निषेधाज्ञाको अवज्ञा गर्दा रुपन्देहीमा ३ जनालाई जेल

निषेधाज्ञाको अवज्ञा गर्दा रुपन्देहीमा ३ जनालाई जेल

जिल्लामा सङ्क्रमणको ग्राफ बढेपछि स्थानीय प्रशासनले बिहीबार देखि वैशाख ३० गतेसम्म निषेधाज्ञा लगाएको छ।
निषेधाज्ञाको अवज्ञा गरी हिड्डुल गर्दा पक्राउ पर्नेहरूमा काठमाडौँ ५२ वर्षीय हरि शाही ठकुरी, रुपन्देही मायादेवी गाउँपालिका २ का ३४ वर्षीय महेन्द्र कहार, मायादेवी ४ का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका (भैरहवा) ८ का २८ वर्षीय श्याम दुबे, सिद्धार्गजगरका ९ का ३८ वर्षीय ईरशाद आलम, सिद्धार्थनगर ६ की २६ वर्षीय सविता खनाल, सोही स्थानका ३७ वर्षीय प्रितम कुँवर र ३४ वर्षीय प्रेम कुँवर रहेका छन्।
निषेधाज्ञाको अवज्ञा गर्नेलाई सम्झाई बुझाई गर्दा पनि ड्युटीमा खटिएका प्रहरीलाई बाधा अवरोध पुर्याउने आठ जनालाई पक्राउ गरी सङ्क्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डिएसपी एवं प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए।
पक्राउ परेकाहरूलाई आवश्यक कारबाईँका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देही पठाइएको थियो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले उनीहरू मध्ये ७ जनालाई एक महिना कैद वा सो बराबरको जरिवाना ९ हजार एक सय रुपैयाँ र एक जनालाई ६ सय रुपैयाँ जरिवानाको आदेश गरेका थिए।
जसमध्ये ५ जनाले कैद र जरिवाना बापतको रकम दाखिला गरेपछि छाडिएको र अन्य ३ जना दिनेश यादव, श्याम दुवे र महेन्द्र कोहारले कैद वा सो बराबरको जरिवाना अनुरूप रकम नबुझाउँदा उनीहरूलाई सजाए भुक्तानका लागि भैरहवा कारागारमा पठाइएको डिएसपी थापाले बताए।
त्यस्तै निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार २० वटा विभिन्न सवारी साधन र एक हजार चार सय ७० जना (पैदल यात्री २ सय समेत) लाई होल्ड गरी सम्झाई बुझाई छाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

१६ बैशाख, २०७८, २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।