निषेधाज्ञा खुकुलो भएसँगै रूपन्देहीमा बढ्न थाल्यो कोरोना 

निषेधाज्ञा खुकुलो भएसँगै रूपन्देहीमा बढ्न थाल्यो कोरोना 

बुटवल : निषेधाज्ञा खुकुलो बनाएसँगै रूपन्देहीमा कोरोना भाइरस संक्रमण पुनः बढ्न थालेको छ।

गत जेठ ३१ गतेदेखि निषेधाज्ञा खुकुलो बनाएसँगै रूपन्देहीमा कोरोना संक्रमण बढ्न थालेको हो। सरकारले आर्थिक गतिविधि चलायमान बनाउने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय, रूपन्देहीले गत वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा खुकुलो बनाएको थियो। 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार रूपन्देहीमा हालसम्म (असार २६ गते साँझसम्म) ३ सय ७३ जना सक्रिय संक्रमित छन्। 

पछिल्लो १० दिनयता जिल्लामा सक्रिय संक्रमितको संख्या सयभन्दा धेरैले बढेको कार्यालयले जनाएको छ। पछिल्लो १० दिनमा ३ सय ७४ जनामा कोरोना पुष्टि भएको थियो। 

शनिबार मात्र रूपन्देहीमा ३४ जना नयाँ संक्रमित थपिएका थिए। १ सय ९१ जनामा गरिएको पिसिआर टेस्टमा ३४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय, रूपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहले जानकारी दिए। 

स्वास्थ्य कार्यालयका अनुसार यही असार १६ गते ४४ जनामा कोरोना पुष्टि भएको थियो। १७ गते ३८, १८ गते ४५, १९ गते ३१, २० गते १८, २१ गते २८, २२ गते ३३, २३ गते ४२, २४ गते ४७, २५ गते १४ र २६ गते ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रतिदिन थपिने संक्रमितको संख्या बढ्दै गएका कारण निको हुनेभन्दा संक्रमितको संख्या बढी रहेको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

रूपन्देहीमा गत बिहीबार (असार २४) संक्रमण पुष्टि भएकाको संख्या असारयताकै सबैभन्दा बढी हो। उक्त दिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको अघिल्लो दिन जिल्लामा ४२ जना संक्रमित थपिएका थिए।  

पछिल्लो समय थपिएका संक्रमितमध्ये सबैभन्दा बढी शहरी क्षेत्र (बुटवल, भैरहवा, तिलोत्तमा, देवदह लगायत)का रहेको कार्यालयले जनाएको छ। तीमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरभित्रका छन्। त्यसपछि तिलोत्तमा नगरपालिका, सिद्धार्थ नगरपालिका र देवदहका रहेको कार्यालयले जनाएको छ। 

हालसम्म रूपन्देहीमा कोरोना संक्रमितको संख्या २८ हजार ५ सय ४५ पुगेको छ। कोरोना संक्रमणका कारण हालसम्म जिल्लामा ५ सय ४ जनाको मृत्यु भएको छ। 

नाम मात्रको निषेधाज्ञा  

स्थानीय प्रशासनले असार ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी राखेको छ। 

सरकारले आर्थिक चलायमान बनाउनका लागि निषेधाज्ञा खुकुलो बनाएको बताए पनि कर उठाउने अभिप्राय रहेको जानकारको बुझाइ छ। 

खुकुलो बनाइएको निषेधाज्ञामा केही व्यवसायलाई सञ्चालनको अनुमति दिइएको छ। केहीलाई भने अझै निषेध गरिएको छ। तर, निषेध गरिएका व्यवसाय पनि निर्वाधरूपमा चलिरहेका छन्। रूपन्देहीमा सञ्चालनमा रोक लगाइएकामध्ये होटल, रेस्टुरेन्ट, सैलुन, कतिपय जिम हाउस निर्वाधरूपमा सञ्चालनमा छन्। 

