अनुहार हेरेर बेलहियाबाट नेपाल प्रवेश, सीमाबाटै हराउँछन् कोरोना पोजेटिभ

अनुहार हेरेर बेलहियाबाट नेपाल प्रवेश, सीमाबाटै हराउँछन् कोरोना पोजेटिभ

बेलहिया (भैरहवा) : कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएसँगै सीमावर्ती जिल्ला रुपन्देहीमा पनि संक्रमण दर उच्च हुँदै गएको छ। संक्रमणको जोखिम बढ्दै गए पनि नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी देखिएको छैन।

नेपालमा देखिएका पछिल्ला कोभिड संक्रमितमध्ये अधिकांशको ट्राभल्स हिस्ट्रीमा भारतका विभिन्न सहर रहेको उल्लेख छ। खुला सिमानाका कारण नेपाल–भारत आउजाउ गर्न निकै सहज छ। यसले गर्दा पनि संक्रमण तीव्र फैलिएको जानकारहरुको भनाइ छ।

रुपन्देहीको बेलहिया नाका हुँदै दैनिक सरदर एक हजारको हाराहारीमा मानिसहरु नेपाल प्रवेश गरिरहेको भए पनि ४÷५ सय जनाको मात्रै सीमा–नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा इन्ट्री गर्ने गरिएको छ।

प्रभावहीन हेल्थ डेक्स
भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि बेलहिया नाकामा गएको चैत १० गतेदेखि पुनः हेल्थ डेस्क स्थापना गरियो। भारतबाट नेपाल आउने हरेक यात्रुको ज्वरो मापनसहित कोभिड–१९ को सामान्य लक्षणको निदान गरी त्यसको आधारमा नेपाल आउनेलाई प्रवेश दिने र शंकास्पद यात्रुको सिमानामैं स्वाब परीक्षण गरी हेल्थडेस्क स्थापना गरिएको हो।

तर, जनशक्ति अभाव र विभिन्न झन्झटका कारण धेरैजसो यात्रु हेल्थ डेस्कतर्फ नलागी आफूखुसी नेपाल प्रवेश गर्ने गरेका छन्।

९ जनाको दरबन्दी भनिएकोमा हेल्थ डेस्कमा जम्मा तीन जना स्वास्थ्यकर्मी छन्। जसले गर्दा भारतमा रोजगारी गरी फर्कनेहरुको ज्वरो नापजाँच समेत हुन सकेको छैन।

हेल्थ डेस्क स्थापनापछि भारतबाट साढे १५ हजार बढी नेपाली स्वदेश फर्किएका छन्। यीमध्ये अहिलेसम्म १ सय ५ जनाको मात्रै एन्टिजेन जाँच भएको छ। जनशक्ति अभाव र भीडभाडले गर्दा निर्वाध रुपमा आउजाउ छ। यसले गर्दा रुपन्देही कोरोना संक्रमणको हटस्पट बन्दै गएको छ।

सीमामा स्थापना गरिएको हेल्थ डेस्क प्रभावहीन देखिएको छ। हेल्थ डेस्कबाट  भारतबाट नेपालतर्फ आउनेलाई अनुहार हेरेर प्रवेश दिइने गरिएको छ। भारतीय मुलका नागरिक जस्ता देखिनेलाई सामान्य ज्वरोसम्म नापेर पठाउने गरिए पनि अधिकांश भारतबाट आउने नेपालीलाई भने सिधै प्रवेश दिइएको छ। भारतबाट अलि ठूलो झिटिगुन्टा बोकेर आउने नेपालीको भने रेकर्ड राखेर ज्वरो भने नापेर पठाइने गरिएको छ।

१०० डिग्री भन्दा माथि ज्वरो आएका र सामान्य लक्षण देखिएकालाई भने नजिकै रहेको होल्डिङ सेन्टरमा रहेको एन्टिजेन जाँच गर्ने स्थानमा लगेर जाँच गर्ने गरिएको छ।

वैशाख १३ गते स्थापना भएको हेल्थ डेस्कमा बुधबार दिउँसोसम्म १ सय ५ जनाले एन्टिजेन जाँच गरेको त्यहाँ कार्यरत ल्याब टेक्निसिएन दिया शर्माले जानकारी दिइन्। उनका अनुसार १ सय ५ जनामध्ये ७ जनालाई कोरोना पोजेटिभ देखिएको छ। उनीहरुलाई प्रहरीको सहायतामा आफ्नो घरतर्फ पठाइएको शर्माको भनाइ छ।

कोरोना पोजेटिभ नै हराउँछन् सीमाबाट
भारतमा रोजगारी गरी फर्किएका नवलपरासीका एक पुरुषको रुपन्देहीको बेलहिया नाकामा एन्टिजेन जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। होल्डिङ सेन्टरमा बसिरहेका उनी कोरोना पुष्टिपछि त्यहाँबाट भागे। अहिले उनी कहाँ छन् भन्ने अत्तोपत्तो छैन।

बुधबार दिउँसोसम्ममा उनीजस्तै बेलहिया नाका हुँदै फर्किने अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ। कतिपयलाई प्रहरीले सहायताले आफ्नो घरसम्म पु¥याइए पनि कतिपय भने होल्डिङ सेन्टरमा बस्छु भनेर भाग्ने गरेका छन्।

खुला सिमानाका कारण लुकीछिपी दैनिक सयौंको संख्यामा नेपाली तथा भारतीय नेपाल प्रवेश गर्ने गरेका छन्। जसका कारण नेपाल कोरोनाको हटस्पट बन्दै गएको छ।

जिल्लामा कोरोना संक्रमण दर उच्च बन्दै गएपछि जिल्ला स्तरीय कोडिभ संकट व्यवस्थापन केन्द्रले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गरेको हो। तर होल्डिङ सेन्टर प्रभावकारी नहुँदा संक्रमण फैलिने त्रास बढेको छ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सरकारले तोकेका मापदण्डमा कडाई गरी भीडभाड नगर्न निर्देशन दिएको दावी गरे। उनले सीमा–नाकामा चेकजाँचलाई थप प्रभावकारी बनाउने उल्लेख गरे।

९ बैशाख, २०७८, १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।