पेट सफा राख्ने हाइड्रो थेरापी

पेट सफा राख्ने हाइड्रो थेरापी
तस्बिर : र्याकक्यु डट कम।

काठमाडौं : पेट स्वस्थ तथा सफा राख्ने विभिन्न थेरापी विधि हुन्छन्। पेट सफा राख्ने विधिलाई प्राकृतिक चिकित्सकीय भाषामा हाइड्रो थेरापी भनिन्छ।

यो विधिलाई जल चिकित्सा पनि भनिन्छ। पेट सफा गर्ने हाइड्रो थेरापी विधिमध्ये ‘कुञ्ज र एनिमा’ थेरापीका बारेमा यहाँ चर्चा गरौं।

सुरुमा चर्चा गरौं कुञ्जल थेरापीबारे। 

कुन्जल थेरापी

थेरापीका विभिन्न विधिमध्ये ‘कुञ्जल’ थेरापी पनि एक हो। यो थेरापी अपनाएर पेट सफा गरिन्छ। यो थेरापी अपनाउँदा भमिटिङ समेत गरिने भएकाले यसलाई ‘भमिटिङ विधि’का नामले समेत चिनिन्छ। 

यो थेरापी अपनाएर पेट सफा गर्दा सर्वप्रथम एक लिटर मनतातो पानी तयार गरिन्छ। पानी उम्लिएर मनतातो भएको हुनुपर्छ। मनतातो पानीमा एक चम्चा नुन हालेर घोल्नुपर्छ। 

त्यसपछि बाथरुम, ट्वाइलेट वा कुनै हेल्थ क्लवको उपचार कक्ष छनोट गर्नुपर्छ। कोठाको छनोट गरिसकेपछि कपडा खोलेर टुक्रुक्क बस्नुपर्छ। बसिसकेपछि घोलेर तयार पारिएको नुनपानी पिउन सुरु गर्नुपर्छ। तीन मिनेटमा घोलिएको नुनपानी पिइसक्नुपर्छ। 

तीन मिनेट भित्रमा नुनपानी पिउनाले अन्न नलि तथा आमासयमा मात्रै पानी पुग्न सहयोग मिल्छ। नुन घोलिएको मनतातो पानी शरीरले चाँडै नसोस्ने भएकाले पनीमा नुन हालेर पिइन्छ। टुक्रुक्क बसेर नुनपानी पिउनुको पनि अर्थ छ। टुक्रुक्क बस्दा पेट थिचिन्छ। जसले शरीरमा चाँडै पानी सोसिन पाउँदैन।

शरीरले पानी नसोसी अन्ननलि तथा आमाशयमा मात्रै पानी पुग्दा भिमिटिङका लागि सहज हुन्छ। यसरी नुनपानी पिउनुको उद्देश्य नै भमिटिङ हो। 

पानी पिइसकेपछि उठेर हल्का निहुरिएर हात घुँडामा राख्नुपर्छ। त्यसपछि एक हातका औंला मुखभित्र हाल्दै हल्कागरी चलाउनुपर्छ। किल्किलेसम्म औंला पुर्याउन सकिन्छ। जसले भमिटिङको रूपमा अमिलो र तितोपानी तथा विकार तत्त्व शरीर बाहिर जान्छ। पेटमा भएका विकार तत्त्व शरीरबाहिर जान्छ। लगातार करिव तीन पटक भमिटिङ गरिसक्दा आफूले पिएको नुनपानीसँगै शरीरका विकार तत्त्व भमिटिङको माध्यमबाट बाहिर निस्कन्छ। 

यो प्रक्रिया अपनाउन करिव १५ मिनेटको समय लाग्छ। भमिटिङपछि राम्रोसँग मुख कुल्ला गरेर तरल किसिमको पदार्थ खानुपर्छ। 

यस्तो छ फाइदा

यस किसिमको कुञ्जल थेरापी गर्नाले पेटमा आराम मिल्छ। खाना अपच हुने समस्याबाट बच्न सकिन्छ। खाना अपच हुँदा पेटमा अम्लियपनाको मात्रा बढ्छ। जसले गर्दा ग्याट्रिकको समस्या उत्पन्न हुन्छ। तर, यो विधि अपनाई भमिटको माध्यमबाट पेटमा भएको अम्लिएपन हटाएपछि ग्यास्ट्रिकको समस्याबाट बच्न सकिन्छ।

