सेन्टर (क्युभिसी) रोजगारीका लागि कतार जाने श्रमिकका लागि सहज होस् भनेर स्थापना भएको संस्था हो। नेपाल बाहेकका भारत, पाकिस्तान लगायत कतारमा रोजगारीमा धेरै जाने ८ वटा देशमा २० वटाभन्दा धेरै क्युभिसी कार्यालय छन्। तर नेपालमा भने एउटा मात्रै छ।

नेपालबाट रोजगारीको लागि कतार जाने श्रमिकले कम्पनीमा काम सुरु गर्नुभन्दा अगाडि अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यकारी नियम रहेको छ। नेपाल सरकारले मान्यता दिएका झन्डै डेढ सयको हाराहारीमा स्वास्थ्य संस्था छन्। 

तर, अहिले क्युभिसीले मात्रै स्वास्थ्य परीक्षण गर्दै आएको छ। यसरी परीक्षण गर्दा कतार पुगेर फर्कनुपर्ने अवस्था नहोस् भनेर स्थापना भएको हो क्युभिसी।

कतार भिसा सेन्टरले थम् प्रिन्ट, बायोमेट्रिक डाटा, स्वास्थ्य परीक्षण, करार प्रमाणीकरण, भिसा प्रोसेस सबै काम गर्ने गरेको छ। एक पटक स्वास्थ्य परीक्षण गर्दा अयोग्य देखिए पनि श्रमिकले चाहेमा दोहोर्याएर परीक्षण गर्न पाउने व्यवस्था रहेको छ। यसरी परीक्षण गर्न अनलाइनमार्फत समय लिनुपर्छ। 

कोरोनाका कारण ९ महिना क्युभिसी बन्द भए। गत जुन २ तारिकदेखि जुलाई ६ सम्म समय लिइसकेका श्रमिकले फेरि अनलाइन फाराम भरेर समय लिनको लागि समस्या देखिएको थियो। 

के हो विवाद ? 

कतार जाने कामदारको सहजताका लागि भन्दै कतार सरकारले नेपालमा कतार भिसा सेन्टर सञ्चालनमा ल्याउन पटकपटक नेपाल सरकारसँग प्रस्ताव राख्दै आएको थियो। 

तर, कतार भिसा सेन्टर नेपालमा स्थापना हुनुभन्दा पहिलेदेखि नै विवादमा आएको थियो। तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले कामदारमाथि स्वास्थ्य परीक्षण र भिसा प्रोसेसिङका नाममा सिन्डिकेट खडा गरेर रकम असुल्ने नियत भइरहेको भन्दै परराष्ट्र मन्त्रालयलाई पत्र काटेर अनुमति दिन नहुने बताएका थिए। 

कतार भिसा सेन्टर एउटा मात्र छ, त्यहाँ मेडिकल सेन्टर पनि एउटा मात्र भएकोले सीमित मान्छेको मात्रै स्वास्थ्य परीक्षण गर्ने भएकोले कतार जाने कामदारमाथि सिन्डिकेट हुने विष्टको भनाइ थियो। 

भिसा सेन्टर सञ्चालनमा ल्याउँदा कामदारमाथि आर्थिक भार पर्ने र भिसा प्रोसेसिङ लगायत काममा सिन्डिकेट कायम हुने भन्दै वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन महासचिव नरेश गेलालले राजीनामा दिएका थिए। तर म्यानपावर व्यावसायिकै दबाबका कारण उक्त सेन्टर स्थापना भएको थियो।

म्यानपावर व्यवसायी हेम गुरुङ लगायतको टिमले भिसा सेन्टर सञ्चालनमा ल्याएका हुन्।

क्युभिसीले रोजगारीको लागि कतार जाने कामदारको प्रवेशाज्ञा र श्रमपत्र जारी गर्ने तथा स्वास्थ्य परीक्षण, फिङ्गरिङ लगायत काम गर्छ। तर यही बहानामा क्युभिसीले सिन्डिकेट गरेको अध्यक्ष तामाङको आरोप छ।

कतार भिसा सेन्टर यस पटक मात्रै हैन, यसभन्दा अगाडि पनि केही सीमित म्यानपावरबाट मात्रै कतार कामदार पठाउन लागेको भनेर विवादमा आएको थियो।

कतार भिसा सेन्टर केही म्यानपावर व्यवसायीहरूको पहलमा मात्रै नेपालमा स्थापना भएको कारण सिन्डिकेट गरेर आफ्ना कामदार पठाउने गरेको व्यवसायी संघको आरोप छ। 

‘क्युभिसी स्थापना भएको ६ महिनासम्म राम्रो काम गरेको थियो। समय बित्दै जाँदा क्युभिसीले सेटिङमा काम गर्न लाग्यो,’ अध्यक्ष तामाङ थप्छन्, ‘काठमाडौँमा मात्र कार्यालय भएकोले ७७ वटा जिल्लाबाटै मानिस राजधानी आउनुपर्ने बाध्यता आइलाग्यो। यो कस्तो बाध्यता हो? सबै काम स्थानीयस्तरबाटै हुनुपर्ने हो तर क्युभिसी भने राजधानीमा मात्रै भएकोले कामदार समेत समस्यामा परेका छन्।’

कतार जान चाहने युवाहरू काठमाडौं आउने वित्तिक्कै क्युभिसीमा समय पाउँदैनन्। हप्तौँ कुरेर मात्रै उनीहरूको स्वास्थ्य परीक्षण लगायतका प्रक्रिया सुरु गर्न पाउने अवस्था रहेको छ। 

