बेलहियाका ६ महिलाको लगन : घरको काम, समाजसेवा र उद्यम

बेलहियाका ६ महिलाको लगन : घरको काम, समाजसेवा र उद्यम

भैरहवा : मिहिनेत लगन भयो भने महिलाले पनि पुरुषको भन्दा उत्कृष्ट काम गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्, रुपन्देही, सिद्धार्थनगर नगरपालिका–१ का ६ जना महिला।

उनीहरू दैनिक घरको सबै काम सक्छन् र आफ्नै उद्यममा लाग्छन्। नेपाल–भारत सीमा नाका बेलहियाका ती महिला समाजसेवामा पनि उत्तिकै क्रियाशील छन्। 

घर र सामाजिक कामका साथै उनीहरूले व्यक्तिको नाममा रहेको साढे १२ कठ्ठा जग्गा लिजमा लिएर बेलहियामा सामूहिक कुखुरा पालन गरिरहेका छन्।

महिला आत्मनिर्भर बन्नुपर्छ भन्ने सोचका साथ ती महिलाले बेलहियामा लोकल जातका कुखुरा पालन सुरु गरेका हुन्। आफूहरु सहित परिवारको आर्थिक अवस्था मजबुत बनाउन उनीहरू कम्मर कसेर लागेका छन्। 

बेलहियाकी देवी न्यौपाने, मिनाक्षी क्षेत्री, सीमा प्रधान, सम्झना भण्डारी, सिर्जना पोखरेल, संगीता शर्मा ज्ञवाली मिलेर ५० लाखको लगानीमा बेलहिया अर्गानिक फार्म सञ्चालनमा ल्याएका छन्। फाम सञ्चालनका लागि उनीहरूले वार्षिक १ लाख ५० हजार भाडा बुझाउँदै आएका छन्। 

उनीहरूको उक्त फार्ममा अहिले १ हजार ६ सय लोकल जातका कुखुरा छन्। ‘२०७६ भदौबाट ५ सय लोकल कुखुराको चल्ला राखेर फार्म सुरु गरेका हौँ’, फार्मकी अध्यक्ष देवी न्यौपानेले भनिन्, ‘अहिलेसम्म दुई पटक कुखुरा बिक्री गरिसक्यौँ, नाफा नभए पनि नोक्सानी व्यहोर्नु परेको छैन, हामी सन्तुष्ट छौँ।’ 

सुरुमा थोरै कुखुरा राखेर काम गरेकाले खासै फाइदा नभए पनि अब भने बिस्तारै फाइदा हुँदै जानेमा आफूहरू विश्वस्त रहेको उनीहरू बताउँछन्। 

६ जना महिलामध्ये केहीले भने आफ्नै सक्रियतामा छुट्टै व्यवसाय पनि सञ्चालन गरेका छन्। आर्थिक रूपमा सबल तथा आत्मनिर्भर भए घरपरिवारका साथै समाजलाई रूपान्तरण गर्न सकिन्छ भन्ने आत्मबलका साथ सामूहिक रूपमा फाम सञ्चालन गरिएको अध्यक्ष न्यौपानेले उल्लेख गरिन्। 

यसरी भयो सुरुवात 

कोरोना भाइरसका कारण मुलुक लकडाउनको अवस्थामा थियो। उनीहरू जस्ता थुप्रै कामकाजी महिला लकडाउनका कारण घरभित्र थुनिएर बस्न बाध्य भए। लकडाउनको अन्त्य होला भन्दाभन्दै झन् बढेपछि सामूहिक रूपमा केही नयाँ काम गर्ने सोच पलाएको उनीहरू बताउँछन्।

सुरुमा बेलहियामा उनीहरूले नै नेतृत्व गरेको क्रियाशील संस्था गृहलक्ष्मी समूहमा रहेका २० जना महिला मिलेर भैँसी फार्म सञ्चालन गर्ने योजना थियो। लकडाउन बढ्दै गएका कारण त्यसले भने पूर्णता पाउन सकेन। 

सामूहिक रूपमा काम गर्ने सोच बनाएपछि उनीहरू जग्गा खोजीमा थिए। लकडाउनकै बिच उनीहरू बस्ने नजिकै जग्गा भेटियो। तर तत्काललाई भैँसी पाल्न छोडेर कुखुरा पालनतर्फ लागे। गृहलक्ष्मी समूहमा आबद्ध सबै जना मिलेर भैँसी पाल्ने सपना पूरा नभएपछि त्यसै मध्येका ६ जना महिला मिलेर बेलहिया अर्गानिक फाम सुरु गरेको फार्मकी सञ्चालक संगीता शर्माले जानकारी दिइन्। 

उनीहरूले फार्मलाई विस्तार गर्दै लैजाने योजना रहेको उल्लेख गरे। उनीहरूले उक्त फाममा कुखुराका साथै निकट भविष्यमै बाख्रा  र भैँसी पनि पाल्न सुरु गर्ने बताए।  

बाँडेर काम गर्छन्

धेरै ठाउँमा सामूहिक कामले गति लिन नसकेको उनीहरूलाई राम्रोसँग थाहा छ। योजना बनाउने बेलामा नै उनीहरूले आफूहरूले गर्न लागेको कामलाई दिगो र दीर्घकालीन बनाउन जिम्मेवारी बाँडफाँड गरेका थिए।

६ नै जना सञ्चालक प्रत्येक दिन साँझ–बिहान फार्ममा पुग्छन्। फार्ममा नियमित काम गर्नका लागि उनीहरूले तीन जनाको एक परिवारलाई रोजगारी दिएर राखेका छन्। ६ जनामध्ये कसले के काम गर्ने भन्ने जिम्मेवारी अनुसार आफूहरूले काम सम्हाल्ने गरेको फार्मकी अध्यक्ष न्यौपानेको भनाइ छ। 

‘हामीले ६ जनालाई नै कामको बाँडफाँड गरेका छौँ,’ उनले भनिन्, ‘हामीमध्ये दुई जनाले चल्ला ल्याउने, दुई जनाले दानाको व्यवस्थापन गर्ने र दुई जनाले बजार प्रवर्द्धन तथा कुखुरा बिक्री गर्ने काम गर्छौँ।’

समाजमा महिलाले नेतृत्व लिएर पनि व्यवसाय सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण पेस गर्न हरेक चुनौतीलाई अवसरमा बदल्न उक्त कार्यको थालनी गरेको उनीहरूको भनाइ छ। 

कुखुरा खोसाखोस 

पछिल्लो समय अर्गानिक फार्मबाट उत्पादित खाद्य वस्तुमा आम मानिसको रुचि बढेको छ। स्वास्थ्यका हिसाबले निकै राम्रो मानिएका कारण अर्गानिक खाद्य वस्तुमा मान्छेको आकर्षण बढेको हो। त्यस्तै लोकल कुखुरा तथा कालिजमा पनि मानिसको रुचि ह्वात्तै बढेको छ। पछिल्लो समय लोकल कुखुराको माग बढेपछि लोकल कुखुरा पाल्ने समूहको संख्या पनि बढेको छ।

उनीहरूले पालेका कुखुरा पनि अहिले बेलहिया तथा भैरहवाभन्दा बाहिर पठाउन पाइएको छैन। ‘बेलहिया तथा भैरहवामा नै माग धान्न सकेका छैनौँ, कहाँबाट अन्य ठाउँमा पठाउनु? बिक्री गर्ने बेला भएको थाहा पाए फार्ममै आएर सबै उठाउँछन्,’ फार्मकी अध्यक्ष न्यौपानेले भनिन्।

२ बैशाख, २०७८, ०७:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।