शिवरात्रिमा जटाधारी बाबाको सङ्ख्या कम हुने अनुमान  

शिवरात्रिमा जटाधारी बाबाको सङ्ख्या कम हुने अनुमान    
फाइल तस्विर

काठमाडौँ : पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा फागुन २७ गते बिहीबार महाशिवरात्रि पर्व मनाइदैछ। महाशिवरात्रि सबै नेपाली विशेष गरी हिन्दुहरूको प्रमुख पर्वका रूपमा चिनिएको छ।  

शिवजीको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्री, सुखरात्री र शिवरात्रि नामक चार प्रमुख रात्रि मध्ये एक पवित्र रात्रीकारूपमा पुराणहरूमा वर्णित छ। महाशिवरात्रीको व्रतमा भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। पशुपति क्षेत्र विकास कोषको वेबसाइटमा शिवरात्रि पर्वलाई पर्वहरूको राजा भनिने लेखिएको छ।  

शिवरात्रिमा ठुला साना शिव मन्दिरहरूमा धूमधामसँग पूजा पाठ सहित, दर्शन गर्ने परम्परा रहेको छ। शिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न ११ वटा तयारी समिति गठन गरेको छ। 

प्रहरीले पशुपतिनाथ दर्शनका लागि पुगेका मान्छे हराएमा खोज्न खोजतलास टिम बनाएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ। विगतमा जस्तै मेडिकल, पानी लगायत खोजतलास टिम पनि हुने वृत्तका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए। 

बस्नेतका अनुसार सुरक्षाका लागि ४ हजार भन्दा धेरै प्रहरी खटिनेछ। ‘बनकालीबाट मात्रै नभई चारै तर्फ प्रहरी परिचालन हुनेछ,’ उनले भने, ‘महाशिवरात्रि सुरक्षा योजना तयार गरेर जनशक्ति परिचालन हुनेछ।’

पशुपतिनाथमा आउने धर्मावलम्बी दर्शनार्थीलाई पूजा आजा सहज वातावरणमा गराउन पशुपति क्षेत्र विकास कोष सहित विभिन्न सङ्घसंस्था लाग्ने उनले बताए। दर्शनका लागि आउने दर्शनार्थीलाई विगत जस्तै यो बर्षपनि गरगहना लगायतका बहुमूल्य चिज नलगाउन प्रहरीले अनुरोध गरेको छ।

मन्दिर प्रवेशका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड मास्क लगाउनु पर्नेछ। कानुनले निषेध गरेका लागू पदार्थ खान पाइने छैन। शिवको प्रसाद भन्दै पशुपतिमा शिवरात्रिका लागि आएका बाबाहरूसँग गाँजा खान दिने/नदिने छलफल गर्नुपर्ने डिएसपी बस्नेतले बताए। ‘विगत वर्षमा के हुन्थ्यो, त्यो बुझ्नु छ,’उनले भने, पशुपति क्षेत्र विकास कोषसँग सोध्नुपर्छ।’ 

पशुपतिनाथमा बाबाहरू आउन सुरु भएको छ। पोहोर परार जस्तो बाबाहरू आउने सङ्केत भने नदेखिएको बस्नेत बताउँछन्। ‘दुई चार जना बाबा देखिएका छन्,’ उनले उकेरासँग भने, ‘कोरोना त्रासका कारण बाबाहरू आउँलान जस्तो लाग्दैन।’   

राष्ट्रिय समाचार समितिका अनुसार पशुपति क्षेत्र विकास कोषले कोषका सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ।

यसै गरी कोषाध्यक्ष डा. मिलनकुमार थापाको संयोजकत्वमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ।

त्यस्तै परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बास्तोलाको संयोजकत्वमा साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ।

यसै गरी परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा स्वयंसेवा परिचालन समिति र मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन समिति गठन गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए।

आजदेखि मेलम्चीको पानी बागमतीमा बगाइदैछ। शिवरात्रि पर्वसम्म सुरुङबाट सुन्दरीजल आएको मेलम्चीको पानी बागमतीमा बगाउन लागिएको छ। यसको अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली साँझ ५ बजे सुन्दरीजल पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

२२ फागुन, २०७७, ११:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।