सेयर बजारको शत्रु ‘लोभ र डर’ 

सेयर बजारको शत्रु ‘लोभ र डर’ 

नेपाल पुँजी बजार लगानीकर्ता सङ्घकी अध्यक्ष समेत रहेकी पोखरेल स्कुले उमेरमै आइपिओ भरेर सेयर क्षेत्रमा छिरेकी थिइन्। त्यो बाल्यकालकी केटी, जसले अन्जानमा सेयरमा लगानी गरेकी थिइन्, उनले आज पुँजी बजार सङ्घको जिम्मेवारी सम्हालिरहेकी छिन्।

‘सेयर बजारमा मेरो प्रवेश आफन्तले आइपिओ भर्न लगाएर सुरु भएको हो’ आफ्नो सेयर बजारको यात्रा संम्झदै सुनाउँछिन्, ‘म आफैले बुझेर आइपिओ किनेको २२ वर्षको उमेर हुँदा देखी हो।’ 

रुचि त थियो, तर सुरुवातमा उनलाई सेयर बजारबारे ज्ञान थिएन। आफन्तबिच सेयर बजारलाई लिएर कुरा हुन्थ्यो। उनी चाख लिएर सुन्थिन्। कति कुराहरू बुझ्थिन्, कति सुन्थिन मात्र। आफन्त र परिवारबिच हुने सेयर बजारको चर्चाले नै उनलाई त्यत्ति बेला आइपिओ किन्नतर्फ आर्कशित गर्यो। 

‘त्यति बेला लगानीकर्ता नै थिएनन्, आइपिओ भर्नेले कहिल्यै खाली हात हुन पर्थेन,’ पोखरेल विगत सम्झिन्छिन्। बाल्यकालमै आइपिओमार्फत सेयरमा छिरेकी पोखरेलले किनेका आइपिओको मूल्य पनि दुई गुण, चौगुना बढ्थ्यो। उनी भन्छिन्, ‘त्यही बेला मलाई सेयर बजारमा राम्रो आम्दानी छ भन्ने लाग्यो।’

त्यसपछि उनी सहकारीको डाइरेक्टरको काम छाडेर सेकेन्डरी बजारमा हाम फालिन्। ‘मलाई त्यो बेला रातोले घटेको र हरियोले बजार बढेको सङ्केत गर्छ भन्ने मात्र थाहा थियो। मैले त सेयर बजारको धेरै कुरा बजारमा सोधेर नै जाने’ उनी भन्छिन् ‘त्यो बेला महिला लगानीकर्ताको सङ्ख्या एकदम कम थियो। अझ मेरो उमेर पनि सानो भएकोले अरूलाई सोध्न पनि कम्ती असहज हुँदैनथ्यो।’ 

उनलाई पूर्ण रूपमा सेयर बजारमा लगानी गर्न सुरु गरे पछि सेयर बजारको विकृति, विसङ्गति, बजार सुधारको लागि गर्नु पर्ने कामको बारेमा थाहा हुन लाग्यो। त्यही कुरामा आफूले आवाज उठाउँदै आएको कारण आफू नेपाल पुजी बजार लगानी कर्ता सङ्घको अध्यक्ष सम्म भएको उनी बत्ताउँछिन्। 

आफू ब्रोकरकोमा सेयर किन्न जाँदा महिलाको सङ्ख्या एकदमै कम थियो। त्यो देखेर उनलाई महिलाहरू त साँच्चै पछि नै परेका हुन कि जस्तो पनि लाग्थ्यो। तर पछिल्लो समय भने सेयरमा लगानी गर्ने महिलाको सङ्ख्या बढेको पोखरेल बत्ताउँछिन्। अहिले त उनलाई म्यासेज गरेर कुन सेयरमा लगानी गरौँ भनेर सोध्नेको सङ्ख्या पनि एकदमै बढेका छन्। 

