हिजोका कुरा : नेवारी बाजा मन पराउने डिजे राजु पश्चिमा संस्कृतिमा कसरी मोडिए ?

हिजोका कुरा : नेवारी बाजा मन पराउने डिजे राजु पश्चिमा संस्कृतिमा कसरी मोडिए ?

काठमाडौं, जहाँ दिन-दिनैजसो जात्रा-पर्व भइरहन्छ। हरेक दिन केही न केही सांस्कृतिक पर्वको अवसर जुरिरहन्छ काठमाडौंमा।

डिस्को जक्कीको रुपमा परिचय बनाएका डिजे राजु अर्थात् राजु सिंहको जन्म पनि जात्रा-पर्व भइरहने टोल ओमबहालमा भयो। नेवारी जात्रा, पर्व, बाजाहरुका बीचमा बाल्यकाल बित्यो राजुको।

उनको घरमा टोलको गुठीका बाजाहरु सिकाइन्थ्यो। उनका बाजे-बुबाले टोलबासीलाई धिमे, खिं, नायो खिं, धाः दमाहाः, ढल्को, डफली, डमोखीं, पश्चिमा, नगडाः, पोंचा खिं आदि सिकाउँथे।

राजुलाई धिमेको आवाजले तान्यो। उनी ४/५ वर्षकै उमेरमा राजु छिमेकीहरुसँग धिमे सिक्न बस्थे। बाल्यकालमै धिमे र पोङ्खा बजाउन सिके। त्यहाँ सिक्नेहरुले विभिन्न पर्व, जात्राको समयमा बजाउन पाउँथे। तर राजुले धिमे बोक्न नसक्दा बजाउन भने पाएनन्। बजाउनेको बीचमा बस्दै मुखले भए पनि धिमेको स्वर निकाल्दै नगर परिक्रमा गर्थे राजु।

६ वर्षका बालक थिए उनी। तैपनि, नेवारी बाजा र संगीतले तानिरहेको थियो, नपत्याउने गरी। उनको त्यतिबेलाको सपना भनेकै एक दिन धिमे बजाएर टोलटोल परिक्रमा गर्ने थियो।  

तर, राजुको त्यो सपना कहिल्यै पूरा भएन। नेवारी संस्कृति, बाजा र संगीतप्रति लगाव भएका राजुले युवा अवस्थामा रक जारालाई आत्मसात गरे। सायद उनले बाल्यकाल र युवा अवस्था ओमबहाल टोलमै बिताउन पाएको भए धिमे बजाउने, सिकाउने र नेवारी बाजा र संगीत क्षेत्रमा संलग्न हुन्थे होला।

०००
राजुलाई कक्षा ३ देखि घर-परिवारबाट छुटाएर आनन्दकुटी होस्टेलमा राखियो। १/२ कक्षा पढ्ने बेलादेखि एकदम बदमास हुँदै गएपछि उनलाई होस्टेल पठाइएको थियो।

छिमेकीको झ्यालको सिसा फुटाइदिने, साथीभाइसँग झैझगडा गर्ने, घरमा नभनी टाढासम्म माछा मार्न जान्थे उनी। यसरी छोड्यो भने बिग्रन्छ भनेर एक्लो छोरालाई होस्टेलमा राखिदिएका थिए परिवारले।

हुन पनि होस्टेलमा बस्न थालेपछि उनको बदमास छवि सुध्रियो। सोझो, कम बोल्ने र ज्ञानी बने। साथी-संगत र वातावरणले उनमा पहिलाको धिमे, नेवारी बाजाहरुप्रतिको क्रेजीनेस घट्दै गयो। तर संगीतको मोह भने झनै बढ्यो।

राजुले होस्टेलमा साथीहरुसँग मिलेर ‘र्याच चाइल्ड’ नामक ब्याण्ड स्थापना गरे। स्कुलका कार्यक्रमहरुमा सांगीतिक प्रस्तुति दिन्थे र फुर्सद भयो की गीत गाउने अभ्यास गर्थे उनी।

