एउटा अचम्मको वरको रुख अनि जलेश्वरधाम !

एउटा अचम्मको वरको  रुख अनि जलेश्वरधाम !

यो रुखको मूलफेद कुन हो भन्नेबारेमा अनेकौं अनुमानहरु रहेतापनि एउटा सानो सुक्नै लागेको फेद नै यसको मूल फेद हो भन्नेकुरामा पुराना बासिन्दाहरुको एकमत छ।

लगभग आधा बिगाहाको क्षेत्रफल, एउटा वरको रुख, तर हेर्दा लाग्छ वरको रुखै रुख भएको एउटा सानो जंगल नै हो यो। त्यही रुखको बीचमा ससाना मन्दिरहरु पनि छन्। त्योभन्दा पनि अनौठो त यसै बरका रुखबाट तल झरेका लहराहरुकै खम्बाहरु बनेर एउटा सानो मन्दिरै बनेको छ। यो वर्णन हो, रुपन्देहीको कंचन गाउँपालिका १, बेलभरियास्थित वरको रुख अनि धार्मिक पर्यकीयस्थल जलेश्वरधामको।

यो रुखको मूलफेद कुन हो भन्नेबारेमा अनेकौं अनुमान रहे तापनि एउटा सानो सुक्नै लागेको फेद नै यसको मूल फेद हो भन्ने कुरामा पुराना बासिन्दाहरुको एकमत छ। २०२४ सालतिर स्थानीय गुठे थारुको पहलमा यहाँ एउटा कच्ची मन्दिर बनाइएको थियो। जहाँ स्थानीय थारु समुदायहरुले दानव, जोगीबाबा, बर्मा अनि सात सयरीको पूजा गर्ने गर्थे। पूजा गर्ने क्रममा यहाँ हात्तीघोडाका मूर्तिहरु पनि राख्ने गरिन्थ्यो। तर, पछि त्यो पूजाको क्रम भने रोकिएको छ।

विगतमा यहाँ थुप्रै प्राचिन गरगहना, मूद्राहरु रहेको तर उचित सम्बर्द्धनको अभावमा ती अनमोल सम्पत्ति कहाँ पुगे भन्नेबारेमा कसैलाई थाहा हुन सकेन। उचित सम्बर्द्धनको अभाव र यसको महत्वबारे अनभिज्ञ हुँदा विगतमा यसलाई काट्ने र लहराहरु चुटाल्नेजस्ता क्रियाकलापहरु हुने गरे तापनि समयक्रममा मानिसहरुमा चेतनाको विकास हुँदै विनाशको क्रम रोकिएको छ। 

यसको महत्त्व बुझेर नैं २०५८ सालतिर एउटा धान्याञ्चल यज्ञको आयोजना गरी संकलित चन्दाबाट पक्की मन्दिरको निर्माण गरी वरीपरि पर्खाल पनि निर्माण गरियो। 

यसअघि स्थानीय नरबहादुर शिवभक्तिले आफ्नो व्यक्तिगत पहलमा एउटा काठको मन्दिर बनाएर स्थानीय मूर्तिकार स्व. रामचन्द्र भारीले बनाउनुभएको शिव भगवानको मूर्ति प्रतिस्थापन गर्नुभएको थियो, जुन आजसम्म पनि देख्न पाइन्छ। यसका साथै वरको रुखको संरक्षण, विस्तार र विकासका लागि संरक्षण समिति पनि बनाएर यसको प्रचारप्रसार अनि सम्बर्द्धनलाई निरन्तरता दिन थालियो। त्यसपछि यहाँ जलेश्वरधामको रुपमा हरेक साउन महिनाभर अनि शिवरात्रीमा भक्तजनहरुको आवतजावत समेत हुन थाल्यो।

१३ कात्तिक, २०७७, ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।