सुरू भयो सेतो मछिन्द्रनाथको रथयात्रा (फोटो कथा)

सुरू भयो सेतो मछिन्द्रनाथको रथयात्रा (फोटो कथा)
तस्बिर : नेपाल न्यूज बैंक

काठमाडौं : वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरू भएको छ। 

काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालामा मंगलबार अपरान्ह मछिन्द्रनाथको रथारोहण गरेपछि रथयात्रा सुरू भएको हो। 

उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ।

करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मछिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई तीनधारा पाठशाला अघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहेको छ। 

सेतो मछिन्द्रनाथको रथ मछिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन चोकसम्म लगिन्छ।

रथ यात्राको पहिलो दिन आज रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याएर पहिलो दिनको यात्रा समाप्त गरिने छ।  

४ बैशाख, २०८१, १९:२०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।