ओलीको ‘बालुवाटार टु बालकोट यात्रा’

ओलीको ‘बालुवाटार टु बालकोट यात्रा’
तस्बिर : कृष्पा श्रेष्ठ

 

ओलीको तस्बिर भएको उक्त प्ले कार्डमा मानिस झुम्मिएर सेल्फी लिनेको पनि कमी थिएन।  

लामो समयसम्म प्रधानमन्त्री निवासको गेटमा भित्र छिर्न पाइएला कि भनेर कुरिरहेका नेकपाका कार्यकर्ता सुरक्षाकर्मीको आदेश अनुसार कहिले रोडको वारि कुद्थे त कहिले गेटभन्दा पारि।

करिव सवा ११ बजे संचारकर्मी र कार्यकर्तालाई भित्र छिर्न दिइयो। प्रधानमन्त्रीको कार्यालय वरिपरिको माहौल देख्दा लाग्थ्यो, देशमा कोरोना भाइरसको नामो निसान छैन। त्यसो त हिजो (मंगलबार) मात्रै झण्डै २४ सय नेपालीलाई कोरोना भएको छ भने १२ जनाले ज्यान गुमाएका छन्। तर, ओली समर्थकहरू केही मास्कबिना नै बालुवाटार पुगेका थिए भने केहीले मास्क पनि चिउडोमा लगाएका थिए।

ओलीको समर्थनमा भएको यो भेला ओलीले गरेको कुनै राम्रो कामको समर्थनमा भने हैन। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पालना गर्दै प्रधानमन्त्रीको कार्यालय छाडेर बालकोट विदाइ गर्नको लागि थियो।

सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार नै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन्। तर, ओलीले बुधबार ११ बजेपछि मात्रै प्रधानमन्त्री कार्यलय छाडेका हुन्।

प्रधानमन्त्री नियुक्त भएपछि बालकोटमा रहेको निजी निवास छाडेर बालुवाटारमा रहेको सरकारी निवास आएका ओलीले तीन वर्ष ५ महिना बिताए।

‘केपी बा आइलभ यु, राष्ट्रिय एकता जिन्दावाद, नेकपा एमाले जिन्दावाद, अघि बढ केपी ओली हामी तिम्रो साथ छौं’ जस्ता नारा लगाउँदै ओलीका कार्यकर्ताले प्रधानमन्त्री कार्यालयबाट बाहिरिए।

ओली प्रधानमन्त्री कार्यलयबाट बाहिरिँदै गर्दा झरी सुरु भयो। झरीमा रुझ्दै स्थानीय रमीते बनेर हेरिरहेका थिए भने कोही ‘केपी बा आइ लभ यु’ भनेर उनलाई बिदाइको हात हल्लाउँदै थिए।

पार्टी र सरकार दुवै बालुवाटारमै बसेर चलाएका ओलीले सोमबार सरकारी निवास छाड्दा बालुवाटारदेखि बालकोटसम्म एमाले निकट युवाको समूहले स्कर्टिङ गरेका थिए।

सयौंको संख्यामा गाडी र मोटरसाइकलमा सवार ओली समर्थक कार्यकर्ता पानीमा भिज्दै बालुवाटरबाट बालकोट पुगे। बालकोटमा उनलाई घडा र बाजाले स्वागत गरे।

स्थानीयहरू ओलीको समर्थनमा आएको मानिसको भीड देखेर ‘आज त बालकोट न्युरोडभन्दा भिड भयो’ भन्दै थिए।

आफ्नो घरमा पुगेपछि ओली एउटा घरको छतमा गएर बडो सानसँग हात हल्लाएर फेरि अर्को घरको बालकोनीमा आफ्ना नजिकका कार्यकर्तासहित पुगे।

उनी आफ्नो आँगनमा कार्यकर्ताले केपी ओली हाइ हाइ भन्दै नारा लगाउँदै नारा लगाएको दृश्य बडो हर्षित मुद्रामा हेर्दै थिए। उनले कहिले आफ्नो आँगनीमा कार्यकर्ता बाजाको धुनमा उफ्रिएको हेरे त कहिले आफ्नो अगाडि उड्दै गरेको ड्रोनलाई फोटोको लागि पोज दिए।

