सुरेन्द्र पाण्डेले रोक्न सकेनन् रावललाई, 'मलाई नरोक्नुस्' भन्दै बुझाए राजीनामा

सुरेन्द्र पाण्डेले रोक्न सकेनन् रावललाई, 'मलाई नरोक्नुस्' भन्दै बुझाए राजीनामा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवालाई पक्षमा मत दिने कि विपक्षमा भन्ने विवादमा एमाले दुई तिर विभाजित भएपछि पार्टीको विवाद समाधान गर्न गठित कार्यदलमा माधव नेपाल समूहको नेतृत्व गरेका भीम रावलले राजीनामा दिए।

प्रतिनिधि सभाको बैठक सुरु हुनुभन्दा अगाडि उनी सभामुखको कार्यालयमा पुगेर राजीनामा बुझाएका थिए। उनलाई राजीनामा बुझाउनबाट रोक्न नेपाल समूहका सुरेन्द्र पाण्डेले रोक्न खोज्दा' प्लिज मलाई नरोक्नु' भन्दै सञ्चारकर्मीहरूमाझ आफ्नो राजीनामा पत्र पढेर सुनाएका थिए।

उनले राजीनामा पत्रमा ' अनैतिक राजनीतिको हतियार हुनुभन्दा अलग हुनु राम्रो भएको' भन्दै राजीनामा दिएको उल्लेख गरिएको छ।

तत्कालीन नेकपामा विवाद बढेसँगै रावल तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विपक्षमा उभिँदै आएका थिए। ओलीविरुद्ध कडा प्रतिक्रिया व्यक्त गर्दै आएका उनी माओवादी केन्द्र र एमाले पूर्ववत् अवस्थामा फर्किएपछि नेपाल समूहमा सक्रिय थिए।

असार २१ गते रावल र ओलीबिच बालुवाटारमा भेट भएपछि उनीमाथि नेपाल समूहले नै आशङ्का गर्दै आएका थिए। ओलीसँग रिसाएका रावल भेटपछि दुवै नेताबिच सहमति गराउन सक्रिय थिए। नेपालको सहमति नभए पनि १० बुँदे सहमति पत्र सार्वजनिक गरेका उनी संसद् पुनर्स्थापना भएमा संस्थागत निर्णयका आधारमा अगाडि बढ्नुपर्ने पक्षमा थिए।

ओली सरकार विघटनसँगै कार्यदलका सदस्यहरू सक्रिय नै थिए। एकाएक सर्वोच्च अदालतको फैसला अनुसार आइतबार आज बस्ने प्रतिनिधि सभामै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको निर्णयपछि दुवै समूहमा अन्योल बढेको थियो।

एमालेले विपक्षमा मतदान गर्ने निर्णय गरे पनि नेपालपक्षले भने पक्षमा मतदान निर्णय गर्यो। एमाले बैठकले पक्षमा मतदान गर्नेहरू एमाले हुन नसक्ने भन्दै दबाब बढाउन खोजे पनि नेपाल पक्षमा मत दिनेमा अडिग भएका थिए।

नेपाल समूहले पक्षमा मतदान गर्ने पक्का भएपछि रावल राजीनामा दिने निष्कर्षमा पुगे। उनी संसद् सचिवालयमा पुगेर राजीनामा बुझाउन खोजेका थिए। त्यहाँ सम्भव नभएपछि बानेश्वरमा गएर सभामुखको कार्यालयमा पत्र बुझाए।

राजीनामा पत्रमा उनले स्वेच्छाचारी नेतृत्व र विधि विपरीतको गतिविधिमा संलग्न हुन नचाहेको उल्लेख गरेका छन्। उनलाई राजीनामा नबुझाउन नयाँ बानेश्वरमै रहेका नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले रोक्न खोजे पनि उनले पत्रकारसँग कुरा गर्न नरोक्नुस् भन्दै राजीनामा पत्र वाचन गरे र कार्यालय गएर राजीनामा पत्र बुझाएर फर्किए।

सभामुख अग्नि सापकोटाका प्रेस सहयोगी श्रीधर न्यौपानेले रावलको राजीनामा पत्र आएको पुष्टि गरे।

३ साउन, २०७८, १७:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।