डा. ईन्द्र ढकालको बदमासी : बुटवल बसेर दुर्गमको सुविधामा बढुवाका लागि आवेदन, आयोगले लगाइदियो लालमोहर

डा. ईन्द्र ढकालको बदमासी : बुटवल बसेर दुर्गमको सुविधामा बढुवाका लागि आवेदन, आयोगले लगाइदियो लालमोहर

काठमाडौं : लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. ईन्द्र ढकाल नियमविपरीत एघारौं तहमा बढुवा सिफारिस भएको देखिएको छ।

डा. ढकाललाई एघारौं तहमा बढुवाका लागि लोकसेवा आयोगले स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको हो। दुर्गम नै नगई उनी दुर्गमवापत लिने सुविधा लिएर बढुवामा सिफारिस भए।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले उम्मेद्वारको विषयमा उजुरी परेको खण्डमा आयोगले छानबिन गरेर निर्णय लिनसक्ने बताए।

यसरी भए बढुवा सिफारिस
आयोगको २०७९ असोज २६ गतेको सूचना प्रकाशन तथा विज्ञापन नं. १७१६४/०७९–८० अनुसार डा. ढकालले स्वास्थ्य सेवाको एघारौं तहमा आन्तरिक प्रतियोगिता(आ.प्र.)तर्फ परीक्षा दिए।

ढकाल लगायतले नेपाल स्वास्थ्य सेवा, सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूह, एघारौं तह, प्रमुख कन्सल्टेण्ट अर्थोपेडिक सर्जन पदको लागि गत पुस २ गते प्रथम पत्र र ६ गते दोस्रो पत्रको परीक्षा दिएको देखिन्छ।

जसमा माग पद संख्या १ (एक) जनामात्रै रहेको छ। त्यसपछि आयोगको सूचनाअनुसार लिखित परीक्षामा छनोट भएका ढकाल अन्तर्वार्ताबाट समेत पहिलो नम्बरमा छनोट भए।

आयोगले माघ २५ गते सूचना जारी सूचनामा बढुवा नियुक्तिका लागि सिफारिस योग्यताक्रमको पहिलो नम्बरमा नै डा. ढकालको नाम छ।

आयोगको बढुवा नियुक्ति सिफारिस सम्बन्धि सूचनामा डा. ढकालको मास्टर आइडी ‘८९४९’हो भने रोल नं. ‘८७००५८’ रहेको छ। आयोगको बढुवा नियुक्ति सिफारिसमा उनको ठेगाना ‘बुटवल–५, रुपन्देही’ उल्लेख छ।

पुग्दैन मापदण्ड
त्यसो त ढकालले दुर्गम नै नगई दुर्गमको सुविधा वापत एघारौं तहमा बढुवाका लागि आयोगमा परीक्षा दिएको देखिन्छ।

स्वास्थ्य मन्त्रालयले २०७५ असोज २१ गते पत्र लेख्दै २०७५ असोज २३ बाट ज्येष्ठता लागू हुनेगरी ढकालको नवौंबाट दशौं तहमा स्तरवृद्धि गरेको थियो।

मन्त्रालयले त्यो बेला स्तरवृद्धि गरेको पत्रमा भनिएको छ, ‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (सचिवस्तर) को मिति २०७५/०६/१९ को निर्णयानुसार तपाईंलाई मिति २०७५ वैशाख २३ गतेदेखि ज्येष्ठता लागु हुने गरी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ (चौथो संशोधन समेत) को दफा ९ (१) (५) अनुसार देहायवमोजिम स्तरवृद्धि गरिएको व्यहोरा अनुरोध छ।’

डा. ढकाल नवौंबाट दशौं तहमा स्तरवृद्धि हुँदा लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत थिए भने दशौं तहमा स्तरवृद्धि हुँदा पनि उनको कार्यभार लुम्बिनी अस्पताल नै तोकियो। यसबाट नै उनी दशौं तहमा बढुवा भएपछि दुर्गममा खटिएको देखिँदैन। लुम्बिनी अस्पताल दुर्गममा पर्दैन।

यस विषयमा डा. ढकालसँग जिज्ञासा राख्दा ऐनअनुसार नै बढुवा सिफारिस भएको मात्र बताएनन् चार वर्ष दुर्गममा बसेको दाबीसमेत गरे।

