बुटवलको कोरोना विशेष अस्पतालमा आधा घण्टामै ३ जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा आधा घण्टामै ३ जनाको मृत्यु

बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुधवार राति आधा घण्टाको अवधिमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

बुटवल ११ का ३१ वर्षीय पुरुषको गत राती साढे १ बजे मृत्यु भएको थियो भने पौने ३ बजे बुटवल १४ का ६६ वर्षीय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।  त्यसै गरी ३ बजे मायादेवी ६ का ७२ वर्षीया महिलाको पनि उपचारका क्रममा मृत्यु भएको थापाले जानकारी दिए। डा. थापाका अनुसार २ जना ११ गते अस्पताल भर्ना भएका थिए भने बुटवल १४ का सङ्क्रमित ९ गते अस्पताल भर्ना भएका थिए। 

रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८४ पुगेको छ। हिजो पनि रुपन्देहीमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको थियो।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ११ जनाको आइसियुमा र ५ जनाको भेन्टिलेटरमा गरी जम्मा १६ जनाको उपचार भइरहेको छ।  

उता लुम्बिनी प्रदेशमा सामान्य लक्षण देखिएका जम्मा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ५९ जना रहेको छ। ती मध्ये आइसियुमा १ सय ६५ जना र भेन्टिलेटरमा २५ जनाको उपचार भइरहेको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ। 

१६ बैशाख, २०७८, ११:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।