मेलम्चीको भोको पेट भर्न उक्लिएको 'मधेस'

मेलम्चीको भोको पेट भर्न उक्लिएको 'मधेस'

मेलम्ची : दिनेश अधिकारीको देश गीत गीति सङ्ग्रहमा समेटिएको एक गीतको शब्द छ : 'भन्ज्यागंको भोको पेट मधेसले भर्नुपर्छ, माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ।'

त्यही गीतको भावबाट प्रभावित भएका त हैनन् अंशु यादव। तर उनले अहिले गरिरहेको कर्म त्यो गीतको भावसँग ठ्याक्कै मिल्छ। अहिले उनी बाढीले घरबारविहीन भएका मेलम्चीवासीको भोटो पेट भर्न सक्रिय छन्। मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिकाका धेरै स्थानीय आफ्नो घर छाडेर स्कुल र त्रिपाल मुनिको पुगेका छन्। 

अन्नपात कि कालो लेदोमै पुरियो, कि बग्यो। तिनै मेलम्ची पीडितको भोक मेटाउनको मेलम्ची बजार आइपुगे यादव ‘राइजिङ हन्ड्रेड्स ग्रुप’ र ‘हाम्रो टिम नेपाल’का स्वयंसेवक लिएर। 

नेपालमा कोरोनाको कारण लकडाउन सुरु भएदेखि रोजगारी गुमाएर खान कै समस्या भएका श्रमिकहरूलाई खाना खुवाउने काम गर्दै आएका उनीहरू मेलम्चीमा बाढी गएको भोलिपल्ट नै खाना खुवाउन यहाँ आइपुगेका थिए। 

मेलम्चीमा असार १ गते साँझ देखि बाढी आउन सुरु गरेको थियो। त्यसको भोलिपल्ट बिहान सम्म त मेलम्ची बजारको ४० प्रतिशत घर बालुवाले पुरी सकेको थियो। मानिसहरू आफ्नो घर र झिटी झाम्टा केही निकाल्न नपाएकोले बिचल्लीमा परेका थिए। त्यही दिन करिब १२ बजे मेलम्ची बजारमा काठमाडौँबाट उनीहरू राहत लिएर आइपुगे। 

‘हामीले सामाजिक सञ्जाल र  समाचार मार्फत यहाँको विपत् देख्यौ। यस्तो विपत्को बेला काठमाडौँमा मात्रै खाना खुवाएर नहुने महसुस गर्यौ र दुई वटा संस्था मिलेर तत्काल यहाँ आइपुगेका हौँ’ हनड्रेड्स ग्रुपका कोअर्डिनेटर अंशु यादव भन्छन्, ‘यहाँ आउँदा मानिसहरू निकै नै विचलित थिए। मुख्य त बाढीले आफ्नो सबै सम्पत्ति माटोमा मिलाएको थियो भने अघिल्लो रात देखि धेरै जना भोकै थिए।’

हाम्रो टिम नेपाल र राइजिङ हनड्रेड्स ग्रुपका स्वयंसेवकहरू मेलम्ची आउँदा बाढीले पुरिएका घरबाट आफ्नो सामान झिक्ने कोसिस गर्दे थिए। त्यो काममा उनीहरूले पनि हातेमालो गरे। १३–१४ जनाको   सङ्ख्यामा काठमाडौँबाट आएका सहयोगी र स्थानीयको सहयोगमा मेलम्ची बजार भन्दा केही माथि रहेको इन्द्रावती माध्यमिक विद्यालयमा खाना बनाउन सुरु गरे। 

‘सुरुको दिनमा बिहान बेलुका गरेर ११–१२ बोरा चामल नै पकाउनु पर्थ्यो। हामीले ल्याएको खाद्यान्न त केही दिनमा नै सकियो’ यादव भन्छन्, ‘प्राह्न सामाजिक सञ्जालमार्फत नै आह्वान गरेर नै खाद्यान्न जुटाइरहेका छौ।’ उनीहरूको यो काम देखेर कुमार कट्टेल ‘जिग्री’ हास्य कलाकारले त ३० बोरा चामल, दाल, नुन लगायतका खाद्यान्न दिए। जिग्री जसरी नै  सहयोग गर्ने दाताको सख्य सयौँ भइसक्यो। त्यसैले उनीहरू आफूलाई आएको सहयोगको विवरण दैनिक आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएका छन्। 

