रुपन्देहीमा बेड नपाइएपछि कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु लगेर अप्रेसन

रुपन्देहीमा बेड नपाइएपछि कोरोना संक्रमित गर्भवतीको कपिलवस्तु लगेर अप्रेसन

प्युठान स्थायी घर भएकी ३१ वर्षीया महिला उपचारका लागि सोमबार प्रादेशिक अस्पताल बुटवल गएकी थिइन्। गर्भवती रहेकी ती महिलाको पिसिआर टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

बच्चा जन्माउन बुटवल अस्पताल पुगकी उनी चार दिनअघि कोरोना पोजेटिभ देखिएकी थिइन्। तीन वर्ष अघि पनि बुटवल अस्पतालमै अप्रेसनबाट छोरा जन्माएकी ती महिलालाई चार दिनसम्म आइसोलेसनमा राखिएको थियो।

बेड अभावले उनको त्यहाँ उपचार हुन सकेको थिएन। भीम अस्पताल भैरहवामा समेत बेड अभाव थियो।
 प्रोदशिक अस्पतालका डाक्टरहरुले कपिलवस्तु अस्पतालमा ती महिलाको उपचारका लागि रिफर गरेका थिए।

‘बेड अभावले कोरोना संक्रमित गर्भवती महिलाको उपचार गर्न कपिलवसतु अस्पताल पठाइएको थियो,’ अस्पतालका मेसु किशोर बन्जाडेले भने, ‘ काम चुनौतीपूर्ण थियो, तर टिमको प्रयासले हामी उपचार गर्न सफल भयौं।’

बिहीबार राति ९ बजेर ५७ मिनेटमा ती महिलाको अप्रेसन गरी ३ किलो २४० ग्रामको बच्चा जन्माइएको अस्पतालका डाक्टर गणेश क्षेत्रीले बताए।

ती महिलाको दुई वटा बच्चा खेर गइसकेको थियो। ‘प्रसूति पीडा भएको बेला कोरोना संक्रमित भएपछि ती महिलाको उपचार चुनौतीपूर्ण थियो, तर हामीले उनको सफल उपचार गर्यौ,’ उनले भने।

महिला र बच्चालाई अस्पतालमा छुट्टाछुट्टै राखिएको छ। बच्चाको पिसिआर टेस्टका लागि पठाइएको छ। आमा र बच्चाको अवस्था ठिक रहेको डा क्षेत्रीले बताए।

कपिलवस्तु अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा किशोर बन्जाडे, डा पुनम लामा, डा गणेश क्षेत्री, एनेस्थेसिया सहायक रमेशकुमार महतो, नर्सिङ कर्मचारी रविना क्षेत्री, आयुष्मा अर्याल तथा सहयोगी सकरुन निशा लगायतको टोली अप्रेसनमा सहभागी थियो।

१७ बैशाख, २०७८, १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।