‘हाम्रो सँग सातै वटा प्रदेशमा फैलिएका हाम्रो सङ्घमा महिला सदस्यको सङ्ख्या पनि उल्लेख्य नै छ’ उनी भन्छिन्, ‘एक हिसाबले भन्ने हो भने त महिलाहरूको लागि उपयुक्त ठाउँ हो जस्तो लाग्छ। अन्य क्षेत्रमा काम गर्दा एकदमै धेरै समय दिनु पर्ने हुन्छ।’

डिम्याट अकाउन्टलाई आधार मान्दा सेयर बजारमा लगानी गर्ने ४० प्रतिशत महिला नै छन्। पोखरेल सेयर बजारमा ११ देखी ३ बजेको समय दिए पुग्ने बत्ताउँछिन्। अन्य समय भने परिवार र बालाबालीको लागि दिन सकिने उनको धारणा छ। यही कारणले पनि सेयर बजारमा महिलाको आकर्षण बढेको हुनसक्ने पोखरेल बत्ताउँछिन्। 

तर महिलाहरूले स्वयम् निर्णय गर्न सक्ने अधिकार अझै सम्म पनि छैन। लगानी गर्दा घाटा भयो भने ‘तिमीले गर्दा घाटा लाग्यो’ भनेर आरोप लाग्छ। आफैले लगानी गर्न पैसा नभएको कारण पुरुष जसरी नै ‘फिल्ड’मा नै उत्रिएर कारोबार गर्न भने नसकेको पोखरेल बत्ताउँछिन्।

पुजी भएर पनि बजारमा आउन नसकेका वा सेयर बजारको ज्ञान नभएर हच्किएका मानिसलाई सेयर बजारमा प्रवेश गराउन ‘सेयर बजार सचेतनामूलक अभियान’ नै सुरु गरेकी छन्। जसका लागि उनी नेपालका विभिन्न जिल्लामा पुगिन्। उक्त अभियानमा सेयर बजार सम्बन्धी बुझ्न आउनेमा केटा भन्दा धेरै केटी नै पाइएको उनी बत्ताउँछिन्। 

‘सेयर बजारमा महिला बढ्नुको कारण आफू सँग भएको थोरैको पेवा सेयरमा लगानी गरौँ भनेर हो। आफै कमाउन सकियो भने त सानो सानो कुरामा पनि श्रीमानलाई हात पसार्नु परेन नि। केही कुरा जानिन्छ बुझिन्छ भनेर नै सेयरको बारे जान्न खोज्ने धेरै महिला छन्’ उनले भनिन्। 

केही समय देखि त उनलाई नै देखेर पनि लगानी गर्नेको सङ्ख्या बढेको छ। पोखरेलले लगानी गरेर सानै उमेरमा यत्रो प्रगति गर्न सक्छिन् भने आफू किन नगर्ने भनेर भनेर सेयर बजारमा प्रवेश गर्ने समेत धेरै छन्। त्यसैले राधा पोखरेललाई सेयर बजारमा लगानी गर्ने महिलाको प्रेरणाको श्रोत समेत मान्न सकिन्छ। 

नयाँ लगानीकर्ताले कस्तो सेयर किन्ने

सेयर बजार मात्र हैन जुनसुकै लगानी गर्ने क्षेत्रमा जोखिम छ। सेयर बजार पनि जोखिमकै क्षेत्र हो। त्यसैले सेयर बजारमा लगानी गर्दा एकदमै बुझेर मात्रै लगानी गर्नु पर्ने पोखरेल बत्ताउँछिन्। पछिल्लो केही समय देखि बजार इन्डेक्स बढेको छ। धेरै कम्पनीमा सर्किट लागेको छ। त्यस्ता कम्पनीको सेयर नयाँ लगानीकर्ताले नकिन्न पोखरेल सुझाव दिन्छिन्। 

