जसपा विवाद केन्द्रबाट प्रदेशतिर : प्रदेश २ को सरकार बदल्न सक्रिय भए उपेन्द्र

जसपा विवाद केन्द्रबाट प्रदेशतिर : प्रदेश २ को सरकार बदल्न सक्रिय भए उपेन्द्र

काठमाडौँ : जनता समाजवादी पार्टी नेपालमा विवाद बढेसँगै उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकार फेरबदलमा सक्रिय भएको छ। पार्टीको महन्थ ठाकुर समूह केन्द्रमा केपी ओली नेतृत्वको कामचलाउ सरकारमा सहभागी भएसँगै यादव प्रदेश २ को सरकार बदल्न सक्रिय भएका हुन्।

प्रदेश २ मा अहिले ठाकुर पक्षको नेतृत्वको सरकार छ। प्रदेश २ को सरकारबाट ठाकुर समूहलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउन यादवले नेपाली काँग्रेससँग छलफल अगाडि बढाएका छन्। केन्द्रमा सरकारमा सहभागी हुन ठाकुर प्रधानमन्त्री ‌ओलीसँग छलफलमा रहँदा यादव प्रतिपक्षी काँग्रेसका उपसभापति विमलेन्द्र निधिसँग प्रदेश २ को सरकारबारे छलफल गरिरहेका थिए।

यादवले निधिलाई प्रदेश २ को सरकारमा सहभागी हुन आग्रह गरेको निधिको सचिवालयले जनाएको छ। निधिले काँग्रेसले मुख्यमन्त्री पद पाए सरकारमा सहभागी हुने जवाफ दिएको सचिवालय स्रोतको दाबी छ।

‘यादवले सरकारमा सहभागी हुनुपर्छ भन्नुभयो,’निधिको सचिवालयका एक सहयोगीले भने‘उहाँले काँग्रेसलाई मुख्यमन्त्री दिनुपर्छ भन्नुभयो।’

केन्द्रमा सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जसपाको यादव पक्षले साथ दिइरहेको छ। छलफल कुनै निष्श्कर्षमा भने पुगेन। ‘उहाँले आफ्नो प्रस्ताव राख्नुभयो। काँग्रेसले मुख्यमन्त्री पाउनु पर्ने माग गरेको छ,’ निधिको सचिवालयले भन्यो,‘ जनकपुर पुगेर फर्केपछि फेरी छलफल गर्ने कुरा भएको छ।’

प्रदेशको अङ्क गणित

प्रदेश २ मा अहिले जनता समाजवादी पार्टी नेपालका ५५ जना र नेपाल सङ्घीय समाजवादी पार्टीका १ जना गरी ५६ जनाको समर्थनमा राउत मुख्यमन्त्रीमा छन्। ५५ मध्ये यादव पक्षका ३० जना र महन्थ पक्षका २५ जना सांसद छन्।

१०४ सदस्य रहेको प्रदेश सभामा बहुमत पुग्न ५३ जना सांसद आवश्यक पर्छ। २१ जना नेकपा एमालेका, नेपाली काँग्रेसका १९ र माओवादी केन्द्रका ८ जना सांसद छन्। महन्थ पक्षलाई हटाएर यादव पक्षका ३०, काँग्रेसका १९ र माओवादी केन्द्रका ८ जना सांसदको समर्थन जुटे नयाँ सरकार बन्न सक्छ।

प्रदेश नम्बर २ मा अहिले लालबाबु राउत मुख्यमन्त्री छन्। उनी यादव समूहका हुन्। काँग्रेस र माओवादीको समर्थन लिँदा ५७ सांसदको समर्थन भए प्रदेश २ का मुख्यमन्त्री राउतलाई बहुमत पुग्छ।

जेठ २४ मा अधिवेशन

प्रदेश सचिवालयले जेठ २४ गते दिउँसो १ बजे बजेट अधिवेशन आव्हान गरिसकेको छ। प्रदेश सभा सचिवालयले बजेट अधिवेशनमै सरकार फेरबदल गर्न प्रदेश २ मा अनौपचारिक छलफल भएको जानकारी पाएको बताएको छ। ‘दलहरूबिच अनौपचारिक छलफल भइरहेको सुनेको छ,’सचिवालयका सचिव रञ्जित यादवले भने,‘प्रदेश सभामा औपचारिक जानकारी आएको छैन।’

२४ गते बोलाइएको बजेट अधिवेशनको पहिलो दिन दलका नेताहरूलाई शुभकामना दिन समय दिइने सचिवालयले जनाएको छ। ‘२४ गते दलीय प्रतिनिधित्वको आधारमा नेताहरूले शुभकामना दिनुहुन्छ,’उनले भने,‘बैठक बस्नु अघि भोलि नै प्रदेश सभाका सबै सदस्यको पिसिआर परीक्षण गरिनेछ।’

उनले कोरोना पोजेटिभ आएका सांसदले जुम मार्फत बैठकमा धारणा राख्न पाउने व्यवस्था गरिने जानकारी दिए। 

२१ जेठ, २०७८, १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।