प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने 

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने 

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ४ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने भएका छन्।

संघीय संसद सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। 

संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यही व्यवस्था अनुसार देउवाले दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस गर्ने भएका हुन्। 

प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, जनता समाजवादी पार्टी जसपाका १७, राष्ट्रिय जनमोर्चाका १, नेपाल मजदुर किसान पार्टीका १ जना सांसद छन्। २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३६ मत आवश्यक पर्छ। 

प्रधानमन्त्रीमा देउवाको पक्षमा हस्ताक्षर गरेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २३ जना सांसद छन्। तर, उनीहरूले देउवाको विश्वासको मत लिने प्रस्तावको पक्षमा या विपक्षमा मतदान गर्ने निर्णय गरेका छैनन्। एमाले संसदीय दलको बैठकले भने देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। 

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त देउवालाई सांसदहरूले मत दिँदा या नदिँदा दलीय ह्विप नलाग्ने र दलको निर्देशन विपरीत मत दिएको आधारमा कारबाही गर्न नमिल्ने फैसला सर्वोच्च अदालतले गरेको छ। 

३ साउन, २०७८, १०:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।