गृहमन्त्री लामिछानेको प्रश्न : 'म दुई-चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ?'

गृहमन्त्री लामिछानेको प्रश्न : 'म दुई-चार करोड ठगठाग गरेर जीवन धान्न पर्ने हैसियतहीन मान्छे हुँ?'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट ऋण नलिएको दोहोर्याएका छन्। 

यसअघि पटकपटक सहकारी ठगीमा आफू संलग्न नरहेको दाबी गर्दै आएका उनले मंगलबार पनि आफूले ऋण नलिएको तर नाम लेखिएको जिकिर गरे।  

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनुसन्धानले देखाए अनुसार उक्त ऋण खाता खोल्दा नागरिकता, ऋण माग गरेको फाराम, केवाइसी फर्म, तीन पुस्ते विवरण लगायतका कुनै विवरण छैन। ल्याप्चे, हस्ताक्षर समेत छैन। अर्थात् मैले ऋण लिएको छैन। मेरो नाम लेखिएको मात्रै छ। रकम जम्मा गर्नेले स्पष्ट भनेकी छिन् कि कसैले नाम लेखिदिनु भनेको भरमा रवि लामिछानेको नाम लेखिदिएको मात्रै हो।’

उनले सञ्चारमाध्यमहरूप्रति आक्रोश पोख्दै जीबी राईका सबै बदमासीको ठेक्का आफूले लिनुपर्ने हो भन्ने प्रश्न समेत गरेका छन्। 

उनले लेखेका छन्, 'के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो?'

गृहमन्त्री लामिछानेले अभियोगपत्रमा आफूले गैरकानुनी ऋण लिएको भन्ने पुष्टि नभएको पनि जिकिर गरेका छन्।

‘अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रालिमा तत्कालीन समयमा सेयरधनी रहेको बाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टि भएको कतै केही छ?’ उनले थप प्रश्न गरेका छन्, ‘म जीबी राईले ल्याएको लगानीको आम्दानीको स्रोत हेर्ने अधिकारी थिएँ कि? ऋण मागकर्ता थिएँ कि? ऋण दिने सहकारीको आधिकारिक व्यक्ति थिएँ? कि म दुई-चार करोड ठगठाग गरेर जीवन धान्नुपर्ने हैसियतहीन मान्छे हुँ?’

४ बैशाख, २०८१, २०:०७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।