कांग्रेसमा कोइराला, निधी र सिंहको सक्रियता : देउवा–पौडेल तर्साउन कि विरासत फर्काउन ? 

कांग्रेसमा कोइराला, निधी र सिंहको सक्रियता : देउवा–पौडेल तर्साउन कि विरासत फर्काउन ? 

काठमाडौं : भदौ १९ लाई नेपाली कांग्रेसले १४ औँ महाअधिवेशनको अन्तिम मिति तय गरेको छ। कांग्रेसलाई यो समयभित्र जसरी पनि वैधानिकता जोगाउने चुनौती छ। 

कतै कुनै बहानामा फेरि महाधिवेशनको मिति सर्ने त हैन भन्ने आशंका नभएको हैन। तर यही आशंकाबीच नेतृत्वमा पुग्न आंकाक्षीहरू मोर्चा बनाउन कस्सिसकेका छन्।

कांग्रेसको नेतृत्वमा देखिदै आएको तीन समूह हो, वर्तमान सभापति शेरबहादुर देउवा समूह, संस्थापन भनिने रामचन्द्र पौडेल र शशांक कोइराला समूह र तेस्रो धार भनिएको कृष्ण सिटौला समूह।

१३ औँ महाधिवेशनमा यी तीन समूहबीच प्रतिष्पर्धा चल्दा देउवाको पोल्टामा नेतृत्व पुग्यो। तर १४ औँ महाधिवेशनमा १३ औँ को समूह नै कायम हुने सम्भावना कम छ।

नेतृत्वका लागि सभापति शेरबहादुर देउवाले दाेहोरिने चाहना राखिसकेका छन्। १३ औँ महाअधिवेशनमा सभापतिमा पराजित वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मैदानमा छाड्ने मुडमा छैनन्। 

यसबाहेक देउवा समूहका उपसभापति विमलेन्द्र निधि, संस्थापन समूहका महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह अनि केन्द्रीय सदस्य शेखर कोइरालाले पनि नेतृत्वमा दाबी गरिरहेका छन्। यसबाहेक सुजाता कोइराला, रामशरण महत र अर्जुननरसिंह केसीले पनि आकांक्षा देखाएका छन्।  

युवा नेता कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तर उनको तयारी हेर्दा नेतृत्वमा हस्तक्षेप गर्नसक्ने अवस्था देखिइसकेको छैन। न त नीति नै नयाँ ल्याउन सकेका छन् उनले।

पछिल्लो समय आकांक्षीमध्ये कांग्रेसका तीन संस्थापक बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधीका सन्तान अलि बढी नै सक्रिय देखिएका छन् नेतृत्वको छलफलमा।

यसले यस अगाडि बनेका कांग्रेसका समूह भत्किएर नयाँ समूहको जन्म हुने सम्भावना बढाएको छ। तर तीनै जना सभापतिका आकांक्षी भएकाले उनीहरूबीच सहमति कसरी हुन्छ ? प्रश्न टन्नै छन्।

देउवा र पौडेललाई तर्साउन कि विरासत फर्काउन? 

कोइराला, सिंह र निधी का‌ग्रेसमा पुस्तौनी विरासत बोकेका नेता हुन्। कोइराला बिपी कोइरालाका छोरा हुन्। जसको का‌ग्रेसका अलग्गै प्रभाव छ। सिंह गणेशमान सिंहका छोरा हुन् अनि निधी महेन्द्रनारायण निधीका छोरा।

यी तीनमध्ये कोइराला र सिंह एकै समूहका नेता हुन्। निधी भने देउवा समूहमा सक्रिय थिए। देउवाले सभापतिमा समर्थन नगरेपछि उनी विद्रोहको मुडमा छन्। 

राजनीतिक विश्लेषक तथा प्राध्यापक डा. लोकराज बराल यी तिनको सुरुवाती सक्रियतालाई कांगेसमा नेतृत्व परिवर्तन चाहेको संकेतको रूपमा लिन्छन्। सुरुवाती संकेतले उनीहरू विरासत फर्काउन र देउवाको विपक्षमा माहोल बनाउन लागिपरेको देखिएको विश्लेषक बरालको भनाइ छ। 