मुखबाट झुसिलो डकार आउने, अमिलो पानी आउने जस्ता समस्याबाट बच्न सकिन्छ। कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ। त्यतिमात्रै हैन पेट सफा र हल्काभई खानामा रुचि समेत हुन्छ। पाचन प्रणाली नै स्वस्थ तथा मजुबत हुने भएकाले पेटसम्बन्धी रोगको जोखिम कम हुन्छ। पेट रोगको घर हो। पेट स्वस्थ रहे शरीर नै स्वस्थ रहन ठूलो सहयोग मिल्छ। यो त भयो पेटको अन्ननली सफाई गर्ने थेरापी। 

अब चर्चा गरौँ पेटको ठूलो आन्द्रा सफा गर्ने एनिमा थेरापीबारे। 

एनिमा थेरापी

एनिमा थेरापी अपनाई पेट सफा गर्दा सर्वप्रथम अम्खोराजस्तै देखिने भाँडोमा एक लिटर पानी तयार गरिन्छ, जसलाई एनिमा पट भनिन्छ। पानीमा एक चम्चा नुन हालेर घोलिन्छ। भाँडाको तल्लो भागमा रहेको प्वालमा एक मिटरजति लामो प्लास्टिकको पाइप जडान गरिएको हुन्छ। पाइपको टुप्पोतर्फ करिव एक फिटको लामो रबरको क्याथेटर जडान हुन्छ। भाँडोको अर्कोपट्टिको पाइपमा जडान गरिएको रबरको यस्तो क्याथेटरको टुप्पामा पानी झर्ने मसिना प्वाल हुन्छन्। 

त्यसपछि ट्वाइलेट, बाथरुम वा कुनै हेल्थ क्लवको उपचार कक्षमा कपडा खोलेर बस्न सकिन्छ। कोठामा बसिसकेपछि भाँडोलाई अग्लो ठाउँमा राखिन्छ। आफू होचो ठाउँमा उत्तानो परेर सुतिन्छ। त्यसपछि नुनपानी घोलिएको भाँडाको रबरको क्याथेटर विस्तारै गुद्धद्धारमा घुसारिन्छ। करिव दुई इन्च घुसार्न सकिन्छ। यसरी पाइप घुसारेपछि एनिमा पटमा भएको पानी पेटको ठूलो आन्द्रामा जान थाल्छ। भाँडाको पानी सकिएपछि क्याथेटरबाट पुनः भाँडामा पनि फर्कन नदिन पानी सकिनासाथ पाइप दोब्राएर गुद्धद्धारबाट बिस्तारै पाइप निकाल्नुपर्छ। 

यो प्रक्रिया सकिएपछि टहलिनुपर्छ। टहलिँदा दिसा द्रुत गतिमा आउँछ। त्यसैले ट्वाइलेटमा नै बसेर यो थेरापी गर्नु उचित हुन्छ। 

लाभ 

एनिमा थेरापी अपनाउनाले पेटको ठूलो आन्द्रामा भएको विकार तत्त्व दिसाको माध्यमबाट बाहिर निस्कन्छ, जसले ठूलो आन्द्रा स्वस्थ तथा मजबुत हुन्छ। ठूलो आन्द्रा स्वस्थ तथा मजबुत हुँदा पायल्स, फिस्टुला, फिसर जस्ता समस्याबाट बच्न सकिन्छ। त्यति मात्रै हैन, ठूलो आन्द्रा स्वस्थ हुँदा पाचन प्रणाली नै स्वस्थ हुने भएकाले अल्सर, पेटको क्यान्सर तथा पेटसम्बन्धी हुने विभिन्न सस्याबाट बच्न सकिन्छ। 

बिहान राम्रो

बिहान केही पनि नखाइ यसरी पेट सफा गर्ने थेरापी गर्नु उचित हुन्छ। महिनामा दुई पटकसम्म यी थेरापी गर्न सकिन्छ। आवश्यकता अनुसार यी थेरापी गर्न सकिन्छ। 

विशेषगरी वयस्क व्यक्तिका लागि यी विधि लाभदायक हुन्छन्। बालबालिकाका लागि यस्ता विधि अपनाउन आवश्यक हुँदैन। कुनै दीर्घ रोगको समस्या भएका तथा पाको उमेरका व्यक्तिले भने सम्बन्धित चिकित्सकको सल्लाहमा यस्ता विधि अपनाउनु उचित हुन्छ। 

पेट सफा गर्ने यस्ता विधि अपनाइसकेपछि सर्वप्रथम पानीमा आधा दाना कागती, एक चम्चा मह मिसाएर खानुपर्छ। यस्ता थेरापी गर्नुभन्दा दुई घण्टाअघि र दुई घण्टापछि मात्रै खानपान गर्नु उचित हुन्छ। 

१५ कात्तिक, २०७७, ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।