कामचलाउ प्रधानमन्त्रीका नयाँ सारथि : आफ्नालाई बिदा गरेर मन्त्रालय रित्तै, जसपालाई कमाऊँ मन्त्रालय

कामचलाउ प्रधानमन्त्रीका नयाँ सारथि : आफ्नालाई बिदा गरेर मन्त्रालय रित्तै, जसपालाई कमाऊँ मन्त्रालय

काठमाडौँ : संसद् विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा व्यापक फेरबदल गरे। जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउने निर्णय गर्दा उनले एमालेबाट मन्त्री बनेकाहरूलाई समेत हटाए। त्यसमा लामो समयदेखि उनलाई निरन्तर साथ दिइरहेकाहरू समेत परे।

एमालेबाट मन्त्री बनेकाहरुलाई फेरबदल गर्दा उनको नेतृत्वमा सरकार बनेदेखि नै राम्रो काम गर्दै आएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली समेत काम चलाऊँ मन्त्रीपरिषद्मा अटाएनन्। उनको स्थानमा उपप्रधानमन्त्री सहित रघुवीर महासेठ सरकारमा भित्र्याएर छक्क पारे ओलीले।

महासेठ नेकपा विवादमा माधव नेपाल समूहमा लागेका थिए भने उनकी श्रीमती जुली महतो ओली समूहमा लागेर मन्त्री बनेकी थिइन्। महासेठ त्यति अनुभवी नेता हैनन्। परराष्ट्र सम्बन्ध चुनौतीपूर्ण बनिरहेको बेला एकाएक महासेठलाई ओलीले उपप्रधानमन्त्री सहित परराष्ट्रको जिम्मेवारी दिँदा उनी निकटहरू नै छक्क छन्।

नयाँ मन्त्रीपरिषद्मा ईश्वर पोखरेल अटाएनन्। उनी प्रारम्भदेखि नै विवादमा तानिँदै आएका थिए। अर्थ मन्त्री विष्णु पौडेललाई उनले उपप्रधानमन्त्रीमा प्रमोसन गराएका छन्।

गुट बदल्न माहिर शेरबहादुर तामाङ स्वास्थ्य मन्त्री बनेका छन्। उटपट्याङ बोल्न माहिर कृष्णगोपाल श्रेष्ठको शिक्षा मन्त्रीको पद जोगियो। राम्रो काम गरेका वसन्तकुमार नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमै कायम रहे। एमालेबाट कानुन मन्त्री बनेका लीलानाथ श्रेष्ठको मन्त्री पद कायमै रह्यो।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, सञ्चार, कृषि, वन तथा वातावरण, उद्योग वाणिज्य र सामान्य प्रशासन आफैसँग राखे। माओवादी केन्द्र त्यागेर एमालेमा लागेसँगै सांसद पद गएका नेताहरूको मन्त्री पद सर्वोच्चले खाइदिएपछि गृह, उद्योग रिक्त थियो। अन्य मन्त्रालयमा उनी निकटै थिए।

पर्यटनमा उनी निकट भानुभक्त ढकाल मन्त्री थिए। स्वास्थ्यमा विवाद भएपछि उनलाई पर्यटनमा लगिएको थियो। सामान्य प्रशासनमा रहेका गणेशसिंह ठगुन्नाको पद गयो। सञ्चारमा पार्वत गुरुङ थिए। कृषि मन्त्री रहेकी पद्मा अर्याल मन्त्रालय रिक्त रहँदा नि दोहोरिइनन्। पर्यटन जसपालाई दिएका ओलीले अरू मन्त्रालय आफैँसँग राखेका छन्।

जसपा ठाकुर समूहलाई मन्त्रालयदिँदा महिला मन्त्री जुली महतोको पद गयो। उनी मन्त्रीको रूपमा बाहिरिँदा उनको श्रीमान् महासेठ उपप्रधानमन्त्री बनेर घर भित्रिएका छन्। भूमि व्यवस्था मन्त्री शिवमाया तुम्बाहाम्फे र पर्यटन मन्त्री भानुभक्त ढकालको मन्त्रालय जसपा समूहले पायो।

स्वास्थ्य मन्त्रालय सम्हालेका ह्दयश त्रिपाठी पनि क्याबिनेटमा अटाएनन्। कोरोना विरुद्धको खोप किन्ने क्रममा बिचौलियालाई एक्सपोज गरेका उनीसँग प्रधानमन्त्री सन्तुष्ट थिएनन्। तर त्रिपाठीले उकेरासँग कुरा गर्दै आफैँ सरकारमा बस्न नचाहेको प्रतिक्रिया दिए।

आम्दानी हुने मन्त्रालय जसपाको भागमा

जनता समाजवादी पार्टी महन्थ ठाकुर समूहबाट उपप्रधानमन्त्री सहित राजेन्द्र महतो सरकारमा गए। उनले सहरी विकास मन्त्रालय रोजेका छन्। पोर्टफोलियोमा यो निकै तलको मन्त्रालय रहे पनि राम्रो बजेट रहेको मन्त्रालय मानिन्छ।

शरतसिंह भण्डारी ऊर्जा मन्त्री भए।  अनिल कुमार झाले खानेपानी तथा सरसफाइ मन्त्रालय पाए। विमल श्रीवास्तव श्रम तथा रोजगार, उमाशङ्कर अरगरिया पर्यटन, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, चन्दा चौधरी, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला,बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री नियुक्त भएकी छिन्।

२१ जेठ, २०७८, २०:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।