डा. ढकाल नवौंबाट दशौं तहमा स्तरवृद्धि हुँदाको समयमा उनको साविक समूह/उपसमूहः सर्जरी/अर्थोपेडिक सर्जरी थियो भने पदः कन्सल्टेण्ट अर्थोपेडिक सर्जन थियो। डा. ढकाल नवौंबाट समूह/उपसमूहः सर्जरी/अर्थोपेडिक सर्जरी वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जनमा दशौं तहमा बढुवा भएका थिए।

डा. ढकाल नवौंबाट दशौं तहमा स्तरवृद्धि हुँदा नेपाल स्वास्थ्य सेवाबाट स्वास्थ्य सेवामा नै स्तर वृद्धि भएका हुन्। 

यसरी हेर्दा दशौं तहमा भएको समयमा उनी दुर्गममा पुगेर काम गरेको देखिँदैन। तर, नियमविपरीत दुर्गममा काम गरेकाले पाउने बढुवा सुविधामा आयोगले उनलाई सिफारिस गरको देखिन्छ।

यसरी नियमविपरित बढुवा सिफारिस 
नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६ मा बढुवाको लागि न्यूनतम योग्याता र सेवा अवधि तोकिएको छ। दफा–२६ को उपदफा (१) मा कर्मचारीले बढुवाका लागि उम्मेदवार हुन तोकिए बमोजिमको शैक्षिक योग्यता प्राप्त गरेको र बढुवा हुने तहभन्दा एक तह मुनिको पदमा रही कम्तीमा तीन वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्ने प्रावधान छ।

तर, दफा–२६ को प्रतिबन्धात्मक वाक्यांश (१) मा भनिएको छ, ‘संवत् २०५४ साल जेष्ठ १४ गतेपछि तह मिलान हुँदा वरिष्ठ पाँचौं तह कायम गरिएको वा पाँचौं तहमा दश वर्ष सेवा गरेको कर्मचारीको पाँचौं तहको लागि निर्धारित शैक्षिक योग्यता नभए पनि बढुवाका लागि उम्मेद्वार हुन सक्नेछ।’

बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा कम्तिमा आठ वर्ष सेवा अवधि पूरा गरेको भएमा कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने हुनसक्ने व्यवस्था छ।

त्यसैगरी दफा–२६ को प्रतिबन्धात्मक वाक्यांश (२) मा ‘सम्वत् २०६९ साल चैत २९ पछि बढुवाको लागि उम्मेद्वार हुन कम्तिमा एक वर्ष अति दुर्गम वा कम्तीमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको हुनुपर्ने’ प्रावधान छ।

डा. ढकाल यही उपदफा बमोजिमको मापदण्ड अनुसार एघारौं तहमा बढुवाका लागि सिफारिस हुनपर्ने देखिन्छ। तर, उनी  भने दशौं तहमा बढुवा भएपछि न अति दुर्गममा पुगेर एक वर्ष काम गरेका छन् न त दुर्गममा पुगेर दुई वर्ष काम गरेका छन्।

उनी बुटवलको लुम्बिनी (प्रादेशिक) अस्पतालमा बसेका देखिन्छ। लुम्बिनी अस्पताल दुर्गममा पर्दैन। नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची–११ मा व्यवस्था भए अनुसार ‘सदरमुकाम र नगरपालिका क्षेत्रबाहेक रुपन्देही जिल्लाको सम्पूर्ण भाग’ दुर्गम ‘ख २’ मा पर्छन्।

लुम्बिनी अस्पताल रुपन्देहिको बुटवल उपमहानगरपालिका भित्र पर्छ। हाल समेत डा. ढकाल लुम्बिनी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट (प्रमुख) छन्। दशौं तहपछि उनी दुर्गममा नगएको यसले पनि देखाउँछ।

के भन्छन् डा. ढकाल?
यस विषयमा डा. ढकालसँग जिज्ञासा राख्दा ऐनअनुसार नै बढुवा सिफारिस भएको मात्र बताएनन् चार वर्ष दुर्गममा बसेको दाबीसमेत गरे।

‘दुर्गम त मेरो चार वर्ष छ,’ डा. ढकालले भने, ‘दशौं तहमा दुई वर्ष बसेँ।’

तर, उनले दशौं तहमा स्तरवृद्धि भएपछि कुन ठाउँमा दुर्गम बसेको भन्ने पष्ट खुलाउन सकेनन्। दशौं भएपछि कुन ठाउँमा दुर्गम बस्नु भएको हो? भन्ने जिज्ञासामा डा. ढकालले भने, ‘मैले भनेँ नि बुँदा नम्बर तीन मा...आन्तरिक प्रतिस्पर्धाको जुन लोकसेवाले निकालेको फर्म हुन्छ नि प्रतिष्पर्धावाला, त्यसको फर्मनै छ क्या मसँग।’

