जब दरबारमा पाण्डेको प्रभाव देखेर तत्कालीन प्रधानमन्त्री देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’

जब दरबारमा पाण्डेको प्रभाव देखेर तत्कालीन प्रधानमन्त्री देउवाले भने, ‘त्यो रमेशनाथको फोन ट्याप गर’

काठमाडौं : ‘मैले देखेको दरबार’का लेखक पूर्व सैनिक सचिव विवेक कुमार शाहको दोस्रो पुस्तक ‘दरबारबाट देखेको नेपाल’को आज विमोचन भएको छ।

‘मैले देखेको दरबार’बाट राम्रो चर्चा पाएपछि पूर्व सैनिक सचिव शाहले आफू दरबारमा कार्यरत रहँदाको तत्कालीन समय, घटना परिघटनालाई समेटेर संस्मरणात्मक पुस्तकका रुपमा ‘दरबारबाट देखेको नेपाल’ पाठकमाझ ल्याएका हुन्।

'शाही पाश्र्ववर्ती सैनिक' शाहले आफ्नो संस्मरणमा रहेको तत्कालीन समयका विषयवस्तु र घटनालाई विभिन्न भागमा समेटेर ल्याएको पुस्तक काठमाडौंको भृकुटीमण्डपमा आज एक समारोहकाबीच विमोचन गरिएको हो।

पुस्तक विमोचन कार्यक्रममा बोल्दै लेखक शाहले  आफ्नो ३५ वर्षीय सैनिक सेवा र ३० वर्षीय दरबारको सेवामा रहँदा विभिन्न उतारचढाव भोगेका अनुभवहरूलाई पुस्तकमा समेटेको उल्लेख गरे।

 
उनले भने, ‘मैले चार, पाँच मिनेटको संवादका आधारमा ३५ वर्षीय सैनिक सेवा र ३० वर्षीय दरबारको सेवाबाट विश्राम लिए। मैले सैनिक सेवाबाट राजीनामा दिएपछि विभिन्न स्वदेशी तथा विदेशी मिडियाहरुले त्यही बेला दरबारमा रहँदाको अनुभव सुनाउन अन्तवार्ताका लागि आएका थिए। मैले आफू उपयुक्त समय आएपछि बोल्ने भन्दै पन्छिए। यो पुस्तकमा धेरै अनुभवहरू समावेश गरेको छु।’

पुस्तकमा उनले तत्कालीन समयमा पूर्वमन्त्री रमेशनाथ पाण्डेको दरबारभित्र विस्तारित प्रभाव र शाहसँगको आफ्नो सम्बन्धको बारेमा पनि उल्लेख गरेका छन्। ‘प्रभाव विस्तारमा माहिर पाण्डे’ भनेर दरबारमा कार्यरत रहँदा उनीहरू बीचमा सम्बन्ध राम्रो नभएको प्रसंगलाई पुस्तकमा उल्लेख गरेका छन्।

तत्कालीन समयमा पाण्डेले लेखेका कारण दरबारभित्रका सचिवहरूको जागिर नै धरापमा परेको प्रसंगलाई पनि उनले पुस्तकमा अटाएका छन्।

"उहाँका लेखहरूबारे दरबारका हामी सचिवहरूबीच छलफल हुन्थ्यो। एक पटक उहाँले माओवादीसँग वार्ता गरेको कुरा लेख्नुभयो। त्यतिबेला कतिपय मानिसहरूले ‘माओवादीलाई दरबारले परिचालित गरेको छ’ भनेर टिकाटिप्पणी गरिरहेका थिए। दरबारबाट मनोनीत पाण्डेले त्यस्तो लेखेपछि झन् शङ्का उत्पन्न भयो। पाण्डेले दरबारलाई मुछ्ने गरी लेख लेखेपछि एकदिन दरबारका सचिवहरूबीच कुरा उठ्यो, ‘उहाँले यस्तो लेख्नु हुँदैनथ्यो, यसले दरबारलाई असर पुर्याउँछ, अब उहाँले नैतिकताको आधारमा राजीनामा दिनु नै उचित होला," पुस्तकमा शाहले उल्लेख गरेका छन्।

