सर्वदलीय बैठकमा राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्रीले भने- संसद् भङ्ग गरेर निर्वाचनमा जाऊँ

सर्वदलीय बैठकमा राष्ट्रपतिलाई साक्षी राखेर प्रधानमन्त्रीले भने- संसद् भङ्ग गरेर निर्वाचनमा जाऊँ

काठमाडौँ : राष्ट्रपति निवासमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ निर्वाचनमा जान दलका नेताहरूलाई आग्रह गरेका छन्। उनले राष्ट्रपतिसँगै बसेर ताजा जनादेशमा जान दलहरूलाई प्रस्ताव गरे।

‘अहिले संसद् चल्न सकेको छैन। पुनर्स्थापना भएर के भयो र,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै सर्वदलीय बैठकमा सहभागी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने‘ ताजा जनादेशमा जाऊँ।’

राष्ट्रपतिको आशय पनि ताजा जनादेशमा जाऊँ भनेर दलहरूलाई मनाउन सर्वदलीय बैठक राखेको देखिएको पौडेलको प्रतिक्रिया छ।

सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले संसद् विघटनजस्तै विधि र प्रक्रिया मिचेर ताजा जनादेशमा जाने कुरामा विश्वास गर्न नसकिने प्रतिउत्तर दिएका थिए। वर्तमान संसद्को आयु पाँच वर्षको भएको र बिचैमा निर्वाचनमा जाँदा जसरी सरकारले संविधान प्रतिकुल गतिविधि गरेको थियो सोही व्यवहार दोहोर्याउँदैन भनेर विश्वास गर्न नसकिने दलका नेताहरूको प्रतिक्रिया थियो।

‘सदन चलाउने जिम्मा सरकारकै हो। तर संसद् पुनर्स्थापना भएको मन नपराएको सरकारले सदन चलाउन चासो देखाएको छैन,’ पौडेलले उकेरासँग भने, ‘ताजा जनादेश लोकतन्त्र हो भनेर सरकारले रटान लगाइरहेको छ। तर विधि सम्मत रूपमा ताजा जनादेशमा जाने तयारी भने देखिएन।’

माओवादी केन्द्रका नेता देव गुरुङले प्रधानमन्त्रीले संसद् भङ्ग गरेर निर्वाचनमा जाऊँ भनेपछि सर्वदलीय बैठकमा सहभागी अन्य दलका नेताहरूले असहमति जनाएको दाबी गरे।

उनले भने‘ प्रधानमन्त्रीले फेरि संसद् विघटनको प्रस्ताव गरेपछि अन्य दलका नेताहरूले सर्वोच्च अदालतको फैसला अनुसार अगाडि बढ्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरे।’

सर्वदलीय बैठकमा सहभागी जनमोर्चाका नेता चित्रबहादुर केसीले राष्ट्रपति दलहरूलाई मिलेर अगाडि बढ्न आग्रह गरेको बताए। केसीका अनुसार अहिलेको समस्या दलहरूले नै समाधान गर्ने हो भन्दै उनले बैठकमा आफ्नो बङ्गलादेशको भ्रमणबारे समेत जानकारी गराएकी थिइन्।

३ चैत, २०७७, १८:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।