दुई प्रेरक प्रसंग

दुई प्रेरक प्रसंग
अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिंगटन र फोर्ड मोटरका मालिक, हेनरी फोर्ड ,Photo Credit : wikipedia.org

महान व्याक्तिहरुका जीवनका स-साना प्रसंगहरु पनि निकै प्रेरणादायक हुने गर्छन् । उनीहरुका सोच, उनीहरुको जीवनशैली र आचरणले आममानिसहरुलाई पनि ती अनुकरणीय क्रियाकलापहरुलाई अपनाउँदै अघि बढ्न प्रेरित गर्नेगर्छ ।

समयको पालना

अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वाशिंगटन समयको पक्का पालक थिए । एकचोटि उनले केही विशिष्ट पाहुनाहरूलाई तीन बजे खाजाको लागि बोलाएका थिए । साढे तीन बजे उनी सैन्य कमाण्डरहरूको एउटा महत्वपूर्ण बैठकमा भाग लिनु पर्ने थियो । खाना ठीक तीन बजे तयार थियो। खाना टेबलमा राखिएको थियो, तर राष्ट्रपति पाहुना भने आएनन् । पर्खनुको सट्टा, राष्ट्रपतिले ठीक तीन बजे एक्लै खाना खान थाले । आधा खाना सकिसकेपछि पाहुनाहरू आइपुगे । उनले लाजै नमानी मजाले खान खाईरहे । खाना खाईसकेपछि उनी भर्खर आएका पाहुनाहरुसँग बिदा लिँदै बिना हिच्किचाहट बैठकमा भाग लिन गए । झट्ट हेर्दा अपमानजनक लागेतापनि  यो घटनाले समय व्यवस्थापनको महत्व देखाउँछ अनि महान ब्याक्तिहरुले पालना गर्ने समयनिष्ठतालाई दर्शाउँछ ।


आफ्नो विगत

फोर्ड मोटरको मालिक, हेनरी फोर्ड विश्वको सबैभन्दा धनी मानिन्थे, उनका कारहरु विश्वप्रसिद्ध थिए । एक पटक एकजना भारतीय उद्योगपति फोर्डसँग परामर्श लिन अमेरिका गएका थिए। भारतीय उद्योगपति अमेरिका पुगेर हेन्री फोर्डलाई भेट्न समय मागे । फोर्ड, " दिउसो आफुले धेरै  समय दिन नसक्ने हुँदा तपाईं साँझ छ बजे आफ्नै निवासमा आउनुस् " भन्दै ती भारतीय उद्योगपतिलाई साँझको समय दिए । साँझ फोर्डको निवासमा ती भारतीय उद्योगपति पुग्दाखेरी त्यहाँ एकजना  भाँडा माझ्ने मान्छेलाई भेटे अनि हेनरीसरसँग अपोइन्टमेण्ट लिएको कुरा भने । यो सुनेपछि ति भाँडा माझ्ने मान्छे उद्योगपतिलाई त्यहीँ बस्न लगाएर भित्र पसे अनि एकछिनमा बाहिर निस्कदै आफुलाई हेनरी फोर्ड भन्दै चिनाए । यो देखेर भारतीय उद्योगपत्ति अल्लमल्ल परे । हेनरीले ती उद्योगपतिको असमञ्जतालाई बुझिहाले अनि आफ्नो विगत सुनाउँदै म पनि शुरुमा सामान्य मान्छे नै थिएँ र त्यो बेलादेखि गरेको मेहनतका कारणले नै आज फोर्ड माटरको मालिक बनेको छु भने । साथ आफ्नो विगतलाई बिर्सर्ने मान्छे कहिल्यै ठूलो मान्छे बन्न सक्दैन भने । यो सुनेर ती भारतीय उद्योगपति हेनरी फोर्डसँग निकै प्रभावित बने ।

 

२० असोज, २०७७, १६:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।