‘अहिले त नगरपालिकाको समन्वयमा समेत काम गर्दै छौ’ हाम्रो टिम नेपालका उमेश बोहोरा थप्छन्, ‘ जनप्रतिनिधि पनि बेलाबेला आइरहनुहुन्छ। सबै पक्ष सङ्ग समन्वय गरेर काम गरेकोले हामीलाई काममा कुनै अवरोध आएको छैन।’

बाढी आएका सुरुका दिनमा त दुई समूहले १३ सय मानिसलाई खाना खुवाएको बताउँछन्। बाढीको त्रासका कारण घर सकुशल भएकाहरू पनि त्यही खाना खान पुगे। दिनहरू बितेसँगै मानिसमा त्रास कम गदै गएको छ। र स्कुलमा खाना खानेको सङ्ख्या पनि। 

यस्तै देशका विभिन्न स्थानबाट आएकाहरूलाई समेत खाना खुवाउने काम गदै छन् उनीहरू। 

पछिल्लो झन्डै २ वर्ष देखि उनीहरू काठमाडौँमा साहाकारी खानेकुराहरू नै खुवाइरहेका छन्। त्यसैले यहाँको भान्सा पनि साहाकारी खाना नै पाक्ने गरेको छ। दाताको सहयोग जुटे सम्म उनीहरू बेलाबेला, पनिर, च्याउ लगायतका तरकारी खुवाउने गरेका छन्। 

बिहान चिया सँगै खाजा खुवाउने उनीहरू बिहानको खाना बेलुकाको खाना सम्म खुवाउने गरेका छन्। बाढीले घर पुरिए पछि उनीहरूले खाना खुवाउँदै गरेको स्कुलमा डेढ सय परिवारको आश्रय स्थल बनेको थियो भने अहिले त्यो सङ्ख्या घटेर आधा मात्रै बाँकी रहेका छन्। 

बाढीको कारण करिब चार सय परिवार विस्थापित भएको उनीहरू बताउँछन्। मेलम्ची बजार देख्दा सानो भएको पनि व्यापार गर्नको लागि कोठा भाडामा लिएर बस्नेको सङ्ख्या उल्लेखनीय रहेको छ। 

सम्पत्ति गुमाएर विस्थापित भएकाहरू धेरै छन्। आफू सँग खाना बनाउने सामाग्री भए पनि प्रयोग गर्न नसक्ने अवस्थामा रहेका छन्। वर्षै मिहिनेत गरेर बनाएको घरमा पनि र बालुवा छिरे पछि यहाँका बासिन्दाहरू घरबाट हाम फलेर आफ्नो ज्यान मात्र जोगाएर बसेका छन्। 

‘यो समय बाढी र पहिरोको हो’ बोहोरा भन्छन्, ‘देशका धेरै स्थानमा बाढीको कारण घरबार विहीन हुनेको सङ्ख्या धेरै छ। साधन र स्रोतको अभावले हामी त्यहाँ पुग्न सकेका छैनौ।’

केही पहिले बाँकेमा लगेको ठुलो आगलागीको कारण सयौँ परिवार घरबार विहीन भएका थिए। यी दुई समूह त्यहाँका आगलागी पीडितलाई पनि खाना खुवाउन पुगेका थिए। 

‘बाँकेमा त करिब एक हप्ता बसेका थियौ’ यादव थप्छन्, ‘यहाँ त कति दिन बस्नु पर्छ थाहा छैन। तर अवस्था सहज नभै हामी फर्कर्दैनौ।’

उनीहरूले काठमाडौँमा खाना खुवाउनेमा आधा मानिस सडकमा नै बसोबास गर्ने थिए। तर यहाँ भने आफ्नो सम्पत्ति भएरै विपत्तिले अन्नविहीन बनाएकाहरू छन्। 

खाना खुवाउन कै लागि काठमाडौँ देखि आएको कारण स्थानीयले समेत उनीहरूको कामलाई सम्मान गरेका छन्। अहिले पनि झन्डै सय परिवार स्कुलमा नै बस्ने भएकोले उनीहरूलाई खाना बनाउन समेत स्थानीयले सहयोग गरेको उमेश बोहोरा बताउँछन्। 

उनीहरू मेलम्ची राहत लिएर आइपुग्दा कुनै संस्था आइपुगेको थिएन। सुत्नै नपाउने अवस्था धेरै मानिसको थियो। आफूहरूले ल्याएको सिरक, डस्न, म्याट बाँडेर काम सुरु गरेका थिए।

१२ असार, २०७८, ११:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।