तत्कालीन समयमा रेवतीरमण खनाल दरबारका प्रमुख सचिव हुँदादेखि नै दरबारको सचिवालयसँग पाण्डेको एकदमै राम्रो सम्बन्ध रहँदै आएको भन्दै पाण्डेलाई खनालको अघोषित सल्लाहकार रहेको भन्दै शाहले लेखेका छन्, ‘खासगरी प्रमुख सचिव खनालको अघोषित सल्लाहकार जस्तै हुनु हुँदोरहेछ पाण्डे। खनालसँगको सम्बन्धकै कारण बेलाबेला राजासँग दर्शनभेट पनि पाइरहनु हुँदोरहेछ।’

रेवतीरमण खनाल र दरबारमा बढ्दो प्रभाव देखेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पाण्डेको फोन ट्याप गर्न निर्देशन दिएको शाहले बताएका छन्।

"राजाले हटाउनुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले एकदिन तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणालाई भन्नु भएछ, ‘त्यो रमेशनाथको फोन ट्याप गर।’ प्रहरी महानिरीक्षकको आदेशमा पाण्डेको फोन ट्याप भएछ। त्यसमा धेरैजसो कुरा त प्रमुख सचिव खनाल र पाण्डेबीच हुँदोरहेछ भन्ने पत्ता लाग्यो। दुवैबीच फोन-वार्ता हुँदा एक पटक म प्रति पाण्डेले अत्यन्तै नराम्रो दृष्टिकोण राख्नुभएको रहेछ।"

पाण्डेको फोन ट्याप भएपछि आफूप्रति नकारात्मक दृष्टिकोण झन् बढाएर लगेको टिप्पणी शाहले आफ्नो संस्मरणमा उल्लेख गरेका छन्।

''एकदिन मलाई प्रहरी महानिरीक्षक राणाले भन्नुभयो, ‘तपाईंप्रति उहाँ पूरै नेगेटिभ हुनुहुँदो रहेछ। हजुरलाई टेप सुनाउँ?’ त्यति भनेपछि मैले त्यो टेप सुनेँ। मेरो विषयमा पाण्डेले नानाभाँती कुरा गर्नुभएको रहेछ। प्रमुख सचिवसँग कुरा गर्दै उहाँले भन्नुभएछ, ‘... तपाईंको अफिसमाथि बस्ने एकजना छन् नि, युनिफर्म लगाउने सचिव, सबै बिगार्ने उनी नै हुन्।’

त्यो बेला प्रधानमन्त्री देउवाले पाण्डेको फोन ट्यापिङ गर्नुका साथै राष्ट्रिय अनुसन्धान विभागलाई समेत उनको गतिविधिहरू नियाल्न पनि निर्देशन दिएका थिए।

''फोन ट्यापिङको विषय मसँग प्रहरी महानिरीक्षक राणाले गर्नुभयो भने उनको गतिविधिहरू नियालिरहेको कुरा चाहिँ विभागका प्रमुख देवीराम शर्माले मलाई बताउनुभयो। शर्माले ‘पाण्डेको ओहदा र प्रतिष्ठा अनुसारको चरित्र नभएको’ सुनाउनुभयो,'' शाहले पुस्तकमा उल्लेख गरेका छन्।

पछि पाण्डेले आफ्नो पुस्तकमा शाह विरुद्ध ‘सैनिक सचिवले माओवादीलाई हतियार बेचेको भनेर लेखेको बताएका छन्। पाण्डेले दरबारभित्र आफ्नो सम्बन्ध राम्रो भएको बताउनकै लागि नाटक गर्ने गरेको आरोप लगाउँदै लेखक शाहले पाण्डेको स्वभाव पहिलादेखि नै यस्तै खालको भएको र अरू मानिसलाई प्रभाव पार्न आफू राजाको मान्छे भएको देखाउन चाहने र दरबारलाई भँजाएर फाइदा उठाउन निकै माहिर रहेको कडा टिप्पणी गरेका छन्।

१२ फागुन, २०८०, २१:०९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।