ब्याण्डमा राजु ड्रमर थिए। एसएलसीपछि होस्टेलबाट बाहिर निस्किएपछि उनीहरुको ब्याण्डले निरन्तरता पायो। १६ वर्षकै उमेरमा उनीहरु अन्नपूर्ण र याक एण्ड यति होटलको क्यासिनोमा हप्तामा ३ दिन बजाउन जान्थे।

रक ब्याण्डको रुपमा ३ वर्ष क्यासिनोमा काम गरिसकेपछि ब्याण्डका ४ जना जर्मनी पुगे। त्यतिबेला जर्मनीको भिसा फ्रि थियो। जर्मनीमा गएपछि राजुले डिजे सिके। डिजे सिक्ने प्लान भने थिएन। तर उनलाई स्क्र्याच गर्न साह्रै मन पर्ने। त्यसैले ६ महिनाको डिजे कोर्ष गरे।

जर्मनीमा कमाएको पैसाले ४ जना मिलेर टेकुमा लाइभ म्युजिक राखेर ग्राभिटी रेस्टुरेन्ट खोले। अनुभव नभएकाले रेस्टुरेन्ट व्यवसाय फ्लप भयो। त्यसपछि उनका ३ जना साथीहरु पुनः जर्मनी नै गए। तर राजुलाई जर्मनी जान मन लागेन, यतै बसे।

अब करिअर छानेर अघि बढ्नु पर्छ भन्ने सोचले डिजिङतिर उनको मन गयो।

०००
त्यो बेला काठमाडौंभरि जम्मा ३ वटा डिस्को थिए। ठमेलमा जोली ब्लुज, हेरिटेज प्लाजामा मुनसन ब्लुज, एभरेष्ट होटल ग्यालेक्सी डिस्को। राजुले जोली ब्लुजमा डिजेको रुपमा करिअर सुरु गरे। त्यो समय डिस्को जाने संस्कृतिलाई समाजमा नराम्रो दृष्टिले हेरिन्थ्यो। डिस्कोमा आउनेहरु विदेशमा बसेर आएका र विदेशीहरु मात्रै हुन्थे।

राजुभन्दा अगाडि दुई जना डिजे थिए। तर उनलाई सांगीतिक पृष्ठभूमिबाट आएकोले छुट्टै नाम पाउन सजिलो भयो। उनीसँग डिजे गर्ने डिजे तेन्जिङ अमेरिकामा छन् भने डिजे निल क्यानडामा।

रक ब्याण्डबाट आएका राजुलाई सुरुमा डिजेको रुपमा काम गर्न गाह्रै भयो। त्यतिबेला डिस्कोमा हिपहप र टेक्नो म्युजिकको बोलवाला थियो। गीत छान्न बढी नै समय लाग्थ्यो। २ महिना जति पछि  हिपहप संगीतलाई पनि बुझ्दै गए र सजिलो हुन थाल्यो।

सन् १९९४ मा दिपक मनाङेले सञ्चालन गरेको क्बल डाइनेस्टीमा डिजेको रुपमा काम गर्न थाले राजु। अहिले जस्तो सजिलो टेक्नोलोजी थिएन। खोजेका सिडीहरु नपाउने, एउटा गीत डाउनलोड गर्न पनि हप्ता दिन लाग्ने। इन्टरनेट एकदमै स्लो थियो। डायल लप नेटवर्कबाट डाउनलोड गर्नुपर्थ्यो। सिडीहरु १५ सयदेखि २५ सयसम्म पर्थ्यो।