‘भर्खर कुराकानी सुरु भएको छ। सुरुवाती संकेतले शेरबहादुरको नेतृत्व धेरै लामो भयो। उहाँको ठाउँमा नयाँ दिउँ भनेर नै एक ठाउँमा उभिएको देखिन्छ,’ उनले उकेरासँग भने,‘तीनै जनाले आफूलाई सभापतिको उम्मेदवार भनेका छन्। कुरा मिलेको छैन। तीनै जना कांग्रेस नेताका छोरा हुन्। उनीहरुको कुरा मिल्नुपर्याे पहिला। अनि यसै हो भन्न सकिन्छ।’

बराल कांग्रेसमा धेरैले उम्मेदवार बन्ने आकांक्षा राख्नुलाई अन्यथा मान्न नहुने बताउँछन्। पुरानो र लोकतान्त्रिक पार्टी भएकाले यो सामान्य भएको उनी बताउँछन्।

‘सुरुमा उम्मेदवार हुन खोज्नेहरु हुन्छन्। कम्युनिष्ट पार्टी जस्तो होइन। उनीहरू आफूआफू मिलेर शेरबहादुरलाई कसरी रोक्ने भन्ने योजनामा रहेको देखिन्छ,’ उनी भन्छन्,‘रामचन्द्र पौडेलसँग कुरा मिलाउनुपर्याे। अनि कुरा अलि क्लियर हुन्छ। अहिलेलाई त भर्खर कुराकानी सुरु भएको देखिन्छ।’

विश्लेषक बराल पुरानो नेतृत्वको विकल्प दिने हो भने उनीहरू मिलिसकेको अवस्थामा मात्र सम्भव हुने बताउँछन्। यदि यी तीन नेताबीच सहमति हुन नसकेमा वर्तमान सभापति देउवालाई नै सहज हुने उनको मत छ।

यी तीन जनाबीच पटक पटक छलफल भए पनि नीतिको आधारमा एक हुने हो कि नेताको रूपमा भने अझै प्रष्ट भएको छैन।

उनीहरूबीचकाे मिलन कांग्रेसका प्रभावशाली तीन नेताको सन्तानको रूपमा विरासतको आधारमा नेतृत्वमा दाबी गर्ने तयारी हो या देउवाको विकल्पमा नयाँ नीतिसहित एक हुन खोजेका हुन् भन्ने पनि प्रष्ट भइसकेको छैन।

यी तीन एक भएको अवस्थामा संस्थापन समूहका अभिभावक पौडेल, सभापतिका आकांक्षी शेखरको भूमिका के हुने त्यो निर्णय भएमा थप सहज हुन सक्छ। तर जे भए पनि यी तीन नेता एकै थलोमा भेट गरेर छलफल गर्दा कांग्रेसमा नयाँ तरंग भने आएको छ। 

‘उनीहरू मिलेको अवस्थामा विकल्पको रूपमा कोही नयाँ आउन सक्छन्। उनीहरूमा पनि फुट आएको अवस्थामा भने देउवालाई नै सहज हुन्छ,’ उनको विश्लेषण छ,‘रामचन्द्रजी एक्लै हुनुहुन्छ। उहाँ पनि सिनियर मान्छे। शेखर कोइराला पनि पहिलेदेखि लागिरहनुभएको छ। यो अवस्थामा रामचन्द्र बाहेकका बीच पनि कुरा मिल्नुपर्याे। एकजना कसलाई उम्मेदवार उठाउने भन्ने निर्णय हुनुपर्याे।’

होला नेतृत्व पुस्तान्तरण? 

कांग्रेसमा दोस्रो तहका नेताहरू देउवा र पौडेलबाट पार्टी चल्दैन भन्ने निष्कर्षमा पुगेका छन्। नयाँ पुस्ता अनि नयाँ नेतृत्वबारे उनीहरू प्रष्ट छैनन्। 

कांग्रेस केन्द्रीय सदस्य तथा यूवा नेता धनराज गुरुङ १४ औँ महाअधिवेशनले कांगेसले नयाँ पुस्ताको नेतृत्व पाउने विश्वासमा छन्। उनी कांग्रेसका धेरै नेताहरू परिवर्तनकै पक्षमा देखिएको बताउँछन्। 

‘धेरैभन्दा धेरै साथीहरूले परिवर्तनकै कुरा गरिरहनुभएको छ। भलै उहाँहरूले नेताहरुको अगाडि मुख खोल्न सक्नुभएको छैन होला। तर, हामीसँग छलफल हुँदा नेतृत्व पुस्तान्तरणकै कुरा उठिरहेको छ अहिले,’ उनी भन्छन्, ‘हाम्रो तहभन्दा एक तह माथि महाधिवेशनबाट नेतृत्व आओस् भन्ने हाम्रो चाहना छ। हामी छलफलमा छौँ। चौधौँ महाअधिवेशनबाट नेतृत्व परिवर्तन हुन्छ र सँगै पुस्तान्तरण पनि हुन्छ। यो समयको माग हो।’ 

