ब्याच नम्बर ६९ : लाख कमाएर करोडौँको फुइँदिँदा अपहरणमा परेर झन्डै ज्यान गएन

ब्याच नम्बर ६९ : लाख कमाएर करोडौँको फुइँदिँदा अपहरणमा परेर झन्डै ज्यान गएन

गफ पनि सीमित अनि अलि सुहाउँदो दिनुपर्छ। बकम्फुसे अनि बढी धाक लगाउँदा कहिलेकाहीँ आफूले दुख त पाइन्छ नै बेकारमा परिवार अनि प्रहरीले पनि दुख पाउँछ। बढी गफ दिँदा सानातिना घटना त भइरहेका हुन्छन्। तर कहिलेकाहीँ डरलाग्दो घटना पनि हुनसक्छ। गफ दिएकै भरमा ज्यानै जोखिममा पर्न सक्छ। त्यस्तै एक घटना लेख्छु है त आज।

घटना काठमाडौंकै हो। मुलपानीतिरका एक स्थानीय युवाको फुर्ती लाउने बानी रैछ। अब त्यताको स्थानीय भएकाले जग्गाजमिनका कारण आर्थिक रुपमा केही बलियो त हुने नै भए। तर उनी हैसियत भन्दा बढी कमाइको गफ दिने रहेछन्।

काम चैँ जग्गा किनबेच सम्बन्धी गर्ने तर त्यति ठुलो कारोबार हैन। यसो समय कटाउने मेलो रैछ। राम्रै गाडी चढ्ने। हेन्डसमै केटा थिए। साथीभाइसँग भेट्दा करोडौँ कमाइसकेको भन्दै अलि बढी नै फुइँ दिने रहेछन्। हजार कमाए लाख अनि लाख कमाए करोड कमाइयो नि भन्ने खालको क्या।

उनको यसो हैसियत हेरेर होला पनि भन्ने पर्ने नै भयो। माओवादी द्वन्द्वपछि काठमाडौँको जग्गाको भाउ आकासियो। मुलपानीतिर पनि जग्गाको भाउ ह्वात्तै बढ्यो नि। गाडी किन्न के नै गाह्रो भयो र! २ आना बेचिदियो भने राम्रै गाडी आइहाल्यो।

त्यहीको स्थानीय। मेरो पुर्ख्यौली सम्पत्ति यति छ भनेर धाक लगाएको भए पनि सुहाउने नै हो। तर मैले जग्गाको कारोबारबाट यति करोड कमाए अनि उति करोड कमाए भनेर रेस्टुरेन्टतिर नियमित गफ लगाउने।

एकाएक त्यो केटा हराए। अनि कसैले केटालाई अपहरण गरेको भन्दै फोन गरेर सकुशल चाहिने हो भने दुई करोड पैसा दिनु भनेर फिरौती मागेछन्। हामीले सूचना पाए लगत्तै तत्कालीन डिएसपी हृदय थापाको कमान्डमा अनुसन्धान सुरु गरिहाल्यौँ।

अपहरणमा खेलाँची गर्नै हुन्न। सामान्य त्रुटिमा पनि बन्धकको ज्यान जान सक्छ। अनि हाम्रोमा पुरै अनुसन्धानकै भरमा अपहरण गरेर बन्धन राखेकै ठाउँमा हस्तक्षेप गरेर अपहरण मुक्त गर्न त्यति सम्भव पनि हुन्न। यस्तो अप्रेशन नहुने नै भन्ने हैन तर बिरलै हुन्छ।

किनकि अपहरणमा सबैभन्दा पहिलो प्राथमिकता बन्धकको ज्यानको सुरक्षा हो। परिवार वा प्रहरी कसैबाट पनि अपहरणकारीले असुरक्षा महसुस नगरोस् भन्ने हुन्छ। उनीहरूले आफू फस्ने चाल पाए भने जे पनि गर्न सक्छन् नि त।

सूचना आएपछि हामीले त्यही अनुसार बढो सचेत भएर अनुसन्धान सुरु गर्यौँ। पहिला सम्भावित अपहरणकारी अनि अपहरणमा संलग्न हुनसक्ने समूहबारे आङ्कलन गरेर सोही अनुसार रणनीति बनाउने काम भयो।

फोन आएकाले अपहरणकारीले अपहरितलाई लगेर बन्धक बनाएर राखेको सम्भावित स्थानको खोजी सुरु भयो। काठमाडौँको रिङरोडभित्रै अपहरित राखेको हुनसक्ने सङ्केतहरू देखिए।