यस्तो अवस्थामा डिजेका लागि चुनौती धेरै थिए। वर्ल्ड ट्रेन्ड अनुसार गीतहरु बजाउनु पर्दा एमटिभीको किरो नै भए राजु। एमटिभी नै एउटा माध्यम बन्यो। उनले कति पटक त टिभीको आउटपुटबाट क्यासेटमा भरेर कम्प्युटरमा लगेर सिडी बनाएका छन्। त्यसरी गर्दा क्वालिटी नभए पनि काम चलाउ चाहिँ हुन्थ्यो।

यसरी टिभीको गीतलाई विभिन्न माध्यम लगाएर डिस्कोमा बजाउँदा विदेशीहरु भर्खर रिलिज भएको गीत यहाँ कसरी आयो भनेर छक्क पर्थे।

सन् १९९८ तिर काठमाडौंमा डिस्को बढ्न थाले। सन् २००० त काठमाडौंका डिस्कोका लागि गोल्डेन समय नै भयो। १० वर्ष दिपक मनाङेको डिस्कोमा काम गरेर होटल हायातको रक्स बारमा डिजेको रुपमा काम गरे उनले।

०००
नेपालमा डिजेहरु जन्मनुपर्छ भन्ने मान्यताले तत्कालीन युवा नेता गगन थापा, सुवोध आचार्य र राजु सिंह मिलेर बुम इन्टरनेसनल खोले। त्यहाँबाट ६ सय जना डिजे उत्पादन भए। ‘पछि टेक्नोलोजीले गर्दा डिजे बन्न सजिलो हुँदै गयो। बटन थिच्नासाथ डिजे भइहाल्यो,’ राजु भन्छन्, ‘एमपिथ्रीको जमाना आएपछि भने यसको क्रेजमा कमी आएको देखियो।’

नेपालमा डिजेलाई सेलिब्रेटीको रुपमा हेर्ने परिपाटी डिजे राजुबाटै बस्यो। उनले ‘च्याङ्बा’ गीत रिलिज गरेपछि आमनेपालीमाझ डिजेलाई हेर्ने नजरिया नै फरक भयो। उनले डिजे राजु रिमिक्स १.० र २.० एल्बम बजारमा ल्याए।

डिस्कोमा हिन्दी गीतहरु बज्दैनथे, बरु नेपाली गीत बज्थे। फर्माइसका गीतहरु पनि बजाउनुपर्थ्यो। डिस्कोको क्राउडलाई हेरेर गीत-संगीत रोज्नुपर्ने चुनौती डिजेलाई हुन्थ्यो। क्राउडलाई बुझ्न नसक्दा झगडा र होहल्ला बढी हुन्थ्यो। नसुनेको गीत बजाउँदा त फ्लोर नै खाली समेत हुन्थ्यो।

डिजे गर्दागर्दै एनिमेसन क्लास पनि लिएका थिए उनले। त्यसैको लागि घरमा कम्प्युटर पनि किनेका थिए। इन्टरनेट निकै स्लो हुँदा कम्प्युटरमा एनिमेसन गरेर दुई, तीन दिन छोड्नुपर्थ्यो। पछि दिक्क लागेर त्यो काम छोडे। ‘मलाई इलेक्ट्रिक ग्याजेट, नयाँ टेक्नोलोजीसँग खेल्न मन पर्छ। त्यसैले अहिले पनि नयाँ आएका टेक्नोलोजीसँग नजिकिँदै सिक्दै छु,’ उनी भन्छन्।

०००
सन् २००० तिर राति आउन नमिल्नेहरुका लागि डे डिस्को खोले राजुले। दिउँसो २ बजेदेखि ६ बजेसम्म शुक्रबारदेखि आइतबारसम्म चल्थ्यो सो डिस्को। पछि बिहानी डिस्को पनि खोल्न थालेपछि बिहान र दिउँसोको दुवै डिस्को बन्द गराइयो।

डिस्कोमा काम गर्दा सबैभन्दा डर भनेकै पुलिस प्रशासनको हुन्थ्यो। डिस्को कानुनी रुपमा स्वीकृत नहुँदा समझदारीले मात्रै चलाउन दिइएको हुन्थ्यो।

