१८ वटा सार्वजनिक संस्थान घाटामा, २ वटाको कारोबार शून्य

१८ वटा सार्वजनिक संस्थान घाटामा, २ वटाको कारोबार शून्य

जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको व्यवसाय सुरुवाती अवस्थामा छ। घाटामा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाईट प्रा. लि., बुटवल धागो कारखाना लि.को व्यावसायिक कारोबार भएको छैन। नेपाल रेल्वे कम्पनी व्यवसाय सञ्चालनको प्रक्रियामा रहेको छ। 

आर्थिक वर्ष २०७६/७८ मा नाफामा सञ्चालित २४ संस्थानको खुद नाफा ४ं.२८ प्रतिशत र नोक्सानीमा सञ्चालित १८ संस्थानको खुद नोक्सानी ९९.४६ प्रतिशतले बढेको छ। सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा १२.६८ प्रतिशतले वृद्धि भएको छ। 

आर्थिक वर्ष २०७५/७६ मा संस्थानको कुल सञ्चालन आय ४ खर्ब ७१ अर्ब २४ करोड ४६ लाख रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा ९.०३ प्रतिशतले कमी आई ४ खर्ब २८ अर्ब ७१ करोड ३४ लाख पुगेको छ। गत आर्थिक वर्षको तुलनामा सार्वजनिक संस्थानको खुद नाफा १.२१ प्रतिशतले कमी आई आर्थिक वर्ष २०७६/७७ मा ४८ अर्ब २९ करोड ८२ लाख पुगेको छ।

आर्थिक वर्ष २०७६/७७ मा सञ्चित नाफा गत आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब ७४ करोड ८० लाख पुगेको छ। सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा ०.९३ प्रतिशतले कमी आई ३४ अर्ब २३ करोड ६१ लाख कायम भएको छ।

आर्थिक वर्ष २०७६/७७ मा शेयर धनी कोष–नेटवर्थ गत आर्थिक वर्षको तुलनामा १३.११ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ९० करोड ३४ लाख भएको छ। समीक्षा अवधिमा संस्थानमा नेपाल सरकारको कुल लगानी गत आर्थिक वर्षको तुलनामा ११.८२ प्रतिशतले वृद्धि भई ५ खर्ब १९ अर्ब ५५ करोड ३६ लाख पुगेको छ।

गत आर्थिक वर्ष मूलतः विद्युत् उत्पादन र प्रसारण लाइन निर्माण, विमानस्थल निर्माण, खानेपानी र वित्तीय क्षेत्रका केही संस्थानमा थप लगानी गरिएकोले कुल लगानी बढ्न गएको हो।

हालसम्म ६ सार्वजनिक संस्थान नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकृत भई अघिल्लो आर्थिक वर्षको तुलनामा बजार पुँजीकरण २. १८ प्रतिशतले वृद्धि भएको छ। चार संस्थानको २२ आर्थिक वर्षको  नियमित रूपमा लेखा परीक्षण नभएकोले वित्तीय अवस्थाको यथार्थ मूल्याङ्कन नहुनुको साथै वित्तीय अनुशासनको पक्ष पनि कमजोर रहेको छ।

हाल अस्तित्वमा रहेका संस्थानमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत १४, अर्थ मन्त्रालयअन्तर्गत ९, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ५, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत ३, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत ३, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत ३, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत २, वन तथा वातावरण मन्त्रालयअन्तर्गत २, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत १/१  संस्थान रहेका छन्।

१५ जेठ, २०७८, ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।