लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल अल्पमतमा परेका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेकाले पोखरेल अल्पमतमा परेका हुन्। 

माओवादी केन्द्रका नेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै अविश्वासको प्रस्ताव दर्ता गरिएको छ। 

प्रस्तावमा ४१ जना सदस्यको हस्ताक्षर रहेको नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खाँनले जानकारी दिए। 

‘हामीसँग सरकार गठनको लागि आवश्यक पर्ने ४३ सांसद छन्। अहिले ४१ सांसदको हस्ताक्षर बुझाएका छौँ।’ उनले भने। अविश्वास प्रस्तावमा काँग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जना सांसदले हस्ताक्षर गरेका छन्। 

८७ सदस्यीय प्रदेशसभामा दुई सदस्य माओवादी केन्द्रको कारबाहीमा परेर पदमुक्त भएकाले अहिले ८५ सदस्य छन्। नयाँ सरकार बनाउन ४३ जना सांसद आवश्यक पर्दछ।

प्रदेशसभामा एमालेका ४१, नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन्।

६ बैशाख, २०७८, १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।