राम्रो गीत बजाउँछ भनेर डिजे राजुले काम गर्ने डिस्कोमा तत्कालीन रोयल फेमिलीका सदस्यहरु पनि आउँथे। तत्कालीन युवराज दीपेन्द्र सधैंजस्तो आउँथे उनको डिस्कोमा। ‘दीपेन्द्र पहिल्यै खबर गरेर वा मान्छे नभएको समय पारेर आउँथे,’ उनले राजुले भने, ‘दीपेन्द्र धेरैजसो आफ्ना दिदीबहिनी र साथीभाइहरुसँग आउँथे।’

उनले काम गर्दा डिजे बक्सभरि टिप्समा आएका रक्सी, बियर टन्नै हुन्थ्यो। कार्यक्रम सकेपछि काम गर्नेहरुलाई बाँड्दै जान्थे। एक पटक एक जना अरबियनले हरेक गीतसँगै २०/२० डलर पठाइदिएका थिए। त्यही एक जनाबाट मात्रै ३ सय डलर टिप्स पाएको उनलाई अझै सम्झना छ। हुन पनि डिस्कोमा तलबभन्दा टिप्स नै बढी हुन्थ्यो।

डे डिस्को खोल्दा राजुको दिनचर्या यति व्यस्त हुन्थ्यो कि सुत्ने समय पनि हुँदैनथ्यो। सन् २००२ मा इन्डियन डिजेहरुले ‘वार अफ डिजे’ प्रतियोगिता आयोजना गर्दा राजु प्रथम भए। उनले दिल्लीमा डिजेको रुपमा काम पनि गरेका थिए। तर उनलाई त्यहाँको डिस्कोभन्दा यतै रमाइलो लाग्यो र यतै फर्के।

राजुले डिजेको रुपमा काम गर्दा जे गीत छ, त्यसमा एकपछि अर्को गीत मिक्सिङ मात्रै गर्न मिल्थ्यो। तर अहिले भोकल मात्रै पनि पाइन्छ। डिजिङकै लागि आकापेला बनाएको हुन्छ। जहाँ आफ्नै विटमा बजाउन सकिन्छ। गाना नै परक टेस्टमा दिन सकिन्छ। यसले डिजे अनुसार बिट र संगीत नै फरक हुने भयो। यस पक्षलाई राजुले सकरात्मक रुपमा लिएका छन्।

‘पहिले हेडफोन राखेर क्यु खोज्नुपर्थ्यो तर अहिले त्यो पर्दैन,’ उनी भन्छन्, ‘पहिला बिट मिक्सिङ गर्न नै गाह्रो थियो। अहिले एउटा बटन थिच्दा गाना नै मिक्स हुन्छ। तर यसरी गाना नै मिक्स भए पनि ट्यालेन्टेड डिजे छ भने फरक तरिकाले परिवर्तन पनि गर्न सकिन्छ।’

अहिले एबीसीडी नै नपढी अंग्रेजी बोल्ने जस्ता डिजेको बाहुल्यता बढेकोमा भने उनको चित्त दुखाइ छ। ‘सिकेर, बुझेर आउँदा परफेक्ट हुन्छ। टेक्नोलोजीकै भरमा बटन मात्रै थिचेर गीत बजाउनुलाई डिजे भन्ने कि नभन्ने?,’ उनी प्रश्न गर्छन्।

अस्ट्रेलियामा डिजे सम्बन्धी अध्ययन गरेर आएका राजुसँग डिजेकै रुपमा जर्मनी, बेल्जियम, फ्रान्स, हल्यान्ड, डेनमार्क, पोर्चुगल, स्पेन, स्विडेन, हङकङ, बेलायतमा प्रस्तुति दिन गएको अनुभव पनि छ। उनी अहिले धिमे र टेक्नो म्युजिकमा काम गर्दै छन्।

१७ असार, २०७८, १६:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।