लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनमा जसपाले कारबाही गरेका चार सांसद्ले पाए मताधिकार

लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनमा जसपाले कारबाही गरेका चार सांसद्ले पाए मताधिकार
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनका लागि दाङकाे घोराहीमा बनाइएको मतदान स्थल।

दाङ : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनको पूर्वसन्ध्यामा जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेका चार सांसद्ले मताधिकार पाएका छन्।

निर्वाचन आयोगले प्रदेश सरकारका मन्त्रीसमेत रहेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझीलाई आज (आइतबार) मतदानको अधिकार दिने निर्णय गरेको हो। 

यसअघि निर्वाचन आयाेगले निकालेको मतदाता नामावलीमा उनीहरुकाे नाम थिएन। उक्त नामावलीमा ७९ जना प्रदेशसभा सदस्यको नाम मात्रै उल्लेख थियो। 

प्रदेश निर्वाचन कार्यालय, दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार निर्वाचन आयोगले चार जना सांसद्लाई पुरक मतदाताको अधिकार दिने निर्णय गरेको हो। 

‘उपनिर्वाचनको तयारी पूरा’ 

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जनाएका छन्। 

दाङको घोराहीमा सोमबार बिहान ९ बजेदेखि हुने मतदान सुरु गरिने उनले बताए। उनका अनुसार मतदान केन्द्रमा मतदान अधिकृतसहितका कर्मचारी खटिइसकेका छन्। 

उपनिर्वाचनमा कोरोना भाइरस संक्रमण पोजेटिभ भएका मतदाताको लागि छुट्टै मतदान स्थल बनाइएको समेत उनले बताए। 

मतदानका लागि घोराहीको कर्मचारी मिलन केन्द्रमा ३ वटा केन्द्र बनाइएको छ। बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको समेत उनले बताए। 

उनले कोरोना महामारी भएकाले यसतर्फ पनि ध्यान दिएको बताए। उनले भने, ‘मतदान गर्न आउने सबैलाई पिसिआर अनिवार्य भनेका छौं। ३ वटा मतदान केन्द्रमा २२ जना स्वास्थ्यकर्मी राखिने छ। मास्क अनिवार्य छ। हामी सबै कर्मचारीहरू पनि स्वास्थ्य मापदण्ड पालना गरेर खटिने छौं।’

एन्टिजेन्ट परीक्षणको व्यवस्था गरेको भन्दै उनले कुनै पनि मतदातालाई कोरोना पुष्टि भए कोभिड वार्डमा राखिने समेत बताए। 
राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ। 

राष्ट्रियसभा सदस्यको रिक्त १ पदमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले उम्मेदवारी दिएका छन्। 

उपनिर्वाचनमा प्रदेशभरका २ सय १७ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

१६ जेठ, २०७८, २१:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।