देशका विभिन्न जिल्लाबाट काठमाडौं आउँदा लाग्ने चर्को यातायात खर्च त छँदै छ उनीहरूको टाउकोमा काठमाडौँको होटेलमा हप्तौँ बस्नुपर्दाको आर्थिक भार पनि उत्तिकै छ। 

यसरी क्युभिसीको ढिलासुस्तीका कारण कहिले त श्रमिकहरूले गन्तव्य मुलुक उड्न नै नपाउने अवस्था भोगेको तामाङ बताउँछन्। 

‘कसैको भिसा एक्स्पाएर भएको छ भने कोही समयमा जान पाएका छैनन्,’ अध्यक्ष तामाङ भन्छन्, ‘भित्र पैसाको चलखेलको कारण हिजो आएको भिसाको डेट पनि भोलिपल्ट नै आउँछ।’

कतार जानका लागि विभिन्न समस्या भोगेको भन्दै श्रमिकहरू वैदेशिक रोजगारी व्यवसायी संघमा गुनासो लिएर समेत पुगे। श्रमिकको गुनासोपछि संघ क्युभिसीसँग वार्ताका लागि नगएको पनि होइन।

‘क्युभिसी बिहान साढे ८ देखि साढे ४ बजेसम्म हप्ताको ५ दिन मात्रै खोल्ने भएकोले पनि समस्या भएको रहेछ। कतिपयले आवेदन खुलेको थाहा नै नपाउने अवस्था समेत रहेछ। आफूलाई मन लागेको समयमा केही घण्टाको लागि मात्रै अनलाइन रजिस्ट्रेसन खोल्ने भएकोले कतार जान चाहने कामदारलाई समस्या परेको छ,’ तामाङले भने। 

सरकारले निश्चित स्वास्थ्य केन्द्र तोकिदिएको हुँदाहुँदै क्युभिसीमा नै स्वास्थ्य परीक्षण गराउनु भनेर क्युभिसीले ‘सिन्डिकेट’ खडा गरेको अध्यक्ष तामाङको आरोप छ। अन्य देशबाट भने क्युभिसीबिना नै कतारले कामदार लिइरहेको तामाङ बताउँछन्। 

सुरुमा आवश्यकता अनुसार देशमा ३ वटासम्म क्युभिसी स्थापना गर्ने सहमति भएको तर अहिले एउटा मात्रै भएकोले यस्तो समस्या भोग्नु परेको तामाङको बुझाइ छ। क्युभिसीकै कारण धेरै कामदारको भिसा एस्पायर भएको समेत उनले बताए। 

सन् २००५ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो। सम्झौता हुनु अगाडिदेखि नै नेपालबाट युवाहरू रोजगारीका लागि कतार जाने गरेका थिए। यत्रो वर्षदेखि नेपालबाट कतार जाँदा कुनै गुनासो आएको थिएन, तर क्युभिसी नेपालमा स्थापना भएको २ वर्ष मात्र हुँदा यति धेरै गुनासो आएको तामाङको भनाइ छ। 

‘यसभन्दा अगाडि हामीले पत्र काटेर नै ध्यानाकर्षण गराएको हो। कतार भिसा सेन्टरको कारण नेपालबाट रोजगारीको लागि जान चाहने श्रमिकलाई समस्या पर्यो  भनेर सम्बन्धित निकायहरूमा समेत पत्राचार समेत गरेका थियौँ, तामाङ भन्छन्,  ‘हामीले क्युभिसीको विरुद्ध आन्दोलन गर्ने सोच समेत बनाएका छौँ।’

कतार भिसा सेन्टर भन्छ– क्षमता बढाउँदै छौँ

कोरोनाका कारण अपोइन्टमेन्ट लिइसकेका व्यक्तिले पनि स्वास्थ्य परीक्षण गर्न नपाएको क्युभिसीका बोर्ड सदस्य प्रताप गुरुङ बताउँछन्। ‘जुन २ देखि जुलाई ६ सम्मको अपोइन्टमेन्ट लिइसकेका व्यक्तिको समस्या आयो। उनीहरूलाई नयाँ अपोइन्टमेन्ट लिन पनि समय लाग्ने, पुरानो अपोइन्टमेन्टले काम नगर्ने भएकोले कतार सरकारसँग नै कुरा गर्यौँ,’ उनले भने, ‘हामीले बीचमा धेरै झन्झट खेपेर जुलाई १६ सम्म सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ।’

अहिले अनलाइनमार्फत ४५० जनाले अपोइन्टमेन्टको लागि आवेदन दिन पाउने व्यवस्था मिलाएको गुरुङ बताउँछन्। हप्तामा ५ दिन मात्रै कार्यालय खुल्ने व्यवस्था रहेको भए पनि शुक्रबार पनि क्युभिसी खुल्ने गरेको छ। 

‘म्यानपावर व्यवसायीहरूले हामीले अपोइन्टमेन्ट पाएनौँ भनेर गुनासो गर्छन्। तर अपोइन्टमेन्ट लिएका मानिस नै स्वास्थ्य परीक्षणका लागि आउँदैनन्,’ गुरुङ भन्छन्, ‘हामीले व्यवसायीहरूलाई जाने पक्का भएकाहरूलाई मात्रै पठाउनुस् भनेको तर त्यो लागू भएको छैन। हामी सीमित साधन–स्रोतबाट काम गर्दैछौं। क्षमता पनि बढाउँदै छौँ।’

२५ साउन, २०७८, ०७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।