विश्वासको मतबारे एमाले नेता पाण्डे भन्छन् : जे हुन्छ संस्थागत निर्णय अनुसार हुन्छ

विश्वासको मतबारे एमाले नेता पाण्डे भन्छन् : जे हुन्छ संस्थागत निर्णय अनुसार हुन्छ

नेपाल समूहका नेता एवं सांसद सुरेन्द्र पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्तावमा पार्टीको संस्थागत निर्णय अनुसार हुने बताए।

सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त देउवाले संविधानको धारा ७४ को अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ।

देउवाको समर्थनमा हस्ताक्षर गरेका एमाले माधव समूहका २३ जना सांसदले विश्वासको मत दिने नदिने निर्णय पार्टीको निर्णय अनुसार हुने पाण्डेले बताए। 

‘यो पनि सोध्ने प्रश्न हो?’नेता पाण्डेले भने,‘जे हुन्छ संस्थागत निर्णय अनुसार हुन्छ।’ आफ्नै पार्टीका नेता र सांसदको असहयोग कारण केपी शर्मा ओली अल्पमतमा पर्दै सरकारबाट बाहिरिएका छन्।

प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी स्थायी कमिटीको बैठक कार्यदलमा भएको १० बुँदे सहमति अनुमोदन गराउने प्रयास सफल हुन सकेन। कार्यदलले ओली र माधव नेपाललाई भेटेर सहमतिबारे जानकारी गराइसकेको छ। 

सहमतिबारे माधव नेपालले निष्कर्षमा पुग्ने खालको जवाफ नदिएको एमाले नेता सुभाष नेम्वाङले बताए। ओली र नेपाल दुवै समूहको बैठक बसेर सहमति अनुमोदन गराउने प्रयास सफल हुन सकेको छैन।

एमालेको विवाद समाधान कार्यदलमा रहेका सदस्य कार्यदलले गरेको सहमति दुवै नेताले अनुमोदन गर्ने बताउँछन्। सर्वोच्च अदालतको परमादेशपछि एमाले नेता नेपालले अब गठबन्धनमा नरहने बताइसकेका छन्।

३० असार, २०७८, ११:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।