सरकारी निर्णयको अवज्ञा गर्दै रूपन्देहीका संस्थागत विद्यालय सञ्चालन 

सरकारी निर्णयको अवज्ञा गर्दै रूपन्देहीका संस्थागत विद्यालय सञ्चालन 

भैरहवा : सरकारले अत्यधिकरूपमा वायु प्रदूषण बढेको भन्दै आज (मंगलबार)देखि चार दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि रूपन्देहीका संस्थागत विद्यालयले त्यसको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेका छन्। 

रूपन्देहीमा प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयले संघीय सरकारको निर्णयको अवज्ञा गर्दै विद्यालय सञ्चालन गरेका हुन्। 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि चार दिनसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो। 

प्याब्सन रूपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले वायु प्रदूषणका कारण संघीय सरकारले सम्पूर्ण शिक्षण संस्था बन्द गर्न भनेको तर परीक्षा सञ्चालन गर्न पाइने भएकाले रूपन्देहीका अधिकांश विद्यालयमा परीक्षा सञ्चालन भइरहेको बताए। 

उनले पूर्वी जिल्लाका स्थानीय तहले भने विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताए। ‘रूपन्देहीका स्थानीय तहहरूले विद्यालय सञ्चालनबारे आज के निर्णय गर्छन्, त्यही अनुसार अगाडि बढ्छौं,’ पौडेलले भने। 

एनप्याब्सन रूपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्यालले आफूहरूले विद्यालय सञ्चालन गर्नेबारे कुनै निर्णय नगरिएको बताए।

‘संगठनले विद्यालय बन्द गर्ने भनेका छैनौं, कसैले खोलेका छन् भने त्यो उहाँहरूको एकल निर्णयबाट खुलेका हुन्। मेरो विद्यालयको कुरा गर्नु हुन्छ भने मैले विद्यालय बन्द गरेर बसेको छु,’ उनले भने।  

सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष गम्भीर गुरुङले विद्यालयहरू सञ्चालन भइरहेको बताए। 

उनले विद्यालय सञ्चालनबारे स्थानीय तहबाट आधिकारिक सूचना नआएको जानकारी दिए।

सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बढ्दै गएको वायु प्रदूषणका कारण स्वास्थ्य जोखिमलाई ध्यान दिँदै संघीय सरकारले विद्यालय बन्दको निर्णय गरेको बताए। 

उनले सिद्धार्थनगर नगरपालिकाले विद्यालय सञ्चालन गर्ने निर्णय नगरेको बताए। विद्यालय सञ्चालन भइरहेका छन् नि भन्ने प्रश्नमा उनले भने, ‘संघीय सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो, हामीले फरक निर्णय गरेका छैनौं।’

नेपाल शिक्षक संघ नगर कार्यसमिति, सिद्धार्थनगरका अध्यक्ष अब्र्दुरहमान खानले मुलुकमा संघीयता आइसकेपछि संघीयता कार्यान्वयनको लागि विद्यालयसम्बन्धी अधिकार स्थानीय तहलाई दिनुपर्ने बताए। उनले कोरोना महामारीको कारण लामो समयसम्म विद्यालय बन्द रहेको र अहिले कोर्स सकाउनुपर्ने र परीक्षा सम्पन्न गर्नुपर्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय भने ठीक नभएको बताए। 

‘जहाँ वायु प्रदूषणको प्रभाव छ, त्यहाँ विद्यालय बन्द गर्दा ठीकै छ। तर, सबै ठाउँमा विद्यालय बन्द गर्ने निर्णय ठीक होइन,’ खानले भने। 

केही भागमा देखिएको प्रदूषणका कारण देशभर एउटै निर्णय गर्न नहुने उनको भनाइ छ।

भानु माध्यमिक विद्यालय सिद्धार्थनगर–९, रूपन्देहीका प्राचार्य मोतीलाल सुवेदीले आज (मंगलबार) विद्यालय बन्द रहेको र भोलिदेखि पठनपाठन नभए पनि परीक्षा सञ्चालन हुने बताए। 

१७ चैत, २०७७, १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।