हालसम्मका नेतृत्वको योगदानलाई सम्मान गर्दै पहिलो पुस्ताका नेताहरूलाई ससम्मान सम्मानित पदमा राख्ने र कार्यकारीको भारी नबोकाउने गरी १४ औँ महाधिवेशनले नेतृत्व चयन गर्ने विश्वास उनको छ। 

‘पुराना पुस्ताका नेताहरू महाधिवेशनमा उठ्ने पाउनुहुन्न भन्न त मिलेन। उहाँहरूलाई सम्मानित पदमा रहनुस्, बस्नुस् भन्ने विनम्र अनुरोध हो। उहाँहरू सकेसम्म नउठ्दा राम्रो। उठिहाल्नुभएको अवस्थामा अब धेरै दु:ख नदिने गरेर नै महाधिवेशन प्रतिनिधिहरूले निर्णय गर्नुहुन्छ।’ 

उनी विकल्पका लागि तीन नेताको छलफललाई सकारात्मक लिन्छन्। ‘एउटा मुद्दा त मिल्यो नि हामी पार्टीको रूपान्तरणका लागि पुस्तान्तरण भन्यौँ । उहाँहरूको छलफल पनि त्यहिँनेर छ। उहाँहरूले भनेको पनि नेतृत्व पुस्तान्तरण पनि हो,’ गुरुङले उकेरासँग भने,‘उहाँहरूले दुई तीन जना नेताले जेसुकै गरोस् त भन्न खोज्नुभएको होइन। तपाईंहरूलाई पुग्यो अब हामीलाई छाड्नुस् भनेको त राम्रै हो। मुद्दा हामीसँगै मिल्यो। त्यसकारण हामीले उठाएको मुद्दामा उहाँहरूको भेटघाटले सघाउ नै पुगेको छ। 

तीन जनाबीचको सहमतिमै समस्या

तीनै नेता एकै थलोमा भेट गरेर नेतृत्वबारे छलफल त गरिरहेका छन्। तर तीनै जनाबीच ठूलो समस्या देखिन्छ। 

पहिलो त तीनै जना नेतृत्वका दाबेदार हुन्। तर पार्टीमा त एक जना न सभापति हुने हो। त्यसमा कसलाई स्वीकार्ने त्यो गाँठो नै कसिलो देखिन्छ।

अहिलेको अवस्थामा महामन्त्री शशांक पद र विरासत दुवै कोणबाट बलियो अवस्थामा छन्। बिपी पुत्र हुनु उनको सबैभन्दा ठूलो ब्राण्ड भए पनि नीतिमा भने उनी कमजोर छन्। महामन्त्रीको रूपमा उनको भूमिका त्यत्ति सन्तोषजनक देखिएन।

सिंह राष्ट्रियभन्दा क्षेत्रीय राजनीतिमा बढी रमाउने नेताको रूपमा परिचित छन्। उनको जे छ यही काठमाडौँमा छ। बाबुको विरासतमा पाएको राजनीतिलाई उनले भुगोल फराकिलो बनाउन सकेका छैनन्।

निधीकाे छवि राष्ट्रियभन्दा क्षेत्रीय हावी छ। महेन्द्रनारायणको छोराको रूपमा उनले आफ्नो प्रभावलाई अन्य भुगोलमा फैलाउन सकेका छैनन्। महन्थ ठाकुरले पार्टी बदल्नु अनि रामवरण यादव राष्ट्रपति हुनुले उनलाई मधेसमा कांग्रेसको बलियो नेताको रूपमा स्थापित हुने अवसर त दियो। तर त्यसको सद्पयोग गर्न सकेनन्।

मधेसमै उनी कमजोर छन्। उनको संगठनको अवस्था कस्तो छ भन्ने त गत निर्वाचनमै देखाइहाल्यो। लामो समय देउवा समूहमा रहेर काम गरेका उनले देउवा समूहभित्रै आफ्नो प्रभाव विस्तार गर्नसमेत सकेको देखिएन। सत्तामा रहँदाको प्रहरी प्रमुख नियुक्तिमा उनले लिएको विवादित लाइन लगायतका गतिविधिले पनि उनको राजनीतिक उचाइ केही छिमलेको थियो नै।