अपहरणकारीले ती युवाको परिवारसँग फिरौतीका लागि गरेको कुराकानी सुन्दा त्यति खुङ्खार अनि अनुभवी अपहरणकारी हुन् जस्तो पनि देखिएन। तै पनि ज्यानको सवालमा जोखिम उठाउने कुरा भएन।

हामी अनुसन्धानमा जुटिरहेकै थियौँ। एक दिन मुलपानीका स्थानीयहरू हुलै बाँधेर तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालयमा आएर प्रहरीले अनुसन्धानै गरेन भनेर कराउन थाले।

त्यति मात्रै हो र! कहिले कताबाट फोन हान्न लगाएको छ अनि कहिले कसलाई फोन गराएर दबाब दिन लगाएको छ। यस्तो भएपछि झोक चलिहाल्छ नि। हामी उजुरी लिएर मजाले बसेको जस्तो व्यवहार गरेपछि हप्काइदिए।

अनि उनीहरू काठमाडौँ परिसरमा गएछन्। परिसरमा एसएसपी केदार रिजाल थिए। अब पीडित आएपछि सम्बोधन त गर्नैपर्यो। तलबाट पनि अनुसन्धान सुरु भएछ। एकै केसमा दुई निकाय संलग्न हुँदा अनुसन्धान बिग्रन सक्छ।

प्रहरीले अनुसन्धान गर्न सक्छ भनेर पत्याउने पनि तर कुनै पावर सेन्टरबाट फोन गएन भने हेलचेक्राई गर्छ भन्ने गलत सोच भएकाहरू टन्नै छन् भन्ने यस्तै घटनाले देखाउँछ। अब यसलाई प्रवृत्ति भन्ने कि प्रहरीको क्षमतामाथिको विश्वास तर व्यवहारमाथि अविश्वास भन्ने !

हाम्रो अनुसन्धानले सम्भावित खाका पहिल्याइसकेको थियो। अनुसन्धान जसले सफल बनाए पनि जस पाउने त सङ्गठनले हो नि। त्यसैले मैले रिजालसँग कुरा गरेर तलबाट अनुसन्धानमा खटिएको आभूषण तिम्सिनालाई ह्रदय थापासँग संयुक्त अनुसन्धान टोली बनाउन सल्लाह गरेँ। भयो पनि।

स्वयम्भूको सानो भर्याङको एक घरमा युवकलाई बन्धक बनाएर राखेको देखियो। दुवैतिरको टोलीले होसियारीका साथ युवक राखिएको घरसम्म पुग्न सफल भयो। केही दिनमै युवक सकुशल अपहरणमुक्त पनि भए।

अपहरणमा संलग्न चार जना पक्राउ परे। अनि उनीहरूको साथबाट थ्रिएड बोरको पेस्तोल पनि फेला पर्यो।

उनीहरूले काम त आपराधिकै गरेका हुन् तर समूह चैँ राजनीतिक रहेछ। ती चारै जना माओइस्ट कम्युनिस्ट सेन्टरको केन्द्रीय नेता थिए। देश बदल्छु भनेर हिँडेकाहरूले अपहरण गरेका थिए पार्टी चलाउन।

चार जनामध्ये एक जना युवती पनि थिइन्। उनीबारे अलि चासो लागेर कुराकानी गरेको उनी इन्जिनियर रहिछिन्। पढाई एकदम राम्रो। तर राजनीतिक चस्का लागेर त्यता लागेकी रहिछिन्।

चारै जना पक्राउ परेपछि किन अनि कसरी अपहरण गरे भन्ने त खोतल्नै पर्यो। जब कारण खुल्यो हामी सबै हाँस्यौँ। अपहरणको कारण ती युवाको त्यही गफ दिने अनि फुई लाउँदै मैले यति करोड कमाए अनि उति करोड कमाएँ भन्ने बानी रहेछ।

उनीहरू पार्टीको खर्च चलाउने उपायको खोजीमा रहेछन्। मुलपानीमा एक केटाले जग्गाको कारोबार गरेर टन्न पैसा कमाएको छ भन्ने सूचना आयो। उनीहरूले हो कि हैन भनेर बुझ्न थाले। बुझ्दा उसले दिएको गफ सुने।

