बुटवल–नारायणगढ सडक विस्तार : निर्माण सुस्त, ३ वर्षमा साढे ४ प्रतिशतमात्र प्रगति

बुटवल–नारायणगढ सडक विस्तार : निर्माण सुस्त, ३ वर्षमा साढे ४ प्रतिशतमात्र प्रगति

बुटवल : ८ चैत २०७५ मा निकै तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल-नारायणगढ सडक खण्डको शिलान्यास गरे।

‘फास्ट ट्रयाक’ मा काम गरिने भन्दै प्रधानमन्त्रीले ओलीले शिलान्यास गरेको तीन वर्ष बितिसक्दा पनि सडक निर्माणले भने गति लिन सकेको छैन।

मध्य नेपालको २ लेनको बुटवल-नारायणगढ सडक खण्ड विस्तार गरी चार लेन र ६ लेनको बनाउने भन्दै सडक शिलान्यास गरिएको थियो। ‘एक्सप्रेस हाइवे’ को रूपमा विकास गर्नेगरी शिलान्यास गरिएको तीन वर्ष बित्दासम्म सडक निर्माणको खासै सुरसार हुन सकेको छैन। सडक निर्माणको यो गति हेर्दा यो आयोजना समयमा सम्पन्न हुने छाँटकाँट नै देखिँदैन।

‘फास्ट ट्र्याकमा सम्पन्न गर्ने दावी गरिएको सडक निर्माण कार्य अर्को तीन वर्षमा पनि सम्पन्न हुनेमा शंका उब्जिएको छ।

निकै तामझामका साथ सडक शिलान्यास हुँदा उत्साहित भएका यस क्षेत्रका उद्योगी, व्यवसायी तथा सर्वसाधारण लामो समयसम्म सडक निर्माणले गति नलिएपछि निराश भएका छन्।

१ सय १४ किलोमिटर सडक साढे तीन वर्षमा सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। तर सम्झौता भएको तीन वर्ष पूरा हुँदासम्म बुटवलदेखि दाउन्नेसम्मको खण्डमा साढे चार प्रतिशत मात्र काम भएको छ।

आयोजना सम्झौता भएको एक वर्षसम्म आयोजनास्थलमा सडक निर्माणका लागि आवश्यक पर्ने सामाग्री तथा इक्युप्मेन्ट ल्याइँदै थियो। इक्युप्मेन्टहरु भारत, पाकिस्तान लगायतका देशबाट ल्याइनुपर्ने भएकाले समय लागेको आयोजनाले बताएको छ।

बुटवलदेखि नारायणगढसम्म दुई खण्डमा सडक निर्माण भइरहेको छ। बुटवलदेखि दाउन्नेसम्म एक खण्ड र दाउन्नेदेखि नारायणगढसम्म अर्को खण्डमा काम भइरहेको छ। बुटवलदेखि दाउन्नेसम्मको खण्डमा तीन वर्षको अवधिमा साढे ४ प्रतिशत मात्र काम सम्पन्न भएको छ।

सम्झौता अनुरुप सडक निर्माणको काम सम्पन्न हुन अब १८ महिनामात्र बाँकी छ। तर आयोजना सम्पन्न हुने समय नजिकिँदै गर्दा आयोजनाले भौतिक तथा आर्थिक दुवै प्रगति गर्न सकेको छैन। आयोजनाले अहिलेसम्म मोबिलाइजेसन खर्च मात्रै दिएको छ।

७ अर्बको लागतमा निर्माण सम्पन्न गर्ने भनिएको आयोजनामा हालसम्म १ अर्ब जति खर्च भएको आयोजनाका इन्जिनियर प्रदीप शाक्यले बताए।

सडक निर्माणपूर्व गरिनुपर्ने पूर्वतयारीमा केही ढिलाइ हुँदा र कोभिड-१९ महामारीका कारण सडक विस्तारमा ढिलाइ भएको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार पछिल्लो समय भने सडक विस्तारमा केही प्रगति भएको छ।

बुटवलदेखि दाउन्नेसम्मको सडकमा अहिले रुख कटान, सडक छेउमा माटो फिलिङ, ढल निर्माण तथा पुल निर्माणको कामले गति लिएको इन्जिनियर शाक्यले जानकारी दिए।

सडक किनारामा रहेका विद्युतका पोल सार्ने तथा तार तान्ने काम पनि एक साथ अगाडि बढेको उनको भनाइ छ।

‘रूख कटानको लागि वन मन्त्रालयमा प्रक्रिया पूरा गर्न केही समय लाग्यो, त्यसले गर्दा पनि सडक विस्तारका लागि हामीलाई समय लागेको हो,’ उनले भने, ‘रुख कटानको काम लगभग अन्तिममा पुगेको छ।’

बुटवलदेखि दाउन्नेसम्मको खण्डमा १२ हजार रुख काट्नुपर्ने थियो। त्यसमध्ये ९ हजार जति रुख कटान गरिएको र बाँकी ३ हजार रुख काट्ने काम पनि जारी रहेको उनले जानकारी दिए।

रूख गणना गर्न नै लाग्यो साढे चार महिना
यो सडक विस्तार गर्ने क्षेत्रमा बस्ती र घना जंगल छ। सडक विस्तार गर्दा काटनुपर्ने रूखहरू गणना गर्न नै आयोजनाले साढे चार महिना लगाएको थियो। बुटवलदेखि नारायणगढ क्षेत्रमा रहेका झन्डै ४२ हजार रूख कटान गर्नुपर्ने थियो। बुटवलदेखि दाउन्नेसम्म १३ हजार रुख कटान गर्नुपर्ने थियो। त्यसमध्ये अहिलेसम्म ९ हजार रुख कटान गरिएको आयोजनाले जनाएको छ।

२०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले बुटवल–नारायणगढ सडक खण्डको शिलान्यास गरेर निर्माण गरिएको थियो। सडक निर्माण भएको ५७ वर्षपछि बस्तीमा चार लेन र जंगलमा ६ लेनमा सडक विस्तार गर्न सुरू गरिएको हो। यो सडक २८ किलोमिटर ६ लेनको र बाँकी चार लेनको बन्ने छ।

अहिले यो सडक दुई लेनको छ। यो सडक महेन्द्र राजमार्गको एक हजार २७ किलोमिटर सडक खण्डमध्येमा पर्ने सडक हो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा विस्तार हुन लागेको यो सडकको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ। पहिलो प्याकेज बुटवलदेखि दाउन्नेसम्म ४९ किलोमिटर र दाउन्नेदेखि नारायणगढसम्म ६५ किलोमिटर रहेको छ।

२०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। आयोजनाको ठेक्का २०७५ साल पुस ४ गते भएको थियो।

कहिले बनेको थियो महेन्द्र राजमार्ग
पूर्वराजा महेन्द्रले २०१८ सालमा नवलपरासीको गैँडाकोटमा ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए। ४ वर्षमा निर्माण सम्पन्न भएपछि २०२२ सालमा गैंडकोटमै महेन्द्रले ‘महेन्द्र राजमार्गर्’को उद्घाटन गरेका थिए।

महेन्द्र राजमार्ग बन्नुअगाडि नेपालमा राज्यका न्यूनतम पूर्वधारहरु समेत थिएनन्। राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो।

१३ चैत, २०७७, १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।