‘बजार बढेको बेला हल्लाको भरमा मात्र भन्दा पनि राम्रो कम्पनी छानेर मात्रै सेयर किन्नु पर्छ’ उनी भन्छिन्,‘समय समयमा एजीयम गरेको, लगानी कर्ताहरूलाई प्रतिफाल राम्रो दिने, सञ्चालक राम्रा भएको देखी समग्र रूपमा कम्पनीको बारेमा बुझेर मात्रै सेकेन्डरी बजारको सेयर किन्नु पर्छ। समग्र रूपमा राम्रो भएको कम्पनीको सेयर किन्यो भने आज बजार घटे पनि दीर्घकालीन रूपमा फाइदा नै हुन्छ।’

अरूले घर जोड्यो, कार जोड्यो भनेर नराम्रो कम्पनीमा लगानी गर्दा आफूसँग भएको लगानी पनि गुम्न सक्छ। त्यसैले उनी भर्खरै बजारमा प्रवेश गर्ने लगानीकर्तालाई भन्छिन् ‘आफ्नो घाटी हेरेर हाड निल्नुहोस्।’ 

‘अहिले बैङ्किङ क्षेत्र अन्डर भ्यालु छ। बैङ्कमा फिक्स डिपोजिट गर्दा १०, १२ प्रतिशत मात्र व्याज आउँछ। तर त्यही पैसाले बैकको सेयर किन्यो भने कम्तीमा पनि १५ प्रतिशत डिभिडेन्ट आउँछ’ उनी थप्छिन्, ‘नयाँ लगानी कर्ता भनेको सिक्ने र अभ्यस्त हुने भएकोले भोलि घाटा नहुने कम्पनी छान्नु पर्छ। सुरुमा नै आफूले लगानी गरेको कम्पनी घटामा गयो भने कत्तीको जोखिम बहन गर्न सक्छु भनेर लगानी गर्नु पर्छ।’

बजार सधैँ एकै किसिमले चल्दैन। कुनै बेला छोटो अवधि लगानी गर्ने लगानीकर्तालाई फाइदा हुन्छ त कहिले लामो अवधि लगानी गर्ने लगानीकर्तालाई फाइदा हुने हुन्छ। लगानीकर्ताले आफूले लगानी गर्नु पूर्व नै आफूले लगानी गर्ने पैसा कता गर्ने भनेर निर्धारण गर्नु पर्छ। 

छोटो अवधि गरेको लगानीबाट घर खर्च, बालबालिका पढाउन, औषधी उपचार गर्ने लगायतको खर्च जुटाउँछ भने लामो अवधि लगानीले वर्ष वर्षमा मुनाफा दिन्छ। उनी आफैले पनि त्यसरी छुट्टाएर लगानी गरेको बताउँछिन्। 

छोटो समयको लागि लगानी गर्दा सेयरको मूल्य दैनिक बढेको किन्नु राम्रो हुन्छ। यसरी छोटो समयको लागि सेयर किन्दै गरेको कम्पनीको भने फाइदा मात्रै हेरे हुने र लामो समयको लागि किन्ने सेयरको भने समग्रमा कम्पनी राम्रो भएको मात्रै किन्नु पर्ने उनको सुझाव छ।  बजार कस्तो रूपमा चलेको छ हेरेर मात्रै सेयर किन्नु पर्छ।

आफूले किन्ने सेयरको ७५ प्रतिशत सेयर लामो समयको लागि किन्ने र २५ प्रतिशत सेयर भने छोटो समयको लागि किनबेच गर्न पोखरेल नयाँ लगानी कर्तालाई सुझाव दिन्छिन्। 

