झापाका कुखुरा उत्पादकको दैनिकी : दिनभर कुखुरा कुर्छन्, रातभर तस्कर

झापाका कुखुरा उत्पादकको दैनिकी : दिनभर कुखुरा कुर्छन्, रातभर तस्कर

काठमाडौं : झापाका कुखुरा उत्पादक व्यवसायीहरूले सीमामा अवैध कुखुरा र अण्डा तस्करी रोक्न ‘बोर्डर फोकस’ कार्यक्रम सञ्चालनमा ल्याएका छन्।

एक साताअघि अण्डा र कुखुरा सडकमा फालेर विरोध प्रदर्शन गरेका उनीहरूले भारतबाट हुने तस्करी रोक्न समूह–समूह बनाएर ‘बोर्डर फोकस’ कार्यक्रम सञ्चालनमा ल्याएका हुन्।

बोर्डर फोकस कार्यक्रम अन्तर्गत झापाका व्यवसायीले आठ वटा इकाई समितिसमेत गठन गरेका छन्। जसमा १० देखि २० जना सदस्य छन्। उक्त समितिमा उत्पादक र डिलर दुवै पक्ष समावेश छन्।

यसरी सञ्चालनमा ल्याइएको कार्यक्रम प्रभावकारी पनि भएको छ। गत आइतबार मात्र भारतबाट ल्याइएका अवैध कुखुराहरू नियन्त्रणमा लिएर नष्ट गरिएको जिल्ला कुखुरा उत्पादक व्यवसायी संघ झापाको अध्यक्ष विवेक निरौलाले जानकारी दिए।

नेपाली भन्दा भारतीय कुखुरा र अण्डाको मूल्य कम भएकाले तस्करहरू सलबलाएको उनको भनाइ छ। रातभर समूह–समूहमा बस्दा विभिन्न नाकाबाट कयौं क्विन्टल कुखुराको मासुसहित चार जनालाई नियन्त्रणमा लिइएको उनले बताए।

प्रमुख जिल्ला अधिकारी (सिडियो)को आदेशमा तस्करहरूलाई जेल सजायदेखि जरिवानासम्म गराउन सफल भइसके उनीहरू।

‘दूधजस्तै विहानै बाँडिन्छ कुखुरा’
कुखुरा उत्पादक व्यवसायी र डिलर तस्करी रोक्न गाडीमा विहान तीन बजेदेखि पाँच बजेसम्म बोर्डरमा बस्छन्।

अध्यक्ष निरौलाले भने, ‘दूध बाँडेको जस्तै कुखुरा पनि विहानै बाँड्ने गरिन्छ। कहिले त २ बजे नै पनि हामी पुगिसकेका हुन्छौं।’

व्यवसायीहरूले २०७५ सालदेखि नै सीमामा बसेर गस्ती गर्न थालेको भए पनि उत्पादन सडकमा फालेपछि मात्र यसमा चासो बढेको उनले बताए।

‘अहिले आर्थिक संकट बढेर गएपछि ध्यानाकर्षणका लागि उत्पादन सडकमा फाल्न बाध्य भयौं,’ उनले भने, ‘उसो त २०७५ सालदेखि हामी सीमामा तस्कर रुँगेर बस्ने गरेका थियौं।’

उत्पादकसँग सस्तो मूल्यमा किनेको अण्डामा व्यापारीले शत प्रतिशत नाफा खाएकोमा पनि आफूहरूको आपत्ति रहेको अध्यक्ष निरौलाले बताए।

‘हामीसँग ८ रूपैयाँमा किनेको अण्डा उपभोक्ताले १५ रूपैयाँ तिर्नुपर्छ, अलि पहाडतिर त २० रूपैयाँसम्म पर्छ,’ उनले भने, ‘कानून अनुसार २० प्रतिशत मात्र नाफा खाने हो भने अण्डा १२ रूपैयाँमा आउँछ, उत्पादनकसँगै उपभोक्ता पनि मारमा छन्।’

ज्यान जोखिममा लगाएर तस्करको कुर्दै
आफूहरूले ज्यानको जोखिम राखेर तस्करहरूसँग लडिरहेको भन्दै अध्यक्ष निरौलाले अण्डा र कुखुरा सडकमा फ्याँकेर प्रदर्शन गरेपछि प्रशासनले पनि चासो दिएको बताए।

‘आफ्नो ज्यानै जोखिममा लगाएर तस्करको पछि लागेका छौं, पुलिस पनि सबै ठाउँमा पुग्न भ्याउँदैनन्, त्यै भएर हामीनै जान्छौं,’ उनले भने, ‘हामी त्यहाँबाट निस्कने बेला प्रहरी र सिडियोलाई खबर गर्छौं, उहाँहरूलाई गाह्रो भयो भने फेरि हामी जान्छौं।’

उत्पादकहरू उत्पादन र लगानीसँगै भारतीय उत्पादन भित्रिने डरले समेत रातभर जाग्राम छन्। भारतीय उत्पादन भित्रँदा नेपाली उत्पादनले बजारै पाउँदैन। तस्करीलाई सिमानामै रोक्न सके नेपाली उत्पादनले बजार पाउने र अझ बढि कुखुरा उत्पादक किसान आत्मनिर्भर हुने उनले बताए।

उनले भने, ‘नेपालको सिमानामा निगरानी बढाएर भारतीय कुखुरा रोक्ने हो भने ४० प्रतिशत भन्दा बढि कृषक आत्मनिर्भर हुन्छन्।’
‘छिट्टै समाधान होस्’

बैंकको ब्याजदर र उत्पादनको खपत नभएर अहिले कुखुरा तथा अण्डा उत्पादक किसान मारमा परेका छन्। ७५ साल यता कुनै पनि पोल्ट्रीको उद्योग नाफामा नगएको निरौलाको दाबी छ।

उनले अगाडि भने, ‘नेपालमा अहिले १०० वटा भन्दा बढि ह्याचरी बन्द भए। झापामा त अहिले तीन वटा मात्र छ।’

कुखुरा र अण्डामा आत्मनिर्भर बनाउने भन्दै लागि परेको सरकारले अहिले यसमा प्रयोग हुने सामग्रीमा भन्सार बढाएर दोहोरो चरित्र देखाएकोमा उनले गुनासो गरेका छन्।

‘आत्मनिर्भर बनाउने भनेर मात्र हुँदैन,’ उनले भने, ‘पहिला १ प्रतिशत भन्सारमा पोल्ट्री सामान भित्र्याउन पाउने मा अहिले त्यो बढाएर ६ प्रतिशत पुर्याइएको छ, यसरी त कसरी हुन्छ र?’

झापामा अहिले साना–ठूला गरेर पाँच सयभन्दा बढि कुखुरा व्यवसायी छन्।

२ फागुन, २०७९, १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।