केही समय कार्यकर्ताको रमाइलो हेरेपछि उनले बाल्कोनीबाट बोल्दै ‘जनादेशबाट हैन परमादेशबाट, अकारण, कुनै गल्ती गरेर हैन, देशको विकाश गरेर, देशलाई अगाडि बढाएर, राष्ट्रलाई एकजुट बनाएर संविधान कार्यान्वयन गराएर काम गर्दा गर्दै अदालतबाट नयाँ प्रधानमन्त्री तोकियो,’ उनले थपे, ‘जनतामा जान नदिएर अदालतबाट गलत तरिकाबाट नयाँ प्रधानमन्त्री तोकियो।’ 

ओलीले आफ्नै पार्टीभित्रका जालीझेलीका कारण पार्टीले सरकार छाड्नुपरेको पनि बताए। उनले आफूलाई प्रधानमन्त्रीबाट हटाएर नेपाली जनताको अधिकार खोसिएको जिकिर गरे।

आफ्नो सरकारले देशको लागि राम्रो काम गरेको देशको अर्थतन्त्रलाई अगाडि बढाएको, कोरोनाले दुनियाँलाई तवाह गर्दा नेपाल भने गरिव देश भए पनि निःशुल्क उपचारको व्यवस्था मिलाएको बताए।

उनले विपक्षी दलका नेतालाई अदालतको परमादेशबाट किस्तीमा सरकार संचालनको जिम्मा दिएकोसमेत आरोप लगाए। उनले सधैं किस्तीमा सरकार पाउनेवाला छैनन् भन्दै थपे, ‘जालझेल एक–दुई पटक चल्ला। धेरै पटक चल्दैन। फेरि बचेर कहाँ जान्छन्। जनताका बीचमा जानै पर्छ।’

आफ्नो सरकारको पालामा आउँदै गरेको खोपको नयाँ सरकारले श्रेय लिन नपाउने समेत जिकिर गरे। लाज नहुनेहरूले नयाँ सरकार बनेपछि खोप आउँछ भनेर हल्ला चलाएका छन् भन्दै उनले थपे, ‘हामीले जुँगा उमारी दिने, ताउ अरुले नै लगाउने।’

उनले काम गर्दा पनि गौरवका साथ गर्ने र मर्न पर्दा पनि शानका साथ मर्ने बताए। ‘हामी गौरवका साथ काम जिउँछौ। शानका साथ काम गर्छौं र मर्न पर्दा पनि शानका साथ मर्छौं,’ उनले भने।

ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले गद्दार गरेकाले पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्। उनले आफ्नो सरकार ढाल्न नेपालले अगुवाइ गरेको बताउँदै आत्मालोचना गरेर आए पनि ठाउँ नदिने बताए।

‘अरूले आत्मालोचना गरेर आए पार्टीमा ठाउँ छ। तर, माधव नेपालको हकमा त्यो सम्भव छैन। नेपालको हकमा गल्ती–कमजोरी स्वीकार गर्ने अनि आत्मालोचना गर्ने कुनै ठाउँ छैन,’ उनले भने। 

ओलीले यसो भनिरहँदा माधव नेपाल मुर्दावादको नारासमेत लागेको थियो। आफ्नै पार्टीका अध्यक्षले पार्टीका वरिष्ठ नेता नेपालबारे आलोचना गर्दा कार्यकर्ता भने नेपाललाई गलहत्याएर पार्टीबाट निकाल्नु पर्छ भनेर चिच्याउनसमेत भ्याए।

करिब १० मिनेट बिना माइक कार्यकर्तालाई सम्बोधन गर्दा उनको आवाज सुक्दै गयो र आफूलाई समर्थन गरेकोमा आफ्नो आँगनीमा आएका कार्यकर्तालाई धन्यवाद दिँदै बोल्न छोडे। 

 

३० असार, २०७८, २२:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।