दाउरे र बञ्चरो

दाउरे र बञ्चरो
दाउरे र बञ्चरोको कथा

एकादेशमा एकजना गरीब दाउरे थिए सन्तमान । उनी निकै सोझो अनि ईमानदार थिए । उनको एउटा सानो झुप्रो घर थियो । उनले दिनदिनै नजिकैको जंगलमा गई दाउरा काटेर ल्याउँथे अनि त्यही बेचेर गुजारा चलाउँथे ।

उनको एकजना दाजु पनि थिए हर्कमान । अलिक पर थियो उनको घर । उनी फेरी अलिक डाहा गर्ने र लोभी स्वभावका थिए ।

एकदिन सन्तमान जंगलमा दाउरा काटन गएका थिए । सुकेको दाउरा नपाएर भारी पनि पुगेको थिएन । त्यसैले उनी अलि चिन्तित हुँदै फर्किंदै थिए । बाटोमा एउटा तलाउ थियो । तलाउको नजिकै उनले एउटा सुकेको मुढा देखे अनि खुशी हुँदै त्यो मुढा काट्न थाले । दाउरा काटदा काट्दै सन्तमानको बञ्चरो एक्कासी हातबाट फुस्कियो र तलाउमा खस्यो । तलाउ गहिरो थियो । त्यसमाथी सन्तमानलाई पौडी खेल्न पनि आउँदैनथ्यो । सन्तमानसँग अर्को बञ्चरो पनि थिएन । आफ्नो कमाई खाने एकमात्र साधन पनि हातबाट गुमेपछि उनी निकै चिन्तामा परे । उनले निकै कोशिस गरे तर केही उपाय लागेन । उनी तलाउ बाहिर बसेर रुन थाले । रुँदा रुँदै त्यहीं निदाएछन् सन्तमान ।  यत्तिकैमा  तलाउबाट एउटी निकै राम्री जलपरी निस्किएर सन्तमानलाई बोलाईन् । जलपरीको आवाज सुनेर सन्तमान निद्राबाट ब्यूँझिए । उनी आफ्नो अगाडी त्यसरी जलपरी प्रकट भएको देखेर अचम्मित भए । जलपरीले सन्तमान रुनुको कारण सोधिन् । सन्तमानले पनि सबैकुरा बताए । जलपरी सन्तमानलाई एकछिन पख्न भन्दै फेरी पानीमा डुबिन् र एकछिनमा बाहिर निस्कदा उनको हातमा सुनको बञ्चरो थियो । जलपरीले यो तिम्रो बञ्चरो हो भनेर सोधिन् । सन्तमानले इमानदारीताका साथ त्यो आफ्नो बञ्चरो आफ्नो नभएको कुरा बताए । त्यसपछि फेरी जलपरी पानीमा डुबिन् । यसपटक उनको हातमा चाँदीको बञ्चरो थियो । सन्तमानले त्यो पनि आफ्नो बञ्चरो हैन भने । अब भने जलपरीले फलामको बञ्चरो लिएर निस्किन् । त्यो बञ्चरो सन्तमानको अघि पानीमा खसेकै बञ्चरो थियो । सन्तमान त्यो बञ्चरो देखेर निकै खुशी भए अनि त्यो बञ्चरो आफ्नो भएको कुरा बताए । जलपरी, सन्तमानको ईमानदारीता देखेर निकै प्रसन्न भईन र सन्तमानलाई सुन, चाँदी र फलामका तीनवटै बञ्चरो दिईन् ।

तीनवटा बञ्चरो लिएर दाउरा पनि बोेक्दै सन्तमान घर आए । त्यो दिन सन्तमानको घरमा दाजु हर्कमान पनि आएका थिए । भाईले ल्याएको सुनचाँदीका बञ्चरोहरु देख्दा उनी छक्क परे । सन्तमानले उनलाई त्यो दिनमा भएको सम्पूर्ण घटना सुनाए । यो कुरा सुनेर हर्कमानको मनमा लोभ जाग्यो । उनले पनि जलपरीबाट यसरी नै सुनचाँदीका बञ्चरो हात पार्ने बिचार गरेर भोलीपल्ट नै त्यही तलाउको छेउमा गएर दाउरा काटेजस्तो गर्न थाले । एकैछिन्मा उनले जानी जानी बञ्चरो तलाउमा फ्याँके । अनि बाहिर बसेर रुन थाले । पहिले जस्तै यसपटक पनि जलपरी तलाउबाट निस्किईन् अनी हर्कमानलाई किन रोएको भनेर सोधिन् । हर्कमानले पनि नाटक गर्दै आफ्नो कमाई गर्ने एकमात्र सहारा, आफ्नो बञ्चरो तलाउमा खस्यो भनेर बिलौना गरे । जलपरी हर्कमानलाई एकछिन पर्खन लगाएर पानीमा डुबुल्की लगाईन् । बाहिर निस्कदा फलामको त्यही बञ्चरो लिएर निस्किन् । उनले के यो बञ्चरो तिम्रो हो भनेर सोधिन् । हर्कमानको नियत त सुनकै बञ्चरो हात पार्ने थियो त्यसैले आफ्नै बञ्चरोलाई पनि उसले आफ्नो होईन भने । जलपरीले फेरी चाँदीको बञ्चरो लिएर बाहिर निस्किन् । हर्कमानलाई त सुनकै बञ्चरो हासिल गर्नु थियो त्यसैले त्यो पनि मेरो बञ्चरो हैन भने ।
अब जलपरीले फेरी सुनको बञ्चरो लिएर बाहिर निस्किन् । जलपरीले केही नसोध्दै हर्कमानले यही बञ्चरो मेरो हो भन्दै पानीमै हामफाल्न खोजे । जलपरीलाई हर्कमानको सबै बदमासी थाहा थियो त्यसैले उनी रिसाउँदै पानीभित्र गएर अलप भईन् । हर्कमान निकैबेर बाहिर बसेर कुरिरहे, तर जलपरी बाहिर निस्किनन् । यसरी बढि लोभ गर्दा र बेईमान बन्दा हर्कमानले सुन, चाँदीको बञ्चरो त पाएनन् नै, साथमा आफ्नो फलामको बञ्चरो पनि गुमाए ।

शिक्षा : ईमानदारले पुरस्कार पाउँछन्, बेईमानले दण्ड ।

 

२२ भदौ, २०७७, ०९:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।