१० वर्ष दुःख गरेर जोडेको सम्पत्ति निमेषभरमै स्वाहा

१० वर्ष दुःख गरेर जोडेको सम्पत्ति निमेषभरमै स्वाहा

मेलम्ची : असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार ओभाएको छैन। बाढीले घर पुरिएका स्थानीयका आँखा पनि चिसै छन्। बजारका मानिसको मुहार मेलम्ची जस्तै धमिलो देखिन्छ।

यस्तै निन्याउरो अनुहार लिएर बाढीले पुरेको आफ्नो घर नियाल्दै छन्, रेशमबहादुर बस्नेत।
 
आफन्तको मृत्यु भएकोले जेठ १५ गते तराई झरेका थिए रेशम। कोरोनाका कारण देशभरि निषेधाज्ञा भएकाले उनी सिन्धुपाल्चोक फर्कन सकेका थिएनन्।

कहिले निषेधाज्ञा खुल्ने पर्खाइमा बसेका रेशमलाई मेलम्चीबाट आएको आफन्तको फोनले छटपटी बनायो।

कुरा थियो, असार १ गतेको। ‘मेलम्ची खोलाले रुखका मुढा र बालुवा सोहोरेर ल्यायो’ भन्ने सुन्दा रेशम उनी आत्तिए। त्यसपछि त तारन्तार मेलम्ची बजारमा बाढी पसेको सूचना उनको फोनमा आइरह्यो। तर उनी तराईबाट तुरुन्तै फर्कंन सम्भव भएन। त्यसैले सात दिनपछि असार ७ गते मात्र मेलम्ची बजार आइपुगे।

मेलम्ची बजारमा झरेपछि रेशम आफूले दिनरात एक गरेर बनाएको घर हेर्न पुगे। घर देखेपछि उनको पहिलो प्रतिक्रिया थियो, ‘अहो! बाढीले मेरो घर पतन नै बनाएछ।’

बाढीले उनको जीवनभर मिहिनेत गरेर बनाएको चार तल्ले घर पुरेको थियो।

रेशम व्यापार गर्न सिन्धुपाल्चोककै तालामाराङबाट करिब १० वर्षअघि मेलम्ची झरेका थिए। मेलम्चीमा कपडा पसल सुरु गरेका उनको व्यापार ठिकठाकै चलेको थियो।

थोर–बहुत व्यापारको पैसा र ऋण गरेर बनाएको घर बाढीले पुर्दा मन कुँडिएको उनको अनुहारमा प्रष्ट देख्न सकिन्थ्यो।

‘व्यापार र ऋण गरेर मेलम्चीमा घर बनाएँ’, उनी भन्छन्, ‘घर र व्यापार छोरा हरिले हेथ्र्यो। म भने प्रायः तालामाराङ नै बस्थें।’

मेलम्ची व्यापारिक रुपमा निकै राम्रो भएकोले गाउँमा घर भएका धेरै मानिसले मेलम्ची बजारमा घर जोडेका छन् भने केहीले गाउँमा भएको घर–खेत बेचेर नै यहाँ घर ठड्याएका छन्।

रेशमको घरसँगै २ वटा बसपार्क र ठूला–ठूला होटल थिए। तर ती बसपार्कको त कुरै छाडौं, होटल भएका घरहरुको पनि २–३ ढलान खोलाले बगाएर ल्याएको बालुवाले पुरेको छ।

‘हामीले घरमा रहेको सामान समेत निकाल्न पाएनौं, सबै बगायो,’ उनी थन्छन्, ‘घरमा आफ्नो सामान मात्र थिएन, पसलका सामान समेत स्टोर गरेर राखिएको थियो।’

उनको मेलम्ची बजारमा हरिओम वस्त्रालय छ। त्यही पसलको कमाइ, आफन्त र बैंकसँग ऋण लिएर केही समय अगाडि मात्रै बनाएको घर बालुवाले छपक्कै पुरिदिएको रेशम बताउँछन्। बाढीले आफू र छोरा बुहारीले कमाएको पैसा समेत डुबाउँदा उनी निकै चिन्तित देखिन्छन्।

‘बुहारी पसलमा व्यापार गरेर राति १२ बजे सुत्थिन्। बिहान खाना खान समेत उनलाई फुर्सद हुँदैनथ्यो। बिहानको खाना नैै २–३ बजे खान्थिन्। रेशम दुःखको पोयो फुकाउँदै भन्छन्, ‘त्यस्तो दुःखले जोडेको सम्पत्ति एक दिनको बाढीले सखाप बनायो। जग्गा किन्दा र घर बनाउँदाको ऋण कसरी तिर्ने होला र खै?’

अब उनीसँग तालामाराङमा भएको पाखो बारी र घर मात्र बाँकी छ। त्यहाँ भएको उब्जनीले चार महिना मुस्किलले खान पुग्ने उनी बताउँछन्।  

‘नातागोता र बैंकबाट ऋण लिएर बनाएको घर खोलाले पुर्यो, १० वर्षको कमाइ एकैछिनमा स्वाहा भयो,’ रेशम भन्छन्, ‘सपनामा पनि यस्तो दुःख पाएको देखेको थिइनँ, अहिले विपनामा भोग्दै छु।’

०००
सुस्केरा हाल्दै रेशम आफ्नो घर भएको ठाउँबाट तल झरे। त्यहाँ एक जना तन्नेरी उभिएका थिए। त्यसको पछाडि थियो ‘हेलम्बु होटल एन्ड लज’। होटलको छतसम्म बालुवाले ढाकेको छ। बालुवामाथि देखिएका केही रडहरुले मात्रै यहाँ घर थियो भनेर थाहा पाउन सकिन्छ।

सो होटलका सञ्चालकको दुःख पनि रेशमको भन्दा कम छैन। उनले पनि होटलबाट केही निकाल्न सकेनछन्। ‘खोला निकै गहिरो र होटलभन्दा धेरै टाढा थियो। हामीले त सपनामा पनि खोला यहाँसम्म आउला र यसरी नाश गर्ला भनेर सोचेका थिएनौं,’ होटल सञ्चालक भन्दै थिए।

होटल सञ्चालकको कुरा सुनिसकेपछि रेसम बालुवाले पुरिएका घरमाथि हिँड्दै अगाडि बढे। र, मेलम्ची खोलातिर औंलाले इसारा गर्दै भने, ‘ऊ त्यहाँ ठूलो गाडी गुड्ने पुल थियो। त्यो पनि बगाएछ। म यहीँको मान्छे भएर पनि कहाँ के थियो भनेर भन्न सक्दिनँ।’

दुई खोलाको दोभानमा रहेको मेलम्ची बजार दुई तिहाइ सिन्धुपाल्चोकबासीको ‘व्यापारिक हव’ हो। ठाउँ साँघुरो भए पनि मेलम्ची बजार सिन्धुपाल्चोकको दोस्रो सदरमुकाम नै थियो।

२०७२ सालको भूकम्पमा पनि यस बजारलाई सुरक्षित र बस्न योग्य भएको विज्ञले बताएका थिए। तर अहिलेको बाढीले मेलम्ची बजारलाई मरुभूमि जस्तै बनाएको छ।

९ असार, २०७८, १९:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।