लुम्बिनी प्रदेशले १ करोड ४१ लाख रुपैयाँ राहत वितरण गर्ने 

लुम्बिनी प्रदेशले १ करोड ४१ लाख रुपैयाँ राहत वितरण गर्ने 

बुटवल : लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि विशेष तयारी थालेको जनाएको छ।

सम्भावित मनसुनजन्य बिपदलाई ध्यानमा राखेर प्रदेश सरकारले खोज, उद्धार र समन्वयका साथै राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन विषयगत क्षेत्रको पहिचान, स्थापना र परिचालन गर्ने निर्णय गरेको छ। 

विपद्बाट धेरै धनजनको क्षति हुन नदिन आवश्यक तयारी पुरा गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। प्रदेश मामिला सूचना केन्द्रले आपतकालिन आश्रय स्थल निर्माण र शिविर व्यवस्थापनको सुरु भएको जनाएको छ। 

मन्त्रालयले गरेको विपद् व्यवस्थापन सम्बन्धी आकलन अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन गरिएको केन्द्रका अधिकारी बाबुराम पन्थीले बताए। जसका लागि सङ्घीय सरकारको सहयोगबाट आवश्यक उद्धार र राहत व्यवस्थापन सम्बन्धी सामाग्रीहरू प्राप्त भएको र थप उद्धार तथा व्यवस्थापन सम्बन्धी सामाग्रीहरूको लागि प्रदेश सरकारबाट टेन्डर गर्ने तयारी भइरहेको पनि अधिकृत पन्थीले जानकारी दिए।  

प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा करिब १० करोड रकम रहेकोमा हालसम्म झन्डै २ करोड ५० लाख खर्च भएको अधिकृत पन्थीले बताए। सङ्घीय सरकारबाट २ सय ८० थान टेन्ट, ५ सय थान त्रिपाल र अन्य खोज तथा उद्धार सामाग्री प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। 

आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले विपद्मा परेकालाई  राहत वितरण गर्न १ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए। लुम्बिनी प्रदेशमा यो वर्ष विपद्मा परि खोलाले बगाएर २ जना, पहिरोले पुरिएर १ जना, सर्प दंशबाट २ जनाको मृत्यु भएको छ। विभिन्न जिल्लामा २८ वटा घर गोठ पुर्णरुपमा क्षति भएका छन् भने ११ वटा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ।

११ असार, २०७८, १२:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।