गंगटो र बकुल्लो

गंगटो र बकुल्लो

एकादेशमा एउटा जंगलको बिचमा एउटा ठूलो तलाउ थियो । निकै राम्रो थियो त्यो तलाउ ।  पानीमा बस्ने अनि पानीको वरिपरी बस्ने थुपै जीवहरुको बासस्थान थियो त्यो तलाउ । थुप्रै माछा, कछुवा, गंगटो, भ्यागुता यहाँ बस्ने गर्थे ।  त्यहाँ तलाउको किनारमा एउटा बकुल्लो पनि बस्ने गथ्र्यो । उ अलिक बुढो भईसकेको थियो र राम्रोसँग आँखा पनि देख्न छाडेको थियो । आँखा कम देख्नाले उसले आफ्नोलागि सिकार पनि गर्न नसक्ने भईसकेको थियो । कहिलेकाँही त उसले आफ्नो लागि खाना खोज्न नसकेर भोकै समेत बस्नुपथ्र्यो । उ अलिक दुष्ट स्वभावको पनि थियो । उसले अब कसरी सिकार गर्ने भनेर आईडियाहरु सोंच्न थाल्यो । यसैक्रममा एकदिन उ तलाउको ढिस्कोमा निदाईरहेको बेलामा एउटा गंगटो उसको नजिकै आएर बकुल्ला बा भनेर उसलाई बोलायो । गंगटोले बकुल्लोलाई तलाउमा माछा नमारेर किन दुःखी भएर बस्नुभएको छ त भन्दै सोध्यो ।


बकुल्लोले अब आफु धर्मकर्मतिर लागेको त्यसैले माछा मासु खान छोडिसकें भन्दै, यो तलाउमा अब छिट्टै निकै ठूलो संकट आउन लागेको हुँदा आफु दुःखी भएको कुरा सुनायो । गंगटोलाई पनि बकुल्लोको यो कुराले निकै अचम्म लाग्यो अनि उसले तलाउमा "के संकट आउन लागेको छ र बकुल्लो बा ?" भन्दै सोध्यो ।


पहिला त बकुल्लोले आफ्नो कुरा कसैले पत्याउँदैनन्, त्यसैले भनेर के काम ? भन्दै कुरो गर्न अनकनाएकोजस्तो गर्यो तर गंगटाले जिद्धी गर्न थालेपछि बकुल्लोले केही दिन अगाडी आफ्नो भेट एकजना माहात्मासँग भएको जसले अबको १ वर्ष भित्रमा यो तलाउको पानी सुक्नेछ अनि यहाँका माछा भ्यागुता लगायत सबै जीवहरु यहीँ मर्नेछन् भनेर आफुलाई बताएको कुरा सुनायो ।यो कुरा सुन्दा गंगटो पनि दुःखी भयो, तर एकैछिन्मा महात्माले गलत कुरा सुनाए कि भन्दै शंका पनि जनायो ।


बकुल्लोको उद्धेश्य त जसरी पनि यो कुरा साँचो हो भन्दै विश्वास दिलाउनु थियो त्यसैले उसले ती माहात्माले भनेको कुरा आजसम्म कहिल्यै पनि गलत भएको छैन भन्दै गंगटोलाई विश्वास दिलाउन खोज्यो ।अब भने गंगटोलाई पनि बकुल्लोको कुरामा विश्वास लाग्यो अनि त्यहाँबाट दुःखी हुँदै फक्र्यो र तलाउका माछाहरुलाई पनि यो कुरा सुनायो । एककान दुईकान मैदान भने झैं यो खबर सारा तलाउ भरी फैलियो । त्यहाँका सबै जीवजन्तुहरु बकुल्लोसँग आएर यसको कुनै समाधान छ कि बकुल्लोबा भनेर सोधे । बकुल्लोले आफुलाई निकै ज्ञानीभएको आभाष दिलाउँदै सबै जिवजन्तुहरुलाई पहिले गंगटोलाई भनेकै कुरा सुनायो ।


एकछिन् सबैजना दुःखी भए अनि अब के गर्ने भनेर अलमलमा पनि परे । एकछिन पछि बकुल्लोले मलाई ती माहात्माले यसको समाधान भोली भन्छु भनेका छन् । त्यसैले तिमीहरु चिन्ता नगर भन्दै सबैलाई विश्वास दिलायो । भोलीपल्ट बकुल्लो बिहानै माहात्मालाई भेट्न भनेर त्यहाँबाट उड्यो । अब सबैको आशा त्यही बकुल्लोमाथी थियो ।


