अविश्वास प्रस्ताव असफल बनाउन जसपाका चार सांसदलाई मन्त्री

अविश्वास प्रस्ताव असफल बनाउन जसपाका चार सांसदलाई मन्त्री

बुटवल : आफू विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको केही घन्टामैं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपाका चार सांसदलाई मन्त्री बनाएका छन्।

मन्त्री हुनेमा जसपा संसदीय दलका प्रमुख सचेतक सन्तोषकुमार पान्डे, सांसदहरु कल्पना पाण्डे, विजयबहादुर यादव र सुमन रायमाझी छन्। पाण्डेले भुमि व्यवस्था तथा कृषी तथा सहकारी, कल्पना पाण्डे शिक्षा तथा सामाजिक, यादवलाई भौतिक पूर्वाधार विकास र रायमाझीलाई भौतिक पूर्वाधार र विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्।

नवनियुक्त चारै जना मन्त्रीहरुलाई आजै प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराइएको । प्रदेश प्रमुख कार्यालयमा मुख्यमन्त्री एवं मन्त्रीहरु उपस्थितिमा सपथ ग्रहण गराइएको हो।

मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएसँगै उनी अल्पमतमा परेका थिए। मुख्यमन्त्री पोखरेलले आफ्नो सरकार ढल्नबाट जोगाउन जसपाका चार सांसदलाई मन्त्री बनाएको  हो। 

पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै आजै लुम्बिनी प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका थिए। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजिनामा दिएका थिए।

माओवादी केन्द्रले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावसँगै कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको थियो।

६ बैशाख, २०७८, १६:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।