अर्को समस्या यी तीन जनाले एकले अर्कालाई भावी नेतृत्व स्वीकार गरे पनि उनीहरू संलग्न समूहले स्वीकार गर्ने जोखिम कम छ। यसमा सबैभन्दा सहज सशांकलाई देखिन्छ भने सिंह पनि सुरक्षित जोनमै छन्। तर देउवासँग विद्रोह गरेका निधीका लागि छोटो समयमा आफ्नो अलग्गै समूह बनाउने चुनौती छ। डेढ महिनामा प्रभावशाली नयाँ समूहको गठन त्यत्ति सहज पक्कै हुन्न।

अब निधी र देउवा एकै ठाउँमा हुने सम्भावना देखिन्न। तर उनले देउवा समूह भत्काउँछन् या आफूमात्र बाहिरिने हुन् त्यो पनि प्रष्ट छैन।
दोस्रो यी तीन नेता एक भएको अवस्थामा संस्थापन, देउवा र सिटौला समूहपछिको चौथो समूहको जन्म हुने हो या कुनै समूह विलय हुने हो त्यो पनि प्रष्ट देखिदैन।

यी तीन एक भएको अवस्थामा संस्थापन समूह एक हुने सम्भावना पनि कम देखिन्छ। शेखरको भूमिका के हुन्छ खुलेको छैन। सुजाता कोइरालाको भूमिकाले नै यी तीनको एकतामा पक्का प्रभाव पर्छ नै।

देउवा समूहबाहिर रहेका गगन थापा, प्रदीप पौडेल, धनराज गुरुङहरूले यो समूहलाई कुनरूपमा साथ दिन्छन् भन्ने पनि अर्को महत्त्वपूर्ण पक्ष हो। 

बिपी कोइरालाको कांग्रेस बनाउने अबसर 

कांग्रेसका पूर्वप्रमुख सचेतक तथा पूर्वमन्त्री लक्ष्मण घिमिरे १४ औँ महाअधिवेशन कांग्रेसलाई पुनर्जिवित गर्ने अवसरको रूपमा आएको बताउँछन्। यो अवस्थामा तीन नेता लगायतले नेतृत्वको विकल्पका लागि थालेको प्रयास सकारात्मक भएको उनलाई लाग्छ। 

‘कांग्रेसलाई पुनर्जिवित गर्न बिपी कोइरालाले स्थापना गर्नु भएको नेपाली कांग्रेसलाई बिपीकै सिद्धान्तमा अडिग राख्न अब गर्नुपर्ने दुई वटा कुरा छन्,’ उनी भन्छन्, ‘एउटा १२ बुँदेबाट भएको गल्तीलाई कोर्स करेक्सन गर्नेतर्फ जानुपर्याे। दोस्रो अहिलेका पदाधिकारी र पूर्व पदाधिकारीबाट नेतृत्व (सभापति) आउनु हुँदैन। नयाँ नेतृत्व अगाडि आउनुपर्याे।’

पहिचानहीन अवस्थामा पुगेको कांग्रेसलाई डोहोर्याउन पनि नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको उनी बताउँछन्। यसका लागि १४ औँ महाधिवेशनले महत्त्वपूर्ण अर्थ राख्ने उनको भनाइ छ।  

‘कांग्रेस र कम्युनिस्टमा के-के फरक छ भन्ने कुरा देखाउन सक्नुपर्याे कांग्रेसले। अहिले त देशमा कांग्रेसलाई भाइ कम्युनिस्ट भन्न थालिसके। हामी र कम्युनिस्टमा के-के फरक छ भन्ने सैद्धान्तिक रूपमा त्यो कुरा आउनुपर्याे,’ उनले उकेरासँग भने, ‘१२ बुँदेबाट सुरु भएको देश यो अवस्थामा छ त्यसलाई कोर्स करेक्सन गर्नुपर्याे। नयाँ  शिराबाट नेतृत्व आउनुपर्याे। जसले देशभरका कार्यकर्ता र जनतामा नयाँ उत्साह ल्याउन सकोस्। कांग्रेसलाई बिपी कोइरालाको कांग्रेस बनाउनेतर्फ अवसर आएको छ। नयाँ शिराबाट नेतृत्वको विकल्प खोज्नु सकारात्मक हो।’

१३ असार, २०७८, ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।