करोड-करोड कमाएको अनि राम्रो गाडी पनि चढ्ने देखेपछि उनीहरूले पत्याए। उसको गतिविधि निगरानी गर्दा अपहरण गर्न त्यति गाह्रो हुने पनि देखेनन्। केटाले गफ दिए पनि त्यसै कारण कसैले अपहरणै गर्लान् भन्ने त सोचेको थिएन।

उनीहरूलाई टार्गेट उठाउन पनि सजिलो भयो। अनि सजिलै अपहरण गरेर सानो भर्याङतिर लिएको डेरामा लगेर राखे।

डेरामा राख्दा दुख दिएका रहेनछन् है केटालाई। अब हात खुट्टा बाँधिदिने अनि आँखामा पट्टी लगाउने त सामान्य नै भइहाल्यो अपहरणमा। भाग्ला अनि चिन्ला भनेर यति त गरिहाल्छन्। तर अन्य अपहरणमा जस्तो परिवारका सदस्यलाई तर्साउन कुटपिट गर्ने, यातना दिने जस्तो काम भने गरेका रहेनछन्।

परिवारका सदस्यलाई २ करोड दिए अपहरणमुक्त हुन्छ नत्र लास भेटिन्छ भनेर तर्साएछन्। कोठामा भने थपक्क राखेछन्।

जब केटा अपहरणमुक्त भयो नि अनि फेरी मुलपानीका भद्र भलाद्मी आए। प्रहरीलाई धन्यवाद दिए अनि भोजमा निम्ता गरे। केको भोज भनेर सोधेको त केटा अपहरणमुक्त भएकोमा प्रहरीको सम्मानमा भोज दिने रे।

नेपालीको स्वभाव हेरौँ त। प्रहरीले दुख गरेर अनुसन्धान गरिरहेको बेलामा कतै कामै गरिरहेको छैन कि भनेर पावर सेन्टर धाएर दबाब पनि दिन लगाउने। अनि अनुसन्धान सफल भएपछि खुसी भएर भोज पनि दिने।

प्रहरीको स्वभाव अनुसार व्यवहार फरक हुनसक्छ। जो जति प्रहरी सङ्गठनमा आएका छन् ती सबै असल उद्देश्यका साथ आएका छन् भन्न सकिन्न। तर यो सङ्गठनमा व्यवसायीक प्रहरीहरू पनि छन् जो आफ्नो काममा दत्तचित्त भएर खटिन्छन्, मिहेनत गर्छन्।

त्यस्ता प्रहरीलाई कहीँ कतैबाट फोन हनाउनै पर्दैन। जुन प्रहरीलाई फोन हनाउनुपर्छ नि तीनले गतिलो काम गर्दैनन्। अनि अनुसन्धान भनेको नेताको फोन आउनासाथ चमत्कार भइहाल्ने पनि हैन।

प्रहरीले अनुसन्धान गर्न सक्छ भनेर पत्याउने पनि तर कुनै पावर सेन्टरबाट फोन गएन भने हेलचेक्राई गर्छ भन्ने गलत सोच भएकाहरू टन्नै छन् भन्ने यस्तै घटनाले देखाउँछ। अब यसलाई प्रवृत्ति भन्ने कि प्रहरीको क्षमतामाथिको विश्वास तर व्यवहारमाथि अविश्वास भन्ने !

यसलाई बिस्तारै चिर्दै जाने जिम्मेवारी सङ्गठनका व्यावसायिक प्रहरीहरूले नै हो जो साँच्चिकै सङ्गठन जे कामका लागि बनेको हो त्यही काम गर्न प्रहरी बनेका हुन्।

उनीहरूले भोजको प्रस्ताव गरे। तर हामीले अस्वीकार गर्यौ। उनीहरूलाई मेरो कोठामा राखेर' हामीलाई भोजसोझ चाहिन्न। बरु अब आफ्ना सन्तानलाई क्षमताभन्दा बढी गफ दिने अनि फुई लगाउने काम नगर्नु भनेर सम्झाउनु' भनेर पठाएँ।

तर अहिले पनि आफू प्रहरी स‌ंगठनमाहुँदा गरेका कामहरू सम्झँदा जब यो घटना याद आउँछ एक्लै भए पनि हाँसो लाग्छ। बिचरा बढी फुइँ लगाउँदा अपहरणमा पर्न सक्छु भन्ने सामान्य सोच मात्र आएको भए पनि उनले गफ त दिँदैनथे होला नि।

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

३ फागुन, २०७९, २२:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।