कोरोना महामारीले दुई वर्ष देखि सामान्य औपचारिकतामा सीमित बुद्ध जयन्ती

कोरोना महामारीले दुई वर्ष देखि सामान्य औपचारिकतामा सीमित बुद्ध जयन्ती

लुम्बिनी : आज २५६५ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस। हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको सम्झनाका रूपमा मनाउने गरिन्छ। बुद्ध पूर्णिमाकै दिनलाई लुम्बिनी दिवसको रूपमा पनि मनाइँदै आएको छ।

निकै तामझाम र धूमधामका साथ मनाउँदै आएको बुद्ध जयन्ती कोभिड १९ कारण निषेधाज्ञा भएका कारण बुद्ध पूर्णिमा तथा लुम्बिनी दिवस गत वर्ष र यस पटक सामान्य औपचारिक कार्यक्रममा मात्र सीमित हुन पुगेको छ। कोभिड सङ्क्रमणकै कारण गत वर्ष पनि लुम्बिनीमा बुद्ध पूर्णिमाका अवसरमा कुनै कार्यक्रम हुन सकेका थिएनन्।

गत वर्ष चैत्र ११ गते मुलुक लकडाउनमा थियो। कोरोना सङ्क्रमण र लकडाउनका कारण जनसहभागितामा कार्यक्रम गर्न नमिलेपछि पूर्णमाको दिन बिहान मायादेवी मन्दिरमा पूजाआजा गर्ने तथा साँझ दीप प्रज्वलन गरेर मनाइएको थियो। 

यस पटक पनि कोभिड कै कारण जनसहभागितामा बुद्ध पूर्णिमामा ठुला औपचारिक कार्यक्रम गर्न नसकिएको लुम्बिनी विकास कोषले जनाएको छ। ‘विगत वर्षहरूमा बुद्ध पूर्णिमामा लुम्बिनीमा भव्य कार्यक्रमहरू हुने गर्दथ्यो, बुद्ध पूर्णिमा मनाउन राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न विदेशी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुख, विभागीय मन्त्री, कूटनीतिक नियोगका प्रमुख, सङ्घीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका बौद्ध मार्गीहरू, भिक्षु भिक्षुणीहरू लगायत लुम्बिनी आउनुहुन्थ्यो,’ कोषका सदस्य सचिव सानुराजा शाक्यले उकेरासँग भने, ‘कोभिडका कारण गत वर्ष र यो वर्ष सामान्य पूजाआजा र दीप प्रज्वलन गरेर बुद्ध पूर्णिमा मनाउँदै छौ।’

सदस्य सचिव शाक्यका अनुसार बिहान ९ बजे सम्म सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दे उपस्थित भएर २५६५ औँ बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले पठाएको शुभकामना सन्देश वाचन गर्ने, मायादेवी मन्दिर परिसरभित्र लुम्बिनीमा उपलब्ध महायानी, बज्रयानी र थेरवादी गुरुरगुरुमा, भिक्षुरभिक्षुणी, लामा गुरुहरूबाट धार्मिक पूजा तथा मन्त्रोच्चारण गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै लुम्बिनी विकास कोषको तर्फबाट सङ्घ दान गर्ने, बिहान ११ गौतम बुद्ध फलफूल बाटिका क्षेत्रमा २५ हजार फलफूलको बोटबिरुवा रोप्ने कार्यको शुभारम्भ गर्ने तथा साँझ ७  मायादेवी मन्दिर परिसरभित्र महामारीको रूपमा फैलिई रहेको कोरोना भाइरसबाट ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ।

निषेधाज्ञाका कारण औपचारिक कार्यक्रम नभएपछि विश्व शान्तिको मुहान लुम्बिनी यति बेला शान्त छ।

१२ जेठ, २०७८, ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।