यही असार ८ गतेदेखि निजी सवारी साधन र १५ गतेबाट सार्वजनिक सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ। तर, त्यसको उल्लंघन गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्यनारायण थापाले निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधन पनि बढी मात्रामा सञ्चालनमा आएको उल्लेख गरे। उनले जोर–बिजोर प्रणाली कार्यान्वयनका लागि प्रहरीले ठाउँठाउँमा चेकजाँचसमेत गरिरहेको बताए। 

‘सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली कार्यान्वयन भएको छ। निजीमा लागू भएको छैन। निजी सवारी चलाउने चालकले विभिन्न समस्या र बाध्यता बताउँदै सवारी चलाउने गरेका छन्,’ उनले भने।   

चेकजाँचका क्रममा निकै जरुरी काम भएकालाई छोड्ने गरेको र बाँकीलाई केही बेर नियन्त्रणमा राख्ने गरिएको डिएसपी थापाले बताए।

सरकारबाटै निषेधाज्ञा अवज्ञा

प्रदेश र स्थानीय सरकारबाटै निषेधाज्ञा अवज्ञा गरिएको पाइएको छ। स्थानीय निकायले गरेका अन्तरक्रिया, गोष्ठी, छलफललगायतमा सामान्य सुरक्षाका मापदण्ड पनि पालना भएको देखिँदैन। 

स्थानीय सरकारले मात्रै होइन, लुम्बिनी प्रदेश सरकारले पनि निषेधाज्ञाको अवज्ञा गरेको पाइएको छ। 

यही असार १४ मा लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले बाजागाजा सहितको कार्यक्रम गर्दै एक घण्टामा एकै स्थानमा २० हजार रुखबिरूवा रोपेको थियो। जसमा मुख्यमन्त्री पोखरेल, वातावरणमन्त्री कल्पना पाण्डेसँगै सांसद, कर्मचारी, दलका नेता–कार्यकर्ता र स्थानीय सहभागी थिए।

त्यति मात्रै होइन, निषेधाज्ञा अवज्ञा गर्नेमा सामाजिक संघसंस्था पनि छन्। संघसंस्थाले भीड जम्मा गरेर कार्यक्रम सञ्चालन गर्ने गरेको पाइएको छ। 

भरिन थाले अस्पताल 

रूपन्देहीमा कोरोना संक्रमित बढेसँगै अस्पतालमा संक्रमितको संख्या बढ्न थालेको छ। 

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षण गराउने र संक्रमण पुष्टि भएपछि उपचारका लागि बिरामी भर्ना हुने क्रम बढेको अस्पतालले जनाएका छन्। 

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेको छ। लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले निषेधाज्ञा खुकुलो भएसँगै अस्पतालमा कोरोना संक्रमण पुष्टि भएका बिरामीको संख्या बढ्दै गएको बताए। उनका अनुसार पछिल्लो समय संक्रमित भएर उपचारमा गएका विभिन्न पसलका व्यापारी छन्। 

निषेधाज्ञा खुकुलो भएर बजार खुल्दा तथा व्यापारी र उपभोक्ताले स्वास्थ्य मापदण्ड पालना नगरेका कारण एक आपसमा संक्रमण फैलिएको हुन सक्ने डा. पाठकको भनाइ छ।

‘जो जसले पसल खोल्नुभएको छ, उहाँहरूमा अहिले कोभिड देखिइरहेको छ। गत चैतमा ( दोस्रो लहरको सुरुवातमा) पनि व्यापारीमा कोभिड संक्रमणदर बढी देखिएको थियो,’ उनले भने, ‘पसलको माध्यमबाट उनीहरूको परिवार र ग्राहकमा संक्रमण फैलिँदै छ, फेरि पहिलेकै अवस्थामा फैलिने हो कि भन्ने चिन्ता बढेर गएको छ।’ 

२७ असार, २०७८, १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।