साँझ बकूल्ला फर्कियो । सबैजना उसकै प्रतिक्षामा थिए । बकुल्लोले आफुले यो संकटको समाधान गर्ने उपाय पत्ता लगाएर आएको कुरा सुनायो । एउटा पहाडको फेदीमा झरनाको पानी आईराख्ने ठाउँमा एउटा ठूलो तलाउ छ अब हामीसबै त्यहाँ बसाई सर्नुपर्छ भन्ने कुरा गर्दै त्यसको लागि आफुले हरेकदिन एक एक दुईजनालाई लिएर त्यो तलाउमा छोडेर आउने कुरा सुनायो । यो कुरामा केही नसोंची सबैजना उत्तिखेरै सहमत पनि भए । सबैले बकुल्लोलाई आफुहरुको उद्धारकर्ता ठाने ।


अब बकुल्लोले दिनदिनै एकदुईवटा माछा, भ्यागुताहरुलाई  बसाई सार्न भन्दै लिएर जान थाल्यो । तर बकुल्लोले यो सबै कुरा नाटक गरेको थियो । खासमा उसले तलाउबाट लगेको जीवलाई अलिक टाढा पुर्याएर खाने गर्थ्यो । दिनप्रतिदिन तलाउमा माछा अनि अन्य जीवहरु कम हुँदै गए । उता बकुल्लोे भने दिनप्रतिदिन मोटाउँदै गईरहेको थियो । सबैलाई लागेको थियो बकुल्लोले आफ्ना परिवार अनि साथीहरुलाई अर्को तलाउमा पुर्याउने काम गरिरहेको छ । एकदिन गंगटाले बकुल्लोको प्वाँखमा एउटा माछाको हड्डी अड्किएको देख्यो । यो देखेर गंगटालाई कता कता बकुल्लोप्रति शंका लागेर आयो । उसले त्यो शंकालाई लुकाउँदै बकुल्लोलाई अब मलाई पनि अर्को तलाउमा लैजानुस बकुल्लो बा भन्दै अनुरोध गर्यो । बकुल्लोलाई पनि आज गंगटाको मासु खान मन लागेको थियो त्यसैले खुशी हुँदै सहमती जनायो । एकैछिनमा गंगटालाई पिठ्यूमा राखेर बकुल्लो त्यहाँबाट उड्यो । एकैछिनमा आकाशबाट गंगटाले  बकुल्लोले खाएर थुपारेको माछा र अरु जीवहरुको हड्डीको थुप्रो देख्यो । अब उसले बकुल्लोको बदमासी बुझिहाल्यो तर पनि बकुल्लोलाई " त्यो हड्डीको थुप्रोजस्तो कुरा के हो बकुल्लो बा ? " भन्दै सोध्यो ।  बकुल्लोलाई अब गंगटोलाई खानु नै थियो त्यसैले उसले सबै सत्यकुरा भन्न थाल्यो र आज तँलाई खाने पालो हो भन्दै हाँस्न थाल्यो ।


गंगटाले रिसाउँदै अनि गाली गर्दै बकुल्लोको घाँटी थिच्न थाल्यो । बकुल्लोले जतिप्रयास गरेपनि गंगटाको पकडबाट बच्न सकेन र एकैछिनमा बकुल्लोेको प्राण गयो ।त्यसपछि गंगटाले बकुल्लोको प्वाँख बोकेर आफ्नै तलाउमा फर्कियो र आफ्ना साथीहरुलाई सबै घट्ना सुनायो । सबैलाई आफुहरुले धोकेबाज बकुल्लोेलाई विश्वास गरेकोमा निकै पछुतो लाग्यो । उनीहरु बकुल्लोको सिकार बनेका आफ्ना साथीहरुलाई सम्झेर दुःखी पनि भए तर आफुहरुको प्राण बचेकोमा भने उनीहरुलाई खुशी पनि लाग्यो । अनि गंगटाले आफुहरुको ज्यान जोगाएकोमा सबैले धन्यवाद पनि दिए ।

शिक्षा : हामीले कसैलाई पनि झट्ट विश्वास गरिहाल्नु हुँदैन अनि कुनै निर्णय गर्दा पनि निकै बिचार पुर्याउनुपर्छ ।

 

१९ असोज, २०७७, १८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।