अहिले किन सेयर बजार बढेको

अहिले धेरै मानिस कोरोनाको कारण घरमा नै थुनिएर बसेका छन्। कोरोना सुरु भए पछि ११ सयको बजार बढेर २८ सय टेक्न लागेको छ। कारोबार एक  अर्बबाट ११ अर्ब भन्दा धेरै भएको छ। लगानी कर्ता पनि १८ लाखबाट ५० लाख नै पुग्न लागे। पहिले अनलाइनबाट सेयर किनबेच गर्नेहरू पनि एकदमै कम थिए। अहिले अनलाइन कारोबार गर्नेको सङ्ख्या बढेको छ।

निषेधाज्ञाको कारण घरमा नै मानिस थुनिएको कारण फिक्स प्राइसमा बैङ्कमा पैसा राखेका र अन्य ठाउँमा लगानी गर्नेहरू सेयर बजारमा प्रवेश गरेका छन्। बैङ्कमा तरलता पर्याप्त रूपमा छ। एक वर्ष देखि उद्योग कलकारखानाहरू चल्न सकेका छैनन्। बैङ्कको व्याज दर कम छ। यस्तै कारण सेयर बजारमा लगानी गर्ने लगानी कर्ता बढेको उनको भनाई छ। पछिल्लो समय सेयर बजारको बारेमा भएको सकारात्मक प्रयासले पनि सेयर बजार प्रतिको आकर्षण बढेको पोखरेल बत्ताउँछिन्। 

बजारमा बढेको बेला प्रवेश गर्ने कि घट्दा ?

बजार घटेको बेलामा किन्ने र बढेको बेलामा बेच्ने नियम नै हो। तर सेयर बजारको शत्रु भनेको ‘लोभ र डर’ भएको उनी बताउँछिन्। 

‘बजार बढ्दै जाँदा मानिसमा लोभ पनि बढ्छ र लगानी गर्छन्। बजार घटेको बेला आफूसँग भएको सेयर घाटा खाएर पनि बेचिदिन्छन्’ उनी लोभ र डर त्याग्नु पर्ने बताउँदै भन्छिन् ‘मैले मात्रै धेरै कमाउँछु भनेर हुँदैन। बजारमा अरू पनि कमाउनै आएका हुन्छन्।  

उनी दुई सय रुपैयाँमा किनेको सेयर ३ दिनमा ५० रुपैयाँ बढ्यो भने बेचिदिनु नै उचित भएको बत्ताउँछिन्। बजार बढ्ला भन्दा पनि घटेको बेला किन्नु उचित हुने हुनको भनाई छ। आइपिओ भने आफूलाई अत्यावश्यक भयो भने मात्रै बेच्ने उनी सुझाव दिन्छिन्। 

‘अहिले आइपिओ भर्नेको सङ्ख्या एकदमै बढेको छ’ उनी भन्छिन् ‘आइपिओ बेचेर फजुल खर्च गर्नु भन्दा दश पन्ध्र वर्ष होल्ड गर्न सकियो भने छोरा छोरीलाई पढाउन पुग्छ।’ 

कोरोनाको निषेधाज्ञा तोडिए पछि अन्य क्षेत्रमा लगानी बढ्दा सेयर बजारमा हुने फाइदा केही कम हुन सक्ने पोखरेल बत्ताउँछिन्।

‘बैङ्क ब्याजदर बढ्दै जाला, लगानीकर्ताले सेयर धितो राख्ने क्रम बढ्ला, अन्य क्षेत्रमा लगानी बढाए पछि बैङ्कले पनि सेयरमा लगानी गर्न पैसा दिन कडाइ गर्ला, त्यो बेला सेयर बजारमा केही गिरावट आउन सक्छ। सेयर बजारमा लगानी गर्दा बजार बढ्छ भनेर मात्र लगानी गर्न हैन भोलि बजार घट्छ भनेर बुझेर लगानी गर्नु पर्ने पोखरेल बत्ताउँछिन्। 

बजार घट्नु र बढ्नु भनेको बजारको सुन्दरता हो। बजार घटबढ नभै कमाउनेले कमाउन नसक्ने उनको भनाई छ। 

१७ जेठ, २०७८, २०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।