त्यसैगरी दफा–२६ को प्रतिबन्धात्मक वाक्यांश (३) मा लोक सेवा आयोगद्वारा निर्धारित प्रक्रिया पूरा गरी सातौं तहमा नियुक्ति भई संम्बत् २०६९ साल चैत २९ अघि आठौं तहमा स्तरवृद्धि भएको कर्मचारीले सो तह भन्दा कम्तिमा एक तह मुनिको तहमा कम्तिमा दुई वर्ष दुर्गम क्षेत्रमा काम गरेको भए निजले दुर्गम क्षेत्रमा काम गरेको मानी नवौं तहको बढुवाका लागि उम्मेद्वार हुन सक्ने व्यवस्था छ।

तर, डा. ढकाल भने ११औं तहका लागि बढुवा सिफारिस भएका हुन्। 

‘गत वर्ष ऐनको यही दफा २६ र नियमावलीको अनुसूची ६ र ७ अनुसार बढुवाका लागि हामीलाई अयोग्उ बनाएको आयोगले यो वर्षचाहिँ यही दफा र नियमावली अनुसार दरखास्त दिएका चिकित्सकलाई कसरी बढुवाको लागि सिफारिस गर्यो?’

त्यसैगरी दफा–२६ को उपदफा (२) मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि पद वा दरबन्दी नभएको कारण अति दुर्गम वा दुर्गम क्षेत्रमा सेवा गर्न नपाएकोमा कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेदवार हुनसक्ने व्यवस्था छ।
तर, डा. ढकालले दुर्गम क्षेत्रमा दरबन्दी हुँदा–हुँदै नगएर लुम्बिनीमा नै काम गरेको देखिन्छ। कुराकानीको क्रममा उनी आफैँले पनि कहाँ दुर्गममा गएर काम गरेको भन्ने खुलाउन सकेनन्।

त्यसैगरी बढुवा हुने पदभन्दा एक तह मुनिको पदमा कम्तिमा आठ वर्ष सेवा अवधि पूरा गरेको भएमा कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने हुनसक्ने व्यवस्था छ।

दफा–२६ को (ग) मा ‘सेवाका कुनै तहको पदमा कम्तिमा दुई वर्ष काठमाडौं उपत्यका बाहिरका जिल्लामा सेवा गरेको र बढुवा हुने पदभन्दा एक तहमुनिको पदमा पाँच वर्ष सेवा गरेको भएमा’ कर्मचारीहरु बढुवाको लागि सम्भाव्य उम्मेद्वार हुन सक्ने प्रावधान रहेको छ। 

तर, डा. ढकाल दशौं तहमा २०७५ वैशाख २३ मा स्तरवृद्धि भएको र २०७९ असोज २६ मा आयोगको विज्ञापन खुलेकाले एघारौं तहका लागि दरखास्त दिने अन्तिम मितिसम्ममा उनी नवौंबाट दशौं तहमा स्तरवृद्धि भएको समय ४ वर्ष ५ महिना भएको देखिन्छ।

ऐनअनुसार उनले दशौं तहमा बढुवा भएको पाँच वर्ष पुग्न ६ महिना बाँकी छँदै बढुवाको लागि दरखास्त दिएको देखिन्छ। त्यसैले उनी स्वास्थ्य सेवा नियमको दफा–२६ विपरीत बढुवा सिफारिस भएको देखिन्छ।

स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासनमा एक कर्मचारीसँग अनौपचारिक कुराकानीमा भने उनले नवौं र दशौं तहमा बढुवा तथा स्तरवृद्धि हुँदाको अवस्थामा दुर्गम क्षेत्रमा काम गरेको सेवा अवधि समेत एघारौं तहमा बढुवाका लागि गणना हुने दाबी गरे। यस विषयमा लोकसेवाले विशेष निर्णय गरे–नगरेको बारेमा समेत तथ्य खुल्न सकेको छैन।

गत वर्ष नियम विपरीत यो वर्ष नियमसंगत कसरी?
गत वर्ष २०७८ चैत २० मा आयोगले नेपाल स्वाथ्य सेवा तर्फका खुला तथा आन्तरिक पतियोगितात्मक परीक्षामा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका केही चिकित्सक (उम्मेदवार)को नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा–२६ बमोजिमको सेवा अवधि तथा नेपाल स्वास्थ्य सेवा नियमावली, २०५६ को अनुसूची ६ र ७ बमोजिमको शैक्षिक योग्यता पूरा भएको नदेखिएकाले दरखास्त फारम र लिखित परीक्षा रद्द गरी अन्तरवार्ता सूचीबाट नाम हटाउने निर्णय गरेको थियो।

