बझाङ १ (१) उपनिर्वाचन : जसले जमानत जोगाउन सकेनन्

बझाङ १ (१) उपनिर्वाचन : जसले जमानत जोगाउन सकेनन्

काठमाडौं : बझाङ १ को (१) मा ८ उमेदवारको जमानत जफत भएको छ। 

निर्वाचन आयोगका अनुसार तीन दलबाहेक अरु दलले कूल सदर मतको १० प्रतिशत मत ल्याउन सकेका छैनन्। शनिबार भएको मतगणनाको परिणाम सोमबार दिउँसो घोषणा गरिएको छ। 

मत परिणामको अन्तिम विवरण अनुसार एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गर्दा जमानत जफत भएको हो। त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर कुमार खड्काले २४२ मत पाएका छन्। जनता समाजवादी पार्टी (जसपा) का उमेदवार रामबहादुर जाग्रीले ४४ मत प्राप्त गरेका छन्। राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्र बहादुर थापाले ३५ मत ल्याएर जमानत जोगाउन सकेनन्। 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च दीपबहादुर खड्काले २८, जनमतका सुशीलादेवी विष्टले २६ मत ल्याए। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खगेन्द्रबहादुर शाहीले २४ मत पाउँदा नेशनल रिपब्लिक नेपालका कमल घर्तीमगरले २ मत ल्याउँदा जमानत जोगाउन पर्याप्त भएन।  

प्रदेशसभा निर्वाचनका लागि उमेदवारले पाँच हजार रुपैयाँ निर्वाचन अधिकृतको कार्यालयमा धरौटी राख्नुपर्ने व्यवस्था ऐनमा रहेको छ। कूल सदर मतको १० प्रतिशत कटाउन नसक्ने उमेदवारको उक्त जमानत जफत हुनेछ।

आयोगका अनुसार ६१ हजार ७४८ मतदाता रहेको उक्त क्षेत्रमा करिब ५० प्रतिशत मत खसेको थियो। जसमध्ये २९ हजार ७०५ मत सदर भएको छ। प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को धारा ७१ मा धरौटी जफतको व्यवस्था छ।  

१७ बैशाख, २०८१, १७:४८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।