गत वर्ष ऐनको दफा २६ र नियमावलीमा टेकेर अन्तर्वार्ता सूचीबाट नाम हटाएको आयोगले अहिले सोही दफा र नियमावली अनुसार दुर्गममा नै नबसी डा. ढकाललाई बढुवाका लागि सिफारिस गर्यो। यसले आयोगको भूमिकालाई शंस्कास्पद त बनाएको छ नै, निश्पक्ष भनिएको निकायमाथि प्रश्नसमेत उठ्ने देखिएको छ।

गत वर्ष अन्तरवार्ता सूचीबाट नाम हटाइएका एक चिकित्सकले आयोगको दोधारे नीतिप्रति प्रश्न उठाएका छन्।

नियमावलीको अनुसूची ६ मा सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूहको अधिकृत नवौं र एघारौं तहको खुला प्रतियोगिताद्धारा पदपूर्तिका लागि अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।

उनले भने, ‘गत वर्ष ऐनको यही दफा २६ र नियमावलीले हामीलाई बढुवाका लागि अयोग्य बनाएको आयोगले यो वर्षचाहिँ यही दफा र नियमावली अनुसार दरखास्त दिएका चिकित्सकलाई कसरी बढुवाको लागि सिफारिस गर्यो?’

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीको ७  मा कार्यक्षमताको मूल्यांकन र आन्तरिक प्रतियोगितात्मक (आप्र) परीक्षाद्वारा गरिने बढुवाका लागि उम्मेदवार हुन निश्चित शैक्षिक योग्यता वा तालिम प्राप्त गरेको र ऐनको दफा–२६ बमोजिमको सेवा अवधि पूरा गरेको हुनुपर्ने व्यवस्था छ।

अनुसूची ७ मा अधिकृत नवौं र एघारौं तहको सर्जरी समूह, अर्थोपेडिक सर्जरी उप–समूहमा बढुवाका लागि ‘मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सो सरहको उपाधि प्राप्त गरी अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त’ वा ‘जनरल सर्जरीमा स्नातकोत्तर उपाधिपछि अर्थोपेडिक सर्जरीमा डिप्लोमा वा सो सरह’ न्यूनतम योग्यता भएको हुनुपर्ने व्यवस्था छ।

त्यसैगरी नियमावलीको नियम ८० मा ऐन तथा यस नियमावली बमोजिम निर्धारित प्रतिशत अनुरुप आन्तरिक प्रतियोगितात्मक परीक्षाणद्वारा हुने बढुवाद्वारा पूर्ति गर्नुपर्ने अधिकृत तहका पदहरू पूर्तिका लागि लोक सेवा आयोगले सम्बन्धित उम्मेद्वारहरूको जानकारीको निमित्त विज्ञापन प्रकाशित गर्नुपर्ने प्रावधान छ।

सो विज्ञापनमा बढुवा हुने पदहरूको संख्या तथा विवरण, आवश्यक शैक्षिक योग्यता एवं सेवा अवधि, निवेदकको अन्तिम मिति तथा दरखास्त बुझाउने स्थान समेत खुलाइएको हुनुपर्ने व्यवस्था रहेको छ।

नियमावलीको नियम ८१ को उपनियम (१) मा नियम ८० अनुसार प्रकाशित विज्ञापन बमोजिम आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवाका लागि जुन सेवा, समूह वा उपसमूहको रिक्त पदमा बढुवा गरिने हो सो रिक्त पदको एक तह मुनिको पदमा ऐनका दफा–२६ बमोजिमको सेवा अवधि अनुसूची–७ मा तोकिए बमोजिमको शैक्षिक योग्यता पुगेका सेवाका कर्मचारी उम्मेद्वार हुन सक्ने व्यवस्था रहेको छ। यसरी हेर्दा पनि डा. ढकाल नियम विपरीत एघारौं तहमा बढुवा सिफारिस भएको देखिन्छ।

नियमावलीको अनुसूची ६ मा सर्जरी समूह, अर्थोपेडिक सर्जरी उपसमूहको अधिकृत नवौं र एघारौं तहको खुला प्रतियोगिताद्धारा पदपूर्तिका लागि अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने व्यवस्था छ